कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेयमरको सरुवा टुंगो लाग्दै

एएफपी

पेरिस — ब्राजिली स्टार नेयमरका लागि भइरहेको सरुवा वार्ता यसअघिभन्दा राम्रो गतिमा अगाडि बढेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जनाएको छ ।

नेयमरको सरुवा टुंगो लाग्दै

फ्रेन्च च्याम्पियन पीएसजीले आइतबार हुने लिग १ मा निम्ससँगको आफ्नो पहिलो खेलमा टोलीमा नराखेपछि नेयमरको सरुवा चर्चा पुनः अगाडि बढेको हो ।


पीएसजीका खेलकुद निर्देशक लियोनार्दोले सञ्चारमाध्यमसामु नेयमरले क्लब छाड्न लागेको पुष्टि गरे । तर उनले निम्ससँगको खेलअघि सरुवा विषयमा छलफल गर्न अनुमति नदिएको जनाए । नेयमर शनिबार पनि पीएसजीको अभ्यासमा थिएनन् ।


पीएसजीका प्रशिक्षक थोमस टुचेलले प्रशिक्षणमा नआएकाले नेयमरले आइतबारको खेल खेल्ने सम्भावना नरहेको जनाए ।

नेयमरको सरुवा प्रकरण दुवै पक्षबाट निचोडमा पुर्‍याउन क्लब आतुर रहेको छ । ‘हाम्रो भविष्य सबैलाई सुरक्षित गराउन महत्त्वपूर्ण हुन्छ,’ ब्राजिलियन लियोनार्दोले पत्रकार सम्मेलनमा भने, ‘यदि उनी यहाँ बस्छन् भने, उनले खेल्ने छन् । यदि जान्छन् भने जान सक्छन् । यसलाई जतिसक्दो चाँडो निर्णयमा पुर्‍याउनुपर्नेछ ।


रियल म्याड्रिड वा बार्सिलोनामा फर्किनु विश्वका सबैभन्दा महँगा खेलाडी नेयमरको सम्भावित गन्तव्य हुनेछ । स्पेनिस सञ्चारमाध्यममा जनाइएनुसार २७ वर्षे नेयमरलाई लिन जिनेदिन जिदानको रियल म्याड्रिडले बार्सिलोनालाई चुनौती तेर्स्याउने छ ।


एएस समाचारपत्रले जनाएअनुसार पीएसजीले नै म्याड्रिडसामु नेयमरलाई लिने भए २२ करोड २० लाख पाउन्डको प्रस्ताव गरेको थियो । यही रकममा पीएसजीले बार्सिलोनाबाट लिँदै उनलाई महँगो फुटबलर बनाएको थियो । अर्को प्रस्तावमा त्यसको आधा रकम तथा अन्य खेलाडी लिनसक्ने पनि राखेको थियो । बार्सिलोनाबाट प्रकासित हुने मुन्डो डेपोर्टिभोका अनुसार नेयमर बार्सिलोना फर्किएर लियोनल मेसी र लुइस स्वारेजका साथ पुनः खेल्न चाहन्छन् ।


कतारी लगानीकर्ताको स्वामित्वमा रहेको पीएसजीमा नेयमरले यस सिजनको सुरुआत एक साता ढिलो फर्किएर अभ्यास गरेका थिए । २०१७ मा बार्सिलोनाबाट फ्रान्समा आएयता उनी चोट र विवादले घेरिएका छन् । हालैमात्र उनलाई पेरिसमा भएको एक बलात्कर काण्डमा सफाइ दिइएको थियो । उनको क्लबसँग पनि सम्बन्ध राम्रो छैन ।


एक खेलकुद अनलाइनमा हालै दिएको अन्तर्वार्तामा उनले फुटबलको सबैभन्दा उत्कृष्ट सम्झना बार्सिलोनाले २०१७ मा पीएसजीसँ गरेको पुनरागमन बताएका थिए ।


पीएसजीले पहिलो लेग ४–० ले जिते पनि अन्तिम १६ को उक्त खेलको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै ६–१ को नतिजा निकालेको थियो । च्याम्पियन्स लिग पहिलोपल्ट जित्ने आशामा पीएसजीले नेयमरलाई लिएको थियो तर पछिल्लो दुई सिजनमा टोली अन्तिम १६ मै रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै आएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?