कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसेज टेस्ट शृंखला : इंग्ल्यान्ड र अस्ट्रेलियाको टक्कर

एएफपी

बर्मिङघम — इंग्ल्यान्डले एजबास्टनमा बिहीबार सुरु हुने पहिलो टेस्टमा अस्ट्रेलियाको सामना गर्दै छ । टोलीको नजर हुनेछ विश्वकपपछि एसेज ‘डबल’ को उपलब्धि । त्यसै पनि इंग्ल्यान्डका लागि पछिल्लो समय निकै सम्झनालायक रह्यो ।

एसेज टेस्ट शृंखला : इंग्ल्यान्ड र अस्ट्रेलियाको टक्कर

यसैक्रममा टोलीले ५० ओभरको विश्वकप पनि जित्यो । दुवै टोलीका लागि एसेज सिरिजमा आफूहरूबीचको पुरानो प्रतिद्वन्द्विता फेरि नवीकरण गर्नु जत्तिको ठूलो अरू कुनै हुने छैन ।

यसक्रममा दुवैको क्रिकेट प्रतिष्ठा भने दाउमा लाग्नेछ । इंग्ल्यान्डले हालै मात्र पहिलोपल्ट एकदिवसीय विश्वकप जितेको छ । विश्वास गरेको छ, यसको प्रभाव आउने पुस्तासम्म लामो समय रहनेछ । फाइनल खेल नयाँ र युवा दर्शक पाउने आसले टेलिभिजनमा निःशुल्क प्रदर्शन गरिएको थियो । इंग्ल्यान्ड के चाहन्छ भने विश्वकपमा प्राप्त गरेको सफलता र बटुलेका नयाँ दर्शक अहिलेको ५ टेस्टमा पनि दोहोर्‍याएर आउने छन् ।

अस्ट्रेलियाका लागि कप्तान टिम पेनको नेतृत्वले कस्तो भूमिका खेल्ने हो, त्यो सबैभन्दा बढी हेर्नलायक हुनेछ । बल टेम्परिङ विवादमा तत्कालीन कप्तान स्टिभ स्मिथ, डेविड वार्न र क्यामरन बेनक्राफ्ट फसेपछि पेनले नेतृत्वको अवसर पाएका हुन् । यी तीनै खेलाडीले एजबास्टनमा महत्त्वपूर्ण भूमिका निभाउनुपर्नेछ । अर्को तथ्य के पनि निश्चित छ भने स्मिथ र वार्नरले जस्तै बेनक्राफ्टले पनि इंग्ल्यान्ड समर्थकको चर्को आलोचना सुन्नुपर्नेछ ।

पछिल्लो १९ वर्षयता अस्ट्रेलियाले इंग्लिस भूमिमा एसेज सिरिज जितेको छैन । धेरै स्थानमा सिलाइएको ड्युक बलमा खेल्न अस्ट्रेलियाली ब्याट्सम्यानले संघर्ष गर्दै आएका छन् । ड्युक बलले इंग्ल्यान्डको पिचमा खुबै सीम गति लिने गर्छ । रमाइलो के भने अस्ट्रेलियाका लागि पहिलो टेस्ट नै इंग्ल्यान्ड भ्रमणमा पहिलो प्रथम श्रेणीको खेल हुनेछ । तर डरहम काउन्टीको नेतृत्व गरिरहेका बेनक्राफ्टले भने स्थानीय स्थितिलाई राम्रोसँग बुझ्ने अवसर पाएका छन् ।

इंग्ल्यान्ड आफ्नै पनि ब्याटिङ समस्या नरहेको होइन । उसले आयरल्यान्डविरुद्धको एकमात्र टेस्ट सजिलै जितेपछि टोलीको ब्याटिङ समस्या त्यति बेला खुलस्त देखिएको थियो, जति बेला टिम आफ्नो पहिलो इनिङ्समा ८५ रनमात्र बनाएर अलआउट भयो । इंग्ल्यान्ड कप्तान जो रुटले फेरि तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । त्यसअघि इनिङ्सका सुरुआत नयाँ सरे प्रारम्भिक ब्याट्सम्यान रोरी बनर्स र जेसन रोयले गर्नेछन् ।

टेस्ट क्रिकेटमा इंग्ल्यान्डका लागि सबैभन्दा बढी विकेट लिने कीर्तिमान आफ्नो नाममा राखेका जेम्स एन्डरसनले बलिङ आक्रमणको जिम्मा लिने छन् र त्यसमा उनलाई साथ दिन विश्वकप नायक जोफ्रा आर्चर पनि हुनेछन् । अस्ट्रेलिया भने आफ्नो चार बलको आक्रमणमा विश्वास राख्छ । त्यसमा जेम्स प्याटिसन र प्याट कमिन्सको पुनरागमन हुनेछ । विश्वकप टिममा सहभागी नभएका ३७ वर्षीय एन्डरसन आफैं टिमको उत्साह बढाउन सक्षम हुने मान्छन् ।

