कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्गिस्तान दोस्रोपल्ट च्याम्पियन

कुशल तिमल्सिना

काठमाडौँ — छिमेकी देश उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरी किर्गिस्तानले पाँचौं एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । सेन्ट्रल जोन भलिबल इतिहासमा दोस्रोपल्ट उपाधि उठाउन किर्गिस्तानलाई धेरै कसरत गर्नुपरेन । समूह चरणको पहिलो खेलमा नेपाललाई हराएर यात्रा सुरु गरेको उसले अपराजित रहँदै उपाधि उचाल्यो ।

किर्गिस्तान दोस्रोपल्ट च्याम्पियन

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हान अविङले किर्गिस्तान टिम उपल्लोस्तरको भएको यसअघि नै बताइसकेका थिए । आफ्नो स्तर कायम राखेको किर्गिस्तानले सात टोली सहभागी प्रतियोगितामा सर्वश्रेष्ठ नतिजा ल्याउन सफल भयो । फाइनलसम्म अपराजित उज्वेकिस्तानले भने उपाधि भिडन्तमा किर्गिस्तानमाथि प्रभाव जमाउन असफल देखियो ।


निर्णायक समयमा आपसी तालमेल नमिल्नु र सर्भिसमा एकरुपता नहुनु नै उज्वेकको हारको मुख्य कारण रह्यो । पहिलो सेटमा सुरुदेखि नै किर्गिस्तानले अग्रता बनाएको थियो । तर अन्त्यतिर खेलमा फर्कने उज्वेकिस्तानको प्रयास सफल भएन । पहिलो सेट किर्गिस्तानले २६–२४ ले जित्यो । दोस्रो सेटमा कुनै समय ११–६ को अग्रता लिएर पनि उज्वेकले सेट जित्न सकेन । किर्गिस्तानको ब्लक राम्रो रह्यो भने सर्भिसमा उज्वेकिस्तानका खेलाडीले गल्ती गरिरहे ।


मध्यसम्म अग्रता लिएर पनि उसले सेट २७–२५ ले गुमायो । दुई सेटको अग्रता लिएपछि किर्गिस्तानी खेलाडी आत्मविश्वासी देखिए । सुरुदेखि नै बनाएको अग्रता निरन्तरता दिँदै टोली २५–१९ को तेस्रो सेटसहित उपाधि हात पार्न सफल रह्यो ।


प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका किर्गिस्तानका कप्तान ओनोलबेक कानिबेकको प्रदर्शन फाइनलमा पनि निर्णायक रह्यो । उनले स्पाइकबाट १६ अंक जोडे । मुसेभ झामालिदिनले ब्लकमार्फत २ अंक जोडेका थिए । ‘हामी उनीहरू (उज्वेक) सँग राम्ररी परिचित थियौं । त्यसैले हामीले भावनात्मक भलिबल खेल्यौं र अवसर सदुपयोग गर्‍यौं,’ किर्गिस्तानका सहायक प्रशिक्षक सारागिसेभ किलिचबेकले भने, ‘फाइनलमा ३–० को नतिजा निकै नै राम्रो हो । हामी रणनीतिक रुपमा सफल भयौं ।’


प्रशिक्षक किलिचिवेकले तीन महिनाको प्रशिक्षणमा युवा खेलाडीले भरिएको आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरी किर्गिस जनतालाई खुसी दिलाउन सफल भएको बताए । ‘यस प्रतियोगितामा अन्य टोलीले नियमित रुपमा ६(७ सात खेलाडीलाई मात्र खेलाए । हामीले केही फरक प्रयास गर्‍यौं । हरेक खेलमा हामीले फरक फर्मेसन दियौं, जसका कारण खेलाडीले आराम पनि पाए,’ उनले भने ।


प्रतियोगिताको विभिन्न विधाका उत्कृष्ट खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ।कान्तिपुर


प्रतियोगिताकै मोस्ट भ्यालुएबल खेलाडी चुनिएका कप्तान ओनोलबेक कानिबेकबारे प्रशिक्षक किलिचिबेकले भने, ‘उनी हाम्रो टिमका भविष्य हुन् । पूरै टिमलाई प्रेरित गर्न सक्ने खेलाडी हुन् । उनले यस्तो समयमा अंक दिलाउँछन् जुन टिमका लागि अत्यावश्यक हुन्छ ।’


सन् २०१४ को एसियाली खेलकुदमा शीर्ष आठभित्र परेको किर्गिस टोली पुस्तान्तरणको संक्रमणबाट माथि उठेर ठूलो उपाधि जित्न सकेकोमा प्रशिक्षक किलिचिबेकले खुसी व्यक्त गरे । ‘हाम्रो युवा टिम छ । उनीहरूको भविष्य राम्रो छ र ठूलो सफलताका लागि उनीहरू उत्सुक छन् । यो सेट आगामी ३–४ वर्ष खेल्न सक्छन् ।’


सेन्ट्रल जोनमा किर्गिस्तानको यो दोस्रो उपाधि हो । यसअघि माल्दिभ्समा भएको तेस्रो संस्करणमा तुर्कमेनिस्तानलाई हराउँदै उसले पहिलोपल्ट उपाधि जितेको थियो । चार टिममात्र सहभागी त्यस संस्करणमा नेपालले तेस्रो पदक जितेको थियो । पहिलो संस्करणमा नेपालसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको किर्गिस्तानको उदय पाँचौं संस्करणसम्म आउँदा सानदार देखिन्छ ।

छैटौं संस्करण बंगलादेश र सातौं माल्दिभ्समा हुने भएको छ ।


प्रतियोगिताका उत्कृष्ट

मोस्ट भ्यालुएबल प्लेयर : ओनोलबेक कानिबेक (किर्गिस्तान)

लिबरो : साट्टारोभ दिलमुरोड (उज्वेकिस्तान)

सेटर : मुसेभ हामादिलिन (किर्गिस्तान)

ब्लकर : गुलियेभ मिथुन (तुर्कमेनिस्तान)

स्पाइकर : सोविरोभ इस्लोम्जोन (उज्वेकिस्तान)

प्रकाशित : भाद्र ८, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?