कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल सिंगापुरसँग पराजित, ग्लोबल छनोटमा पुग्न असफल

विश्व ट्वान्टी–२० एसिया छनोट
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ । आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

नेपाल सिंगापुरसँग पराजित, ग्लोबल छनोटमा पुग्न असफल

इन्डियन एसोसिएसन ओभल मैदानमा टस जितेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९२ रनको विशाल स्कोर बनायो । जबाफमा आएको नेपाल १५ ओभरमा १ सय ९ रनमै अलआउट भयो ।


राउन्ड रोबिनका पुरै ४ खेलको समाप्तीमा सिंगापुरले ७ अंक बटुलि विजेता बन्यो । पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान अनुरुप सिंगापुरले पहिलो पटक ग्लोबल छनोटमा खेल्ने छ ।

दुई खेलमात्र जितेको नेपाल ४ अंकसहित तेस्रो स्थानमा रहयो । नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटको स्तब्ध हार बेहोरेको थियो । ४ नै अंक भए पनि नेपाललाई रन रेटमा उछिन्दै कतार दोस्रो स्थानमा रहयो ।

अस्ट्रेलियाको बिग बासमा पर्थ स्क्रोचर्सबाट खेल्न टिम डेबिडले ४३ बलमा ७७ रन बनाएपछि घरेलु टोली सिंगापुरले विशाल स्कोर बनायो । उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनले रोहन रंगराजनसँग दोस्रो विकेटमा ८९ रनको साझेदारी गरे । रंगराजनले ३३ बलमा ४९ रन बनाउदा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मनप्रित सिंहले २७ बलमा २ चौका र ३ छक्का प्रहार गरी ४२ रन बनाए ।

नेपालका अविनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । स्पिनर वसन्त रेग्मीले ४ ओभरमा ५४ रन खर्चन पुगेका थिए ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ३ ओभरमा २७ रन जोडी नेपाललाई राम्रै सुरुआत दिलाएका थिए । चौथो ओभरको पहिलो बलमै पारस १२ रनमा आउट भए । पावर प्लेको अन्तिम ओभरमा ज्ञानेन्द्र मल्लले २ छक्का र २ चौका सहित २० रन प्रहार गरे । आठौं ओभरमा ज्ञानेन्द्र २१ बलमा ३९ रन बनाई आउट भए । उनले चार चौको ३ छक्का प्रहार गरे ।

शरद भेषावकर ७, दीपेन्द्रसिंह ऐरी २३, रोहित पौडेल ५, विनोद भण्डारी ९, करण शुन्य, सोमपाल कामी ११ रनमा आउट भए । सिंगापुरका सेलाडोर विजयकुमारले ४ ओभरमा २५ रन खर्चेर ४ र विनोद भास्करनले २ विकेट लिए ।

तस्बिर सौजन्य : कौशल अधिकारी/क्रिकेटिङ नेपाल

प्रकाशित : श्रावण १२, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?