उनी भन्छन्, ‘म जस्ता केही खेलाडीका लागि अन्तर्राष्ट्रिय क्रिकेट सिजनको सुरुआत नै यही टेस्टबाट हुँदै छ । त्यसैले हाम्रो काम यसमा राम्रो सुरुआत लिने पनि हो ।’ इंग्ल्यान्डको के पनि विश्वास हुनेछ भने उपकप्तानको जिम्मेवारी पाएका बेन स्टोक्स ब्याट र बल दुवैबाट उत्तिकै प्रभावशाली हुनेछन् । सन् २००१ यता एजबास्टनमा अस्ट्रेलियाले कुनै पन स्वरूपमा खेल जितेको छैन । यही मैदानमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनल गुमाएको थियो ।

यही मैदानमा रोयले आक्रामक ८५ रन बनाएका थिए । यसको ठीक विपरीत इंग्ल्यान्डले बर्मिङघमको यस मैदानमा पछिल्ला ११ अन्तर्राष्ट्रिय खेल जितेको छ । अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ वा के मान्छन् भने एसेज सिरिजको ५ टेस्ट ६ साताभित्र खेल्दा दुवै टिमका खेलाडी निकै थाक्ने छन् । यस्तोमा जुन टिमका खेलाडी आफूलाई उत्तिकै फुर्तिलो राख्छ सक्छ, त्यही टिम बलियो हुनेछ । ‘टिममा कति गहिराइ छ, त्यो नै निर्णायक हुनेछ,’ पूर्व कप्तान मान्छन् ।


भिडन्तको तीन क्षेत्र

विश्वकप विजेता इंग्ल्यान्डको अब ध्यान मोडिने छ, एसेज सिरिजतर्फ । अस्ट्रेलिया भने विश्व खेलकुदकै सबैभन्दा पुरानो प्रतिद्वन्द्वी इंग्ल्यान्डमाथि सन् २००१ यता उसकै भूमिमा जित निकाल्ने प्रयासमा हुनेछ । पाँच टेस्टको यस सिरिजमा पहिलो खेल बिहीबार सुरु हुँदै छ । यसमा भिडन्तको तीन मुख्य क्षेत्र यस्तो हुनेछ :


वार्नरविरुद्ध रोय

इंग्ल्यान्ड र अस्ट्रेलिया दुवै टिममा माथिल्लो क्रममा त्यस्ता ब्याट्सम्यानको कमी छैन, जसले एक्लै खेलको स्वरूप परिवर्तन गर्न सक्छन् । फेरि यस्ता ब्याट्सम्यानलाई आफ्नो उपयोगिता पनि सिद्ध गर्नु छ । विश्वकपमा निकै राम्रो खेलेका अस्ट्रेलियाका डेविड वार्नर फेरि एकपल्ट आफ्नो टेस्ट खेलजीवन सुरु गर्दैछन् । गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा बल टेम्परिङको आरोप लागेपछि उनीमाथि एकवर्षे प्रतिबन्ध लगाइएको थियो ।

प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेको खेललाई आफ्नो पक्षमा मोड्न सक्ने ३२ वर्षीय वार्नरले अहिलेसम्म २१ शतक बनाएका छन् । इंग्ल्यान्ड उनको सकेसम्म चाँडै विकेट लिने उद्देश्यमा रहनेछ । इंग्ल्यान्डका २९ वर्षीय जेसन रोयले अहिलेसम्म एकै टेस्टमात्र खेलेका छन् । त्यो पनि भर्खरले आयरल्यान्डविरुद्ध । इंग्ल्यान्डका लाग ८४ एकदिवसीय खेलिसकेपछि मात्र रोयले टेस्ट खेल्ने अवसर पाएका हुन् । यी खेलाडीबाट इंग्ल्यान्डले टेस्टमा पनि आक्रामक ब्याटिङ अपेक्षा राखेको हुनेछ ।

