वैकल्पिक मैदान तयार पारिँदै

कान्तिपुर संवाददाता

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबलका लागि अभ्यास मैदान तयारी क्रममा रहेको छ । पोखरा रंगशाला फुटबल मैदानको काम सुस्त गतिमा भएकाले ‘वार्मअप’ खेलका लागि वैकल्पिक मैदान तयार गरिएको हो । 

१३ औं सागअन्तर्गत पोखरामा हुने महिला फुटबलको 'वार्मअप’ खेललाई तयार गरिँदै लामाचौरको गोस्तेघाट मैदान ।तस्बिर : दीपक परियार/कान्तिपुर

पोखरा–१९ लामाचौरमा रहेको गोस्तेघाट र पोखरा–२५ हेमजामा रहेको गौरीशंकर खेलमैदान निर्माणको अन्तिम चरणमा छ । गोस्तेघाट मैदानको काम असोज मसान्तसम्म सकिने उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी बताउँछन् । गत आर्थिक वर्षसम्म विभिन्न चरणमा गरी युवा तथा खेलकुद मन्त्रालयले छुट्याएको १ करोड ८२ लाख रुपैयाँको काम सम्पन्न भएको जानकारी उनले दिए ।

गोस्तेघाटको निर्माण कार्य सक्न यस आर्थिक वर्षमा परिषद्ले १ करोड र पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘हामीले अब मैदानलाई सम्याउने र चेन्जिङ रुम बनाउने तयारी थालेका छौं,’ उनले भने, ‘असोज मसान्तसम्म काम सक्ने लक्ष्य छ ।’ मैदानवरपर वृक्षरोपण गरी सौर्न्दयकरण गर्ने उपभोक्ता समितिको योजना छ ।

हेमजामा रहेको गौरीशंकर खेल मैदानमा समेत यति बेला धमाधम घाँस रोप्ने काम भइरहेको छ । गत आवमा राष्ट्रिय खेलकुद परिषद्को ५० लाख रुपैयाँ मैदानलाई विनियोजन गरेको थियो । उक्त रकमबाट मैदान सम्याउने र नाली बनाउने काम सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले बताए । यस आर्थिक वर्षमा उक्त मैदानका लागि थप १ करोड रुपैयाँ विनियोजन भएको छ । उक्त रकमबाट प्यारापिट र चेन्जिङ रुम निर्माण कार्य सुरु गरिने जानकारी उनले दिए ।

साग तयारीका लागि राखेप बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमा मंगलबार दुवै मैदानको निरीक्षण गरिएको छ । ‘मैदानको काम चाँडै सक्नुपर्ने निर्देशन छ,’ गुरुङले भने, ‘अब यी दुवै खेल मैदान समयमा नै निर्माण हुनेछन् ।’ सागका पूर्वाधार निर्माणका लागि आवश्यक बजेट प्राप्त भइसकेकाले पोखरा तयार रहेको उनी बताउँछन् । ‘आम पोखरावासी १३ औं सागको पर्खाइमा छन्,’ उनले भने, ‘आवश्यक तयारी भइरहेकाले साग हुनेमा द्विविधा छैन ।’ पोखरामा हुने साग अन्तर्गतका ७ खेलको विभिन्न पूर्वाधार निर्माणमा परिषद्ले विशेष चासो दिएको उनले बताए ।

गौरीशंकर र गोस्तेघाट मैदानबाहेक पोखरा विजयपुर ब्यारेकको मैदानसमेत प्रयोग गर्ने राखेपको योजना छ । निर्माण कार्य भइरहेको मैदानको राखेप सदस्य गुरुङको नेतृत्वमा पश्चिमाञ्चल क्षेखेविस निर्देशक विद्या मर्सानी,जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङ, क्षेत्रीय उपनिर्देशक कृष्ण तिमिल्सिनालगायतको टोलीले निरीक्षण गरेका थिए । सागकै तयारीस्वरुप पोखरा रंगशालाभित्र हाल सरसफाइ, वृक्षरोपणलगायतका काम भइरहेको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

डर्बी काउन्टीमा रोनी

एएफपी

लन्डन — इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान वायन रोनीले अमेरिकाको डीसी युनाइटेड क्लब छाडेर स्वदेश फर्किने भएका छन् । इंग्ल्यान्डको दोस्रो डिभिजन क्लब डर्बी काउन्टीले रोनीसँग सम्झौता गरेको मंगलबार घोषणा गरेको छ । 

आफ्नो देश र क्लब (म्यानचेस्टर युनाइटेड) का लागि कीर्तिमानी गोलकर्ता ३३ वर्षीय रोनीले महत्त्वाकांक्षी क्लब डर्बी काउन्टीसँग १८ महिने सम्झौता गरेका छन् । उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा रहने छन् । रोनीकै पूर्व टिममेट फ्रान्क लाम्पार्डले सम्हालेको डर्बीले गत सिजन प्लेअफ फाइनल खेलेको थियो । यो उच्चस्तरीय सम्झौताका लागि क्लबले पहिले नै भुक्तानी गरिसकेको छ ।

