कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिमानमा सुधार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल स्ट्रोङगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा मंगलबार नेपाल पुलिस क्लबकी संगीता राईले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

कीर्तिमानमा सुधार

मरु बैंक्वेटमा आयोजित प्रतियोगिताको पहिलो दिन सिनियर ४९ केजी तौल समूहमा संगीताले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्न्याचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजीसहित कुल १ सय ३५ केजी उचालेकी थिइन् । उनले तीनै विधामा कीर्तिमान स्थापित गरिन् । यसअघि उनले आठौं राष्ट्रियमा ५८, ७५ र १३३ केजीको कीर्तिमान राखेकी थिइन् । उनको तौलमा अन्य प्रतिस्पर्धी थिएनन् ।


सोही विधाको जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण जितिन् । उनले स्न्याचमा ४०, क्लिन एन्ड जर्कमा ५० सहित कुल ९० केजी उठाइन् । एपीएफकी पल्लवी चौधरीले क्रमशः ४० र ४८ केजीसहित कुल ८८ केजीबाट रजत जितिन् । कांस्य जितेकी ग्लोबल बीएसएस सप्तरीकी पूजा मण्डलले ३७ र ४२ केजीसाथ कुल ७९ केजी उचालिन् ।


महिला सिनियर ४५ केजीमा आर्मीकी रीता गुरुङले क्लिन एन्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान बनाइन् । उनले क्लिनमा ६२ केजी उचालिन् । स्न्याचमा ४२ केजी भार उचालेकी उनले कुल १०४ केजीसाथ कीर्तिमान कायम गरिन् । समूहमा रीताले आठौं राष्ट्रियमा स्न्याचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान राखेकी थिईन् ।


रजत जितेकी झापाकी करिना चौधरीले स्न्याचमा ४७ केजीसाथ कीर्तिमान बनाइन् । उनले क्लिनमा ५६ केजीसहित कुल १०३ केजी उचालिन् । तेस्रो स्थानमा बर्दियाकी हीरामोती थारु रहिन् । उनले स्न्याचमा ३०, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ७५ केजी उचालिन् ।


४५ केजी जुनियर महिलातर्फ ग्लोबल सप्तरीकी काजल सदाले स्वर्ण जितिन् । उनले स्न्याचमा २७ र क्लिनमा ३७ केजीसहित कुल ६४ केजी उचालिन् । दोस्रो भएकी दाङकी सन्जना चौधरीले ३० र ३२ केजीसाथ ६२ केजी भार उचालिन् ।


५५ केजीको सिनियरतर्फ पुलिसकी देवीकुमारी चौधरीले स्वर्ण जितिन् । उनले स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ८२ गरी कुल १४२ केजी उचालिन् । दोस्रो भएकी आर्मीकी गौरी चौधरीले स्न्याचमा ५० र क्लिनमा ५८ गरी १०८ केजी तथा तेस्रो भएकी एपीएफकी लीला राईले स्न्याचमा ३०, क्लिनमा ४० गरी कुल ७० केजी उचालिन् ।


सिनियरतर्फ ५९ केजी तौलमा स्न्याचतर्फ सञ्जु चौधरीले ७१ केजीसाथ कीर्तिमान बनाएकी छन् । यसअघि यस विधामा आर्मीकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान थियो । कमलाले आठौं राष्ट्रियमा उक्त कीर्तिमान बनाएकी हुन् । ६४ केजी तौलमा आर्मीकी शारदा चौधरीले स्न्याचमा आफ्नै नामको ६० केजी तौलमा सुधार गर्दै ६१ केजी उचालिन् ।


राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राज्यलक्ष्मी थापाले स्न्याचमा ६६ केजीसाथ आफ्नै नामको ६३ केजीको कीर्तिमानमा सुधार गरिन् । राज्यलक्ष्मीले पनि आठौंमै कीर्तिमान बनाएकी थिइन् ।


प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले एउटा दिग्गज खेलाडीको स्मृतिमा आयोजित यस प्रतियोगितालाई आगामी वर्षदेखि रातो किताबमा पार्न पहल गर्न पहल गरिने बताए ।


प्रकाशित : श्रावण २९, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?