५ खेलाडी कटौती

कान्तिपुर संवाददाता

काठमाडौँ — फिफा विश्वकप छनोट दोस्रो चरणमा प्रतिस्पर्धाको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक सूचीबाट ५ खेलाडी कटौती गरिएको छ ।

३६ सदस्यीय सुरुआती टोलीबाट मुख्य प्रशिक्षक योहान कालिनले दोस्रो चरणको छनोटमा ३१ खेलाडी राख्ने निर्णय गरेका छन् । विश्वकप छनोटका लागि नेपाली टोली केही महिनायता प्रशिक्षणरत छ ।

मिडफिल्डर नितिन थापा र सेसेहाङ आङदम्बे, डिफेन्डर कमल श्रेष्ठ र अमित तामाङ तथा स्ट्राइकर मिक्चेन तामाङलाई विश्वकप छनोट खेल्ने टोलीबाहिर राखिएको छ । कमल श्रेष्ठबाहेक अन्य चार खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका लागि यू–२३ टिमको प्रारम्भिक छनोटमा परेका छन् । बालगोपाल महर्जन यू–२३ टिमका प्रशिक्षक हुन् ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा छ । सन् २०१९ को सेप्टेम्बरदेखि २०२० को जुनसम्म नेपालले कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग होम एन्ड अवेका आधारमा ८ खेल खेल्नेछ ।

विश्वकप छनोटलाई दोस्रो चरण छनोटपछि ३१ सदस्यीय टोलीमा विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रन्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनील बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तीमगर र रोहित चन्द छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

धाः बाजंमा बुहारी हात

खिचापोखरीमा सुरुवाती दिनमा धाः बाजं बजाउने छोरी पुस्ता विवाह गरेर अन्यत्रै लागे । यस्तोमा महिलाको निरन्तर सहभागिताको जिम्मेवारी उठाएका हुन्, बुहारी पुस्ताले ।
हिमेश

काठमाडौँ — उपत्यकाका बौद्धमार्गीबीच एउटा लोकोक्ति खुबै लोकप्रिय छ र त्यो हो, गौतम बुद्धलाई सबैभन्दा बढी मन पर्ने बाजा हो, धाः बाजं । युवराज छँदा दरबारतिर बरालिँदा उनी धाः बाजं सुन्थे भनिन्छ । यी त सबै लोकप्रिय कथाजस्तै हुन् ।

गुँलाः पर्वका अवसरमा इन्द्रचोकबाट स्वयम्भूतर्फ बाजा बजाएर अगाडि बढ्दै महिला । तस्बिर : कान्तिपुर

तर एउटा के निश्चित छ भने, धाः बाजंबाट निस्कने स्वर खुबै सुमधुर हुन्छ र मनै प्रफुल्लित हुन्छ । अचेल एक महिनाको गुँलाः पर्व चलिरहेको छ र यसै क्रममा बिहान बिहानै भित्री काठमाडौंमासुनिने गरिन्छ, यही धाः बाजं ।

अनि आजभोलि यो धाः बाजंको स्वरमा अझ मिठास थपिएको छ, त्यसमा बुहारी पुस्ताको हात परेपछि । यो पर्वको क्रममा बिहान सबेरै बाजा बजाउँदै नजिकका चैत्यविहार घुम्ने चलन छ, विशेषतः स्वयम्भू । यो चलन परापूर्वकालदेखि चल्दै आएको छ तर पछिल्ला केही वर्ष यसमा ठूलै परिवर्तन देखा पनि पर्न थालेको छ । कुनै समय थियो, धाः बाजं महिलाले बजाउने त कता हो कता, छुन पनि हुन्न भनिन्थ्यो । अचेल यी दिन फेरिएका छन् ।

साउन शुक्ल प्रतिपदाबाट सुरु भएको गुँलाः पर्वको प्रत्येक दिन बिहान खिचापाखेरीको पाक्व पुखुद्यांबाट एक हूल महिला धाः बाजं बजाउँदै स्वयम्भू लाग्ने गरेका छन् । त्यति बेला उनीहरू प्रायः पारम्परिक हाकु पटासीमा सजिएका हुन्छन् । यस्तोमा उनीहरू धेरैका लागि आकर्षण पनि हुने गरेका छन् । ‘केहीलाई यो सामान्य लाग्न सक्छ, तर हाम्रो लागि यो ठूलो उपलब्धि हो, महिलाले पनि अब धाः बाजं बजाउने भए, अझ बुहारी पुस्ताले,’ त्यही महिला समूहकी एक सदस्य सजिना मानन्धर भन्छिन् ।

त्यसो त महिलाले धाः बाजं बजाउन सुरु गरेको एक दशक जत्ति भइसकेको छ । सम्भवतः धाः बाजं बजाउने पहिलो महिला थिइन्, पौडीकी पुरानी खेलाडी नयना शाक्य । त्यति बेला छोरीको पुस्ताका महिलाले यो बाजा बजाउन सुरु गरेका थिए । अब आएर यो बुहारी पुस्तामा सरेको छ । त्यही खिचापोखरीमा सुरुवाती दिनमा धाः बाजं बजाउने छोरी पुस्ता विवाह गरेर अन्यत्रै लागे । यस्तोमा महिलाको निरन्तर सहभागिताको जिम्मेवारी उठाएका हुन्, बुहारी पुस्ताले ।

त्यस पुस्ताका केही बुहारीले त नातिनातिनी पनि देखिसके । यिनै महिला खुबै ठाँटले धाः बाजं बजाउँदै भित्री काठमाडौं घुम्दा को मात्र आकर्षित हुन्न होला ? यो सबै परम्परा सुरु गर्ने श्रेय भने खिचापोखरीकै कलाकार सुरेन्द्र मानन्धरलाई जान्छ । लगभग चार दशकदेखि यही बाजा बजाउँदै आएका सुरेन्द्रले नै १० वर्ष जति अगाडि महिलालाई पनि यो बाजा बजाउन सिकाउँदा बाजे पुस्ताले उनको चर्को आलोचना नै गरे । प्रश्न हुने गर्थ्यो, महिलाले पनि बाजा बजाउने र भने ?

तिनै सुरेन्द्रको प्रेरणाले धाः बाजं बजाउन सिकेका सजिना थप्छिन्, ‘महिला घरमै सीमित हुने दिन अब रहेन । अब धाः बाजं बजाउने काम पनि पुरुषको मात्र रहेन, यो महिलाको पनि भएको छ । हामी बुहारी पुस्ताले यो जिम्मेवारी उठाएका छौं, यसले पक्कै समानताको सन्देश दिने छ, सानै स्वरूपमा भए पनि ।’ धाः बाजं बजाउन उनीहरूले लगभग दुई साताको अभ्यास पनि गरे । धेरैको अनुभव छ, उनीहरूले चाँडै यो बाजा बजाउन पनि जाने ।

स्वंय सुरेन्द्र पनि दंग छन्, अब उनको टोलबाट हत्तपत्त धाः बजाउन जान्ने महिलाको कमी हुने छैन, किनभने अब यो टोल तिनै बुहारी पुस्ताको त हो । नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व बौद्ध धर्मालम्बीका लागि विशेष रहने गर्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ । यो महिनामा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप बढी हुने हुनाले पनि त्यसो नहोस् भन्ने कामना गरेर गुँलाः पर्व मनाइन्छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्