कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलम्पिक कमिटी निर्वाचन : उम्मेदवार २६, मतदाता २७

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को आसन्न निर्वाचनका लागि विभिन्न पदमा २६ जनाले उम्मेदवारी दिएका छन् । 
एसोसिएट मान्यता पाएका २७राष्ट्रिय खेल संघका प्रतिनिधि मतदाता रहेको एनओसीमा २६ उम्मेदवार बनेका छन् ।

ओलम्पिक कमिटी निर्वाचन : उम्मेदवार २६, मतदाता २७

जिम्न्यास्टिक संघबाट प्रतिनिधित्व गरेका ओलम्पिक कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक बाँकी सबै प्रतिनिधि कार्यसमितिका आकांक्षी देखिएका छन् । प्रधान दुई कार्यकाल एनओसी अध्यक्ष भइसकेका व्यक्ति हुन् । एनओसी चुनाव भदौ २० गते हुँदै छ ।


एनओसी कार्यसमिति १९ सदस्यीय हुनेछ । त्यसमा एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, ३ सचिव, एक कोषाध्यक्ष र ७ सदस्य हुनेछन् । गत महिना विधान संशोधन गरी उपाध्यक्ष र सचिव संख्या बढाइएसँगै कार्यसमिति पनि १९ सदस्यीय रहने व्यवस्था गरिएको थियो ।


लवभक्त राणा नेतृत्वको निर्वाचन समितिले सोमबार सबै सदस्य संघका प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरेको थियो । मंगलबार उम्मेदवारीको समयसीमा तोकिएअनुसार अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । चार वर्षअघिको चुनावमा जीवनरामले उमेशलाललाई हराएका थिए ।


पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । टेनिस संघकी ज्योति राणा, ह्यान्डबलका तेज गुरुङ, सुटिङका पुष्पदास श्रेष्ठ, पौडीका अशोकरत्न वज्राचार्य, फेन्सिङका सुनीलकुमार श्रेष्ठ, टेबलटेनिसका चतुरानन्द राजवैद्य, र्‍याफ्टिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ र कुस्तीका समिम मिया अन्सारीको उम्मेदवारी परेको छ ।


महासचिव पदका लागि कराँते महासंघका पुरेन्द्रविक्रम लाखे र ट्रायथलन संघका नीलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ । ३ सचिव पदका लागि ४ जनाले प्रत्याशी बनेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य–सचिव केशवकुमार विष्ट, ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ, जुडोका दीपकहर्ष वज्राचार्य र कबड्डीकी तुलसा थापाले सचिवका लागि उम्मेदवारी दर्ता गराएका छन् ।


५ सदस्य पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमा आर्चरीका रमेश सिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश शम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका टासी घले, बास्केटबलका होमबहादुर दोङ, फुटबलका दीर्घबहादुर केसी र भलिबलका मनोरञ्जन रमण शर्मा आकांक्षी देखिएका छन् । कोषाध्यक्ष पदमा रतन टण्डनले नै निरन्तरता पाउने निश्चित भएको छ । उपमहासचिव पदमा एकमात्र उम्मेदवारी परेपछि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना पनि निर्विरोध हुने भएका छन् । उम्मेदवारबारे दाबीविरोधको समय सकिएपछि निर्वाचन कमिटीले बिहीबार अन्तिम नामावली प्रकाशन गर्नेछ ।


पूर्व सदस्य–सचिवदेखि सांसदसम्मको ओलम्पिक मोह

ओलम्पिक कमिटीको निर्वाचन भदौ २० मा हुँदै छ । खेलकुदमा अन्तर्राष्ट्रिय सहभागिताको मुख्य प्रवेशद्वार ओलम्पिक कमिटीमा सबैको चासो रहने गरेको छ । त्यसको प्रमाणस्वरुप यसपल्टको चुनावमा पनि केही हाइप्रोफाइल व्यक्तिको ओलम्पिक मोह प्रस्ट देखिएको छ ।


राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको रूपमा असार ९ मा आफ्नो कार्यकाल सकाएका केशवकुमार विष्ट ओलम्पिक कमिटीमा सचिवको प्रत्याशी बनेका छन् । विवादित उसु संघमा हस्तक्षेप गरी नेपाल उसु फेडेरेसन स्थापना गरेका उनले त्यसैलाई टेकेर ओलम्पिकको यात्रा सुरु गरेका हुन् ।


प्रतिनिधिसभा सांसद तथा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाले पनि ओलम्पिकको सचिव पदमा उम्मेदवारी दिएकी छन् । उनी नेपाल कबड्डी संघकी अध्यक्ष हुन् । राखेपका वर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिनाको ओलम्पिक

यात्रा यसपल्टदेखि सुरु भएको छ । उनले उम्मेद्वारी दिएको उपमहासचिव पदमा अन्यको उम्मेदवारी परेको छैन ।


ओलम्पिक कमिटीमा पुग्नका लागि यसपल्ट दुई जनाले फरक बाटो प्रयोग गरे । तिम्सिनाले कुनै साइनो नरहेको नेपाल एथलेटिक्स संघको प्रतिनिधिको हैसियतमा ओलम्पिकमा प्रवेश पाए । यसअघि उपमहासचिव रहेका बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले र्‍याफ्टिङ तथा क्यानोइङ संघबाट प्रतिनिधित्व लिएर उम्मेदवारी दिएका छन् ।


उपाध्यक्षमा उम्मेदवारी दिएका समिम मिया नेपाल सरकारको मुस्लिम आयोगका अध्यक्ष हुन् । यसअघि सदस्य पदमा रहेका

उनी कुस्तीका अध्यक्ष हुन् । त्यसो त राष्ट्रिय खेलकुद परिषदमा दुईपल्ट सदस्यसचिव भइसकेका अध्यक्षका उम्मेदवार संघीय सांसद जीवनराम श्रेष्ठको ओलम्पिक मोह पनि अनौठो छ ।


सन् २००६ देखि दुई कार्यकाल महासचिव बनेका जीवनरामले एक कार्यकाल अध्यक्षमा बिताइसकेका छन् । विधानअनुसार भन्दै उनी अर्को कार्यकालका लागि तयार छन् । अध्यक्षका अर्का प्रत्याशी उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष पनि हुन् । राखेप उपाध्यक्ष तिम्सिना, पूर्व सदस्यसचिव विष्ट, सांसद तुलसा थापा, टासी घले, गोपालसुन्दर कक्षपति, दीर्घबहादुर केसी, पहिलोपल्ट ओलम्पिक प्रवेश गर्ने तयारीमा छन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?