कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहास जोडेर दौड गरिने

हरिराम उप्रेती

गोरखा — भ्रमण वर्ष २०२० लक्षित लिगलिग कोटदेखि गोरखा दरबारसम्म म्याराथन हुने भएको छ । शाहवंशीय राजा द्रव्य शाहले पस्लाङ चौतारामा राज्याभिषेक गरेको दिन भदौ २५ मा लिगलिग कोट–सिरानचोक–गोरखा दरबार खुला म्याराथन गर्न लागिएको हो । 

पालुङटार र गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको आयोजनामा प्रतियोगिता हुँदै छ । ‘२०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने भनेको छ,’ रणसिं दलका प्रमुख उज्वल केसीले भने, ‘हामीले यसैको पूर्वसन्ध्यामा दौड आयोजना गरेका हौं ।’ प्रतियोगितामा पहिलो हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउँछन् । दसौं हुनेसम्मले पुरस्कार पाउने छन् ।


पालुङटार नगपालिका–२ लिगलिग कोटबाट सुरु हुने दौड, हर्मी, सिरानचोक गाउँपालिकाको चित्रेपोखरी हुँदै गोरखा दरबारमा आएर टुंगिने छ । यसको दुरी ३८ किलोमिटर छ । लिगलिग कोटबाट द्रव्य शाहले गोरखा दरबार विजयका निम्ति प्रयोग गरेको पदमार्गलाई आधार बनाएर दौड गरिने भएको हो ।


उक्त क्षेत्रलाई ऐतिहासिक ट्रेलको रूपमा परिचित गराउन पनि दौडले सघाउने सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । ‘लिगलिग कोटपछि गोरखा दरबार विजयी गर्न द्रव्य शाहले प्रयोग गरेको पैदलमार्गमा नै दौड हुनेछ,’ उनले भने, ‘ऐतिहासिक पदमार्गको संरक्षण र प्रवर्द्घनमा सघाउने लक्ष्य हो ।’


प्रतियोगिता आयोजनाका लागि १० लाख खर्च हुने अनुमान छ । तीन स्थानीय तहले ३–३ लाख र सेनाले १ लाख रकम बेहोर्ने छन् । द्रव्यशाहले १६१६ को भदौ २५ मा पस्लाङ चौतारामा राज्यभिषेक गरेको इतिहास छ । दौडका लागि निर्धारण गरिएको रुटमा ऐतिहासिक गढी र कोटहरू छन् ।


दौडको सुरुआत हुने ठाउँ लिगलिग कोट शाहवंशीय राजा द्रव्य शाहले १६६५ मा दौडिएर राज्य सञ्चालन गरेको स्थल हो । ‘सिरानचोकको छोप्राकमा बसेर द्रव्य शाहले गोरखा दरबार कसरी आक्रमण गर्न सकिन्छ भनेर योजना बनाएको ठाउँ हो,’ गुरुङले भने, ‘लिगलिग कोट र गोरखा दरबारसँगै सिरानचोकको पनि लुकेको इतिहास उजागर गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौं ।’

प्रकाशित : भाद्र ६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?