कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभीसी सेन्ट्रल जोन भलिबल : घरमा सोझो सेटको झट्का

काठमाडौँ — नेपालले पाँचौं एभीसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा सुरुआती जित निकाल्न असफल सकेन । परम्परागत समस्याको रूपमा रहेको डिफेन्समा पर्याप्त सुधार नहुँदा नेपाली टोली लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयो । समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्नका लागि माल्दिभ्सविरुद्धको खेल जित्नैपर्ने भएको छ ।

एभीसी सेन्ट्रल जोन भलिबल : घरमा सोझो सेटको झट्का

उल्लेख्य घरेलु समर्थकमाझ नेपाली टोलीले बलियो किर्गिस्तानसामु कुनै पनि सेटमा २ अंकभन्दा बढीको अग्रता बनाउन सकेन । शारीरिक रूपमा अग्ला किर्गिज टोलीविरुद्ध मुख्यतः रिसिभ र ब्लकमा नेपाली टोली चुकेको हो । नेपालले पहिलो सेट २३-२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा २२-२५, २२-२५ ले गुमाएपछि नेपाल घरेलु भूमिमा पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।


पछिल्लो ४/५ वर्षदेखि मुख्य स्पाइकरको भूमिकामा रहेका मानबहादुर श्रेष्ठको अनुपस्थितिमा धनबहादुर भट्टले त्यो जिम्मेवारी लिएका थिए । तर उनको प्रदर्शन खेलभर फितलो देखियो । अनुभवी कुलबहादुर थापाले पहिलो सेटमा केही आक्रामक शट प्रहार गरेका थिए । त्यसपछिका दुई सेटमा उनी अधिकांश समय बेन्चमै रहे ।


डेब्यू प्रतियोगिता खेलेका दुर्गाबहादुर खड्काको प्रदर्शन आशालाग्दो थियो । मिडिल ब्लकर पोजिसनमा अग्ला किर्गिज स्पाइकरलाई रोक्ने प्रयासमा उनले आंशिक सफलता पाएका थिए । डेब्यू गरेका अर्का स्पाइकर राजेन्द्र विष्टले पनि अपेक्षाकृत खेल्न सकेनन् । अलराउन्डर नरेन्द्र गिरी र लिबरो ईश्वर थापाको डिफेन्स औसतमात्र थियो ।


नेपाली टोलीका मुख्य प्रशिक्षक हान अविङले पराजयका बाबजुद आफू टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए र खेल अवधिभर उनीहरूले हामीलाई नियन्त्रणमा राखे,’ ५८ वर्षे डच प्रशिक्षकले भने, ‘म मेरा खेलाडीको प्रदर्शनबाट किन खुसी छु भने हामीले खेलमा गल्ती गरेका थिएनौं बरु विपक्षी टोली उच्च स्तरका थिए । उनीहरूले परिस्कृत भलिबल खेले । म किर्गिस्तानलाई बधाई दिन चाहन्छु ।’


प्रशिक्षक हानले नेपाली खेलाडी पूर्ण टिम गेम्सका लागि धेरै सिक्न बाँकी रहेको पनि बताए । नेपालको कमजोर ब्लक र डिफेन्सबारे प्रतिक्रिया दिँदै उनले भने, ‘वास्तवमा हामीले ब्लक नगरेको होइन । तर उनीहरू हाम्रो वालभन्दा माथि पुगेर प्रहार गरे । उनीहरूले उचाइको फाइदा लिए । उनीहरू हामीभन्दा धेरै जम्प गर्न सक्थे र त्यो नै किर्गिस्तानी टोलीको क्षमता हो ।’


खेलभर एक्लैले स्पाइकबाट २१ अंक जोडेका किर्गिस्तानी कप्तान तथा स्पाइकर ओनोलबेक कानीबेक उलुको प्रशंसा गरे । ‘किर्गिस्तानको आउटसाइड हिटरहरू विशेष गरी जर्सी नम्बर ७ (उलु) लगाउने अर्कैस्तरका थिए । उनको स्पाइक हाम्रो ब्लकभन्दा धेरै स्तरीय थियो,’ प्रशिक्षक हानले भने ।


नेपालका धनबहादुर भट्टको प्रहार ।


प्रशिक्षक हानले आफ्नो डिफेन्सबारे कुनै गुनासो नरहेको बताए । तर नेपाली खेलाडी र घरेलु समर्थक भावनात्मक रूपमा कमजोर देखिएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘हामी खेलभावनालाई लिएर चिन्तित थिएनौं । न खेलाडी रहे न समर्थक । हामीले अर्को खेल मनैदेखि खेल्नुपर्छ । हामीले अंक जोडा र गुमाउँदा धेरै सोच्नुपर्ने कारणै छैन । जब हामी अंक जोड्छौं, हामी खुसी हुन सक्नुपर्छ ।’


किर्गिस्तानका सहायक प्रशिक्षक सर्वग्यशेव किलिच्वेकले सुरुआती जितमा आफ्नो टिमको प्रसंसा गर्दै नेपालभन्दा भाग्यशाली रहेको प्रतिक्रिया दिए । ‘हाम्रा मिडिल ब्लकर केही अग्ला र बलिया हुनुको फाइदा हो यो । साथै टिमको सम्पूर्ण प्रदर्शनमा हाम्रा सबै पक्षबाट सन्तुलित प्रदर्शन भयो,’ उनले भने । किलिच्वेकले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघलाई धन्यवाद पनि दिए ।


प्रशिक्षक हानले माल्दिभ्सविरुद्धको खेलका लागि दबाब बढे पनि सकारात्मक सोचसहित खेल्नुपर्ने बताए । समूहको दोस्रो खेल नेपालले माल्दिभ्ससँग बुधबार खेल्नेछ ।


तुर्कमेनिस्तान र उज्वेकिस्तान विजयी

सोमबारै अन्य दुई खेलमा साबिक विजेता तुर्कमेनिस्तान र उज्वेकिस्तानले पनि विजयी सुरुआत गरेका छन् । नेपालमा पहिलोपल्ट आयोजना भएको एसियालीस्तरको भलिबलको उद्घाटनअघि बिहान समूह ‘बी’ अन्तर्गत साबिक विजेता तुर्कमेनिस्तान र अफगानिस्तान आमनेसामने भएका थिए । तुर्कमेनिस्तानले ३-१ को सेटमा जित हासिल गरेको हो ।


आर्मी कभर्डहलमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट तुर्कमेनिस्तानले ३२-३० ले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरी २५-१६ ले सेट हत्याएको अफगानिस्तानले बाँकी २ सेट भने क्रमशः २७-२५, २६-२४ ले गुमायो । मैत्रीपूर्ण शृंखलामा नेपालसँग पराजित भएको अफगानिस्तानले २ पल्टको च्याम्पियनलाई कडा चुनौति दिएको थियो ।


दिनको तेस्रो खेलमा समूह ‘बी’ अन्तर्गत नै उज्वेकिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । तीनै सेटमा कमजोर देखिएको बंगलादेशले २५-१६, २५-१६, २५-२३ ले खेल सुम्पियो । मंगलबार ३ खेल हुनेछ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?