१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रियलको लज्जास्पद हार

एएफपी

न्युयोर्क — डिएगो कोस्टाले ४ गोल गरेपछि प्रि–सिजन टूरअन्तर्गत न्युयोर्कस्थित मेटलाइफ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिडले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध ७–३ गोलको फराकिलो जित हासिल गरेको छ ।

कोस्टाले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । ६५ औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नुअघि १ गोल थपे । रोमान्चक र तनावपूर्ण खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।


‘हामीले निकै खराब स्थितिबाट खेल सुरु गर्‍यौं,’ रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘सबै खेलाडी राम्रोसँग जानकार छन् कि यो निराशाजनक नतिजा हो । तर हामी यसैमा अल्झिनु आवश्यक छैन । यो प्रि–सिजन खेल हो । उनीहरू यो जितको हकदार थिए ।’


म्याड्रिडका दुई परस्पर विरोधी क्लबले युरोपबाहिर खेलेको पहिलो खेलमा जिदानको टिमका लागि यो निराशाजनक रात साबित भयो । नतिजाबाहेक २४ औं मिनेटमा सर्बियन स्ट्राइकर लुका जोभिक एट्लेटिकोको गोलरक्षक जान ओब्लाकसँगको ट्याकलबाट चोटग्रस्त हुँदै मैदान बाहिरिनु पनि जिदानलाई ठूलो झट्का थियो ।


बेन्फिकाबाट १२६ मिलियन युरोमा यसै सिजन अनुबन्ध गरिएका १९ वर्षीय पोर्चुगिज स्ट्राइकर जोआओ फेलिक्सले एट्लेटिकोका लागि पहिलो गोल गरे । अरु दुई गोललाई पास उपलब्ध गराए । एंगेल कोर्रियाले पनि एट्लेकिकोबाट गोल गरे । उनले दोस्रो हाफको सुरुमै गोल गरी एट्लेटिकोलाई ६–० को अग्रता दिलाए ।


कोस्टाले पहिलो मिनेटमै गोल गरेका थिए, फेलिक्सको सानदार पासमा गोल सम्भव भएको हो । आठौं मिनेटमा फेलिक्सले साउल निगुजको पासमा गोल गरेका हुन् । १९ औं मिनेटमा कोर्रियाले बायाँ क्षेत्रबाट गरेको प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टवाले पत्तै पाउन सकेनन् । २८