कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलेभेन च्याम्पियन

आनन्द गौतम

ताप्लेजुङ — सुनसरीको एलेभेन एरोज क्लब दुहबीले पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साबिक विजेता रेडस्टार फुटबल क्लब बिर्तामोडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एलेभेन एरोज नयाँ च्याम्पियन बनेको हो । 

एलेभेन च्याम्पियन

निर्धारित समयमा २–२ गोल भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । टाइब्रेकरमा सुनसरीका लागि रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की गोल गरे । रेडस्टारका पूजन उपरकोटी र विशाल लिम्बुले मात्र गोल गरे । रेडस्टारका योगेश गुरुङ र विकास थुलुङ गोल गर्न चुके । पहिलो पेनाल्टी हान्ने अवसर पाएका योगेशको पेनाल्टी बाहिरियो ।


पहिलो हाफ गोलरहित बनेको खेलको मध्यान्तरपछि दुवैले २–२ गोल गरेका थिए । रेडस्टारबाट दोस्रो हाफको १५ औं मिनेटमा योगेश गुरुङले गोलको खाता खोले । लामो दुरीबाट उनले हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । त्यसको १० मिनेटपछि सुनसरीले गोल फर्कायो ।


२९ औं मिनेट हुँदा सुनसरीका यानिक ओनाले गोल गरे खेल बराबरी बनाए । प्रवेश दनुवारले हेडबाट मिलाइदिएको बल यानिकले सदुपयोग गरे । उनले दुई डिफेन्डर छक्याएर गोल गरेका हुन् । उनी प्रतियोगितामा बढी गोलगर्ने खेलाडी पनि भए । उनले कुल ४ गोल गरेका छन् । यानिकले समान गोलमा रहेका रेडहर्स क्लब इलामका फोफोना (३) लाई उछिने ।


रेडस्टारका मिलन राईले ४३ औं मिनेटमा दोस्रो गोल गरेर टोलीलाई पुनः अग्रता दिलाए । तर ९० मिनेटसम्म अग्रता लिएको रेडस्टार इन्ज्युरी टाइममा चुक्यो । थपिएको अन्तिम तथा चौथो मिनेटमा सुनसरीका सुसन तामाङले झापाली टोलीको खुसी खोसिदिए । सुसनले गोल गर्दै खेल बराबरी ल्याए । टाइब्रेकरमा अन्ततः सुनसरी सफल बन्यो ।

विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी प्रवेश दनुवार भए । उनले १० हजार प्राप्त गरे । गोलकिपरमा सुनसरीका प्रिसो एप्स, डिफेन्समा विष्णु सुनुवार, प्रशिक्षकमा विश्ववन्धु पोखरेल उत्कृष्ट भए ।


मिडफिल्डरमा रेडस्टारका योगेश गुरुङ, फरवार्डमा मिलन राई उत्कृष्ट चुनिए भने उदीयराज खेलाडी ताप्लेजुङका मणिराज लिम्बु भए । विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुरस्कृत गरे ।

प्रकाशित : भाद्र ७, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?