कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा गोल्डकप : रेडस्टार सेमिफाइनलमा

आनन्द गौतम

(ताप्लेजुङ) — झापाको रेडस्टार क्लब मंगलबार पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रेडस्टारले आफ्नै जिल्लाको टिम गोर्खा स्पोर्टिङ क्लब दमकसँग १–० ले पराजित गरेको थियो ।

पाथीभरा गोल्डकप : रेडस्टार सेमिफाइनलमा

रेडस्टारको तर्फबाट दोस्रो हाफको छैटौं मिनेटमा दिवस गुरुङले गरेको गोल निर्णायक बन्यो । उनले कर्नर साइडबाट हानेको फ्रिकिक प्रहार सिधै पोस्टमा छिरेको थियो । उनको प्रहार रोक्नका लागि विपक्षी गोलकिपरले कुनै भेउ पाउन सकेनन् । रेडस्टारका बुद्ध चेम्जोङलाई लडाएपछि रेफ्रीले फ्रिकिक दिएका थिए ।


क्यामरुनका बिग, आरयुल र निया गरी तीनसहित एनआरटिका गोलरक्षक दिपांशु रावल, थ्रीस्टारका विक्रम धिमाल, मनाङ मर्स्याङदीका दीपक राई र सुरज बिकलाई मैदान उतारेको गोर्खा स्पोर्टिङले गोल फर्काउन सकेन ।


गोर्खाका टेकबहादुर बुढाथोकी वान भर्सेस वानमा गोल गर्न चुकेका थिए । क्यामरुनका दुई खेलाडीले पहेंलो कार्ड पनि पाए । गोर्खा २०७३ सालको पाथीभरा गोल्डकप विजेता टोली हो । रेडस्टारबाट झापा ११ का कर्ण लिम्बु, खामिर गिल्सन कन्दङ्वा, निशान लिम्बु, पूजन उपरकोटी, योगेश गुरुङ, आर्मीका दिवश चौधरीलगायतका खेलाडी मैदान उत्रिएका थिए । म्यान अफ द म्याच रेडस्टारका गोलकिपर दिवस चौधरी भए ।


रेडस्टारले बिहीबार डाँगीहाट मोरङसँग खेल्नेछ । बुधबार रेडहर्स क्लब इलाम र एलेभेन एरोज सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । सुनसरीले दाउफिन्स क्यामरुनका प्रिसो, यानिक याना, एक्वेम बारथेमेलीलाइ ल्याएको छ भने थ्रीस्टारका विष्णु सुनुवार र रुपेश केसी, एनआरटीका जीवन धामी, मनाङका प्रवेश दनुवारलाई मैदानमा उतार्दै छ ।


सरस्वतीका तीर्थ बस्नेतलगायतका खेलाडी छन् । इलामबाट विदेशी खेलाडी फोफना, ट्याम्पी, रोहित राई, निशान राई छन् । सुनसरी यूकेएफसी दार्जिलिङलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने इलाम पोमुकेछाङ ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।


फाइनल भदौ ६ मा हुनेछ । विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र ३, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?