२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

फुटसल प्रशिक्षकहरू असन्तुष्ट

काठमाडौँ — पूर्व प्रशिक्षक राकेश श्रेष्ठसहित ९ जनाले राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक छनोटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अखिल नेपाल पुलबल संघको फुटसल कमिटीले संकटा क्लबका खेलाडी विष्णु गुरुङलाई राष्ट्रिय फुटसल टिमको प्रशिक्षक नियुक्त गरेकोमा उनीहरूले आपत्ति जनाएका हुन् ।


प्रशिक्षकहरू राकेश श्रेष्ठ, राजेश शाही, सरोज थापा, नरेश श्रेष्ठ, दीपक भुसाल, चेतन घिमिरे, विक्रम महर्जन, पुरुषोत्तम थापा र चक्र तामाङले संयुक्त विज्ञप्ति जारी गरी अनुभवी प्रशिक्षक हुँदाहुँदै विगतमा कुनै फुटसल टिम नहेरेको र ए डिभिजन टिम संकटाका खेलाडीलाई प्रशिक्षक नियुक्ति गर्नुको आधारबारे प्रश्न गरेका छन् ।


यसबारे संकटाका अध्यक्षसमेत रहेका एन्फा महासचिव इन्द्रमान तुलाधरले गत संस्करणको ए डिभिजन लिगमा दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत पुरस्कार दिएको जवाफ आफूहरूले पाएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले टिम घोषणा हुनुभन्दा अगाडि नै प्रशिक्षक नियुक्ति हुनुपर्नेमा प्रक्रिया मिचिएकोमा पनि आपत्ति जनाएका छन् । प्रशिक्षक छान्ने काम एन्फाको प्राविधिक समितिले गर्नुपर्नेमा फुटसल कमिटीले गरेको तथा फुटसल कमिटी संयोजक, एन्फा महासचिव र लिग निर्देशकले मौखिक सहमति उल्लंघन गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।


राष्ट्रिय टिमको छनोट समितिमा फुटबल र फुटसलको अनुभव नभएका र त्यससम्बन्धी हुनै आधिकारिक प्रमाणपत्र नभएका प्रकाश परियारलाई राखिएकोप्रति विज्ञप्तिमा आक्रोश प्रकट गरिएको छ । छनोट समितिले सिफारिस गरेका ३२ खेलाडी भए पनि ५ जनाको नाम आफूखुसी थपिएकोमा उनीहरूले विधि मिचिएको दाबी गरेका छन् । सबै नियुक्ति खारेज हुनुपर्ने माग उनीहरूको छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?