‘रोनीलाई इंग्ल्यान्ड फर्काएर कीर्तिमानी सम्झौता गरेका छौं,’ क्लब मालिक मेल मोरिसले भने । सन् १९७० को दशकमा दुईपल्ट इंग्लिस प्रिमियर लिग जितेको डर्बी त्यसयता यस्तो सफलतालाई प्रयासरत छ । केही अपुष्ट हल्लाका अनुसार रोनीकी पत्नी कोलिनलाई अमेरिका बसाइ चित्त बुझिरहेको थिएन, उनी घर फर्कन चाहन्थिन् ।

रोनी अहिले प्रशिक्षकको योग्यता हासिल गर्ने तयारीमा काम गरिरहेका छन् । त्यसैले हालका लागि नेदरल्यान्ड्सको टोली भीएसभीका पूर्व प्रशिक्षक फिलिप कोकुको कोचिङ स्टाफका रूपमा काम गर्नेछन् । ‘डर्बी काउन्टीले प्रदान गरेको अवसर लिएर म निकै उत्साही छु,’ रोनीले क्लबको वेबसाइटमा भनेका छन्, ‘जनवरीदेखि फिलिप कोकुको कोचिङ स्टाफका साथै पहिलो टिमको सदस्यका रूपमा सामेल हुन आतुर छु ।’

‘निश्चित रूपमा म उत्कृष्ट योगदानदिन प्रयासरत हुनेछु । क्लबका हरेक सदस्यका साथै समर्थकसँग भेट्ने दिन पर्खिरहेको छु ।
साथै पहिलो टिम र एकेडेमी प्रशिक्षककारूपमा म प्रशिक्षण करिअर सुरु गर्न उत्सुक छु,’ उनले थपे, ‘मैले डीसी युनाइटेडका मालिक, अधिकारी र समर्थकलाई पनि धन्यवाददिनैपर्छ । उनीहरूसँगको सहकार्य वास्तवमै सानदार रह्यो ।’

डीसी युनाइटेडका सह–अध्यक्षद्वय स्टिभ काप्लान र जेसन लेभिनले पनि फ्रेन्चाइज फुटबलमा रोनीले उनको क्लबका लागि गरेको योगदानको प्रशंसा गरे । एभरटनबाट गत वर्ष ३ वर्षे सम्झौता गरेका रोनीले डीसी युनाइटेडका लागि ४३ खेलमा २३ गोल गरेका छन् ।

‘रोनीसँगको कुराकानी र आफ्नो परिवारसँग टाढा हुनुपरेको कठिन परिस्थिति बुझेपछि हामी यो सहमतिमा पुग्यौं कि उनलाई आएको प्रस्ताव स्विकार्नु नै सबैभन्दा राम्रो निर्णय थियो,’ सहअध्यक्षद्वयले डर्बी वेबसाइटसँगको कुराकानीमा भने, ‘रोनी एक असाधारण नेता हुन् र सबैभन्दा प्रतिष्ठित खेलाडीमध्ये एक हुन् । उनको योगदान यस सिजनमा उस्तै गरी निरन्तर रहोस् भन्ने हाम्रो कामना हो ।’

डर्बीका मालिक मोरिसले रोनीको आगमनपछि क्लबको प्रतिष्ठा प्रभावित हुने बताएका छन् । ‘उल्लेखनीय कुरा के छ भने सानदार खेलाडी र सँगै प्रेरणादायी प्रशिक्षकका रूपमा हामीले रोनीलाई पाएका छौं । म यस कुराको कल्पना गर्न सक्छु कि हाम्रा समर्थकले घरेलु र अन्तर्राष्ट्रियस्तरको भिन्नता देख्नेछन् ।’

सोमबार हडर्सफिल्ड टाउनविरुद्ध २–१ को जितसँगै प्रशिक्षकको रूपमा विजयी सुरुआत गरेका कोकुले पनि सन् २००८ पछि प्रिमियर लिगमा बढुवा हुने प्रयासरत डर्बीलाई रोनीजस्ता महान् र अनुभवी खेलाडीको आगमनले मनोबल उच्च हुने बताएका छन् ।

‘रोनीलाई डर्बी काउन्टीमा स्वागतका लागि उत्सुक छु । मैदानबाहिर र भित्र उनले हाम्रो टिममा धेरै प्रभाव पार्नेछन्,’ कोकुले भने, ‘नेतृत्वदायी, क्षमतावान, अनुभवी र उच्च नैतिक व्यक्तित्व भएका एक खेलाडी पाउनु हाम्रा लागि धेरै ठूलो कुरा हो ।’

प्रकाशित : श्रावण २२, २०७६ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्