कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

आनन्द गौतम

(ताप्लेजुङ) — ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लब दुहवी सुनसरीले जितेको छ । सुनसरीले गत वर्षको विजेता रेडस्टार फुटबल क्लब विर्तामोड झापालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । 

पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

टाइब्रेकरमा रेडस्टारका योगेश गुरुङ र विकास थुलुङ गोलगर्नबाट चुके । इलेभेन एरोजका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की गोल गर्न सफल भए । रेडस्टारका पूजन उपरकोटी र विशाल लिम्बूले मात्रै गोल गर्न सके ।

पहिलो हाफसम्म गोल गर्न नसकेका दुवै टिमले दोस्रो हाफमा २–२ गोल गरेका थिए । रेडस्टारको तर्फबाट दोस्रो हाफको १५ औं मिनेटमा योगेश गुरुङले गोलको खाता खोलेका थिए । उनले १८ मिनेटको दूरीबाट हानेको फ्रिकिक गोलमा परिणत भएको थियो । त्यसको १० मिनेटपछि अर्थात् खेलको २९ औं मिनेटमा सुनसरीका यानिक ओनाले प्रवेश दनुवारले हेडमार्फत दिएको पासलाई सदुपयोग गरे र खेललाई बराबरीमा पुर्‍याए । उनले २ जना डिफेण्डरलाई छकाएर जाली चुमाएका थिए ।


रेडस्टारका मिलन राईले खेलको ४३ औं मिनेटमा आफ्नो टिमलाई पुन: अग्रता दिलाए । उनले हानेको थ्रोइङ गोलमा परिणत भयो । रेडस्टारले जितको उत्सव मनाउँनै लाग्दा सुनसरीका सुशन तामाङले खुसी खोसिदिए । उनले विजय भुजेलको सुन्दर पासमा खेलको ३९ औं मिनेटमा गोल गरी बराबरी बनाए र खेललाई टाइबेकरमा लगे ।


सुनसरीले नगद ३ लाख ११ हजारसहित कप, ट्रफी प्राप्त गरेको छ भने झापाले १ लाख ५१ हजारमा चित्त बुझाएको छ । विजेतालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कप दिएका छन् ।
















प्रकाशित : भाद्र ६, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?