कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तिम बलमा फुत्किएको क्याच

काठमाडौँ — अन्तिम बलमा विकेट लिएको भए नेपाली यू–१९ क्रिकेट टोलीले सिंहालिज स्पोर्टस क्लबसँगको खेल ‘टाइ’ मा टुंग्याउने थियो । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपका लागि अभ्यासरत नेपाली यू–१९ टोली सोही क्याच छाड्दा मंगलबार पहिलो खेलमा ३ विकेटले पराजित भयो ।

अन्तिम बलमा फुत्किएको क्याच

सिंहालिजले टस जितेपछि ब्याटिङमा आएको नेपाली यू–१९ टोलीले अघिल्लो दिन वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई २ सय ४० रन बनायो । इनिङ्सको अन्तिम बलअगाडि सिंहालिजले स्कोर बराबरीमा ल्यायो । कमलसिंह ऐरीको बलमा थेभिन्डु सेनारत्नेले गरेको प्रहार शर्ट कभरमा गयो ।


नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीका अनुसार क्याच सजिलै आएको थियो । सन्दीप जोरा र लोकेशबहादुर बममा कसले लिने भन्ने अन्योल हुँदा क्याच हुन सकेन । त्यसैमा १ रन लिँदै घरेलु टोली सिंहालिज विजयी भयो । ‘खेल हारे पनि बलियो प्रतिद्वन्द्वीसँग नेपालले राम्रो खेल प्रदर्शन गर्‍यो,’ कोलम्बोबाट सिवाकोटीले भने ।


सेनारत्ने ४२ रन बनाई अविजि रहे । उनले २५ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । यसअघि कृसन सन्जुला ६९ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ६२, अभिष्का सेनादिरा ७६ बल खेली ७ चौका प्रहार गरी ५२, शसिथ मानुरंगा ३८ रनमा आउट भएका थिए । नेपालका पवन सर्राफले ८ ओभरमा ४८ रन खर्चेर ३ तथा कमल, सूर्य तामाङ र सागर ढकालले १–१ विकेट लिए ।


यसअघि नेपाली यू–१९ टोलीमा पुनरागमन गरेका आशिफ शेख र सन्दीपको इनिङ्समा नेपालले राम्रो स्कोर बनाएको थियो । आसिफले ७६ बलमा ८८ रन बनाउनेक्रममा समान ५ चौका र छक्का प्रहार गरे । सन्दीपले ३७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।


रित गौतमले ४८ बलमा ३१, पवनले ३५ बलमा ५ चौकासहित ३०, हरिबहादुर चौहानले २३ बलमा अविजित १८, भीम सार्कीले ७ बलमा अविजित १५ र कुशल मल्लले १० रन बनाए । सिंहालिजका सन्दरुवान चिन्थाका, असेल कालुतुङ्गा र रसन्जना सिल्भाले २–२ विकेट लिए ।


नेपालले बिहीबार बादुरालिआ क्रिकेट क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछ । श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै रहेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले सेप्टेम्बर ६ मा श्रीलंका, ८ मा बंगलादेश र १० मा यूएईसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?