रोयलाई नै इंगित गर्दै अस्ट्रेलियाली पेसम्यान जोस हेजलउडले टेस्ट र एकदिवसीय क्रिकेटमा निकै भिन्नता रहेको बताएका छन् । ‘रोयले कसरी टेस्ट क्रिकेट खेल्छन्, त्यो हामीले पनि हेर्नेछौं,’ हेजलउडले भर्खरै भनेका छन्, ‘उनले अहिलेसम्मै एकै टेस्टमात्र खेलेका छन् । टेस्टमा ब्याटिङ गर्नु र एकदिवसीयमा ब्याटिङ गर्नु दुई फरक स्थिति हो ।’ रोयले पनि इंग्ल्यान्डका लागि विश्वकपमा निकै राम्रो खेलेका थिए र उनकै प्रदर्शनले टिमको फाइनल यात्रा तय भएको थियो ।


स्मिथविरुद्ध रुट

सन् २०१७–१८ को पछिल्लो एसेज सिरिजमा अस्ट्रेलियाले आफ्नै भूमिमा इंग्ल्यान्डको सामना गर्दा यी दुई टिमका कप्तान थिए, स्टिभ स्मिथ र जो रुट । त्यसयता स्मिथले कप्तानी मात्र गुमाएका छैनन्, बल टेम्परिङको आरोपमा एकवर्षे प्रतिबन्धसमेत बेहोरेका छन् । त्यसयता स्मिथले पनि पहिलो टेस्ट खेलिरहेका छन् । डेविड वार्नरले जस्तै स्मिथले पनि जति बेला इंग्ल्यान्डमा ब्याटिङको अवसर पाएका छन्, सबै स्थितिमा दर्शकले उनीहरूको खिल्ली उडाएका छन् ।

त्यसलै पनि वार्नरले जस्तै स्मिथलाई पनि आफ्नो उपयोगिता फेरि एकपल्ट सिद्ध गर्ने अवसर हुनेछ । उनले ६४ टेस्टमा ६१.३७ को औसतले २३ शतक बनाइसकेका छन् । पछिल्लो एसेजमा उनले ६ सय ८७ रन बनाएका थिए । त्यस ५ टेस्टको सिरिजमा उनले तीन शतकसमेत बनाएका थिए । रुटको टेस्ट औसत ५० रनभन्दा पनि कम रहे पनि उनी अस्ट्रेलियाका लागि सबैभन्दा बढी टाउको दुखाइ हुने ब्याट्सम्यान नै हुन् ।

उनले १६ टेस्ट शतक बनाइसकेका छन् । योर्कसायर ब्याट्सम्यान इंग्ल्यान्डको माथिल्लो क्रमका ब्याटिङ समस्यालाई सुल्झाउन तेस्रो क्रममा क्रिजमा उतार्ने छन् । रुटले एक स्थान तल खेल्ने भएपछि त्यसमा इंग्ल्यान्डले धेरै परीक्षण्समेत गरेको छ, मोइन अली, जोनी बेरिस्टोदेखि जो डेनलीसम्म । तर त्यो स्थानमा कोही पनि सफल हुन सकेका छैनन् । सन् २०१६ मा पाकिस्तानविरुद्ध तेस्रो क्रममै ब्याटिङ गर्दै उनले आफ्नो सर्वाधिक २ सय ५४ रन बनाएका थिए ।


अनुभवविरुद्ध पेस

इंग्ल्यान्डसँग बलिङ अस्त्रका रूपमा जोफ्रा आर्चर छ, तर एसेज सिरिजमा घरेलु टिमको प्रमुख बलिङ जोडी भने अनुभवी जेम्स एन्डरसन र स्टुवार्ट ब्रोड नै रहने छन् । यी दुई अनुभवी ब्याट्सम्यानले एक आपसमा हजारभन्दा बढी विकेट लिइसकेका छन् । एन्डरसन र ब्रोड दुवै इंग्ल्यान्डको खेल परिस्थितिको खुबै फाइदा उठाएर स्वीङ निकाल्न माहिर छन् । त्यसको अर्कोतर्फ अस्ट्रेलियासँग पनि नयाँ तर उत्तिकै सशक्त पेस बलिङ आक्रमण छ ।

यो आक्रमण इंग्ल्यान्डको माथिल्लो ब्याटिङक्रम तहसनहस गर्न सक्षम छ । इंग्ल्यान्डका पूर्व पेसम्यान स्टिभ हार्मिसन भन्छन्, ‘अस्ट्रेलियासँग निकै राम्रा बलर छन् । प्याट कमिन्स, मिचेल स्टार्क, जेम्स प्याटिसन र जोस हेजलउडजस्ता । तर उनीहरूले लय समात्न सकेनन् भने उत्तिकै खर्चालु पनि हुन सक्छन् । यसको ठीक विपरीत एन्डरसन र ब्रोड भने उत्तिकै खर्लिलो हुने बलर होइनन्, यसले पनि सिरिजमा फरक पार्न निश्चित छ ।’

प्रकाशित : श्रावण १६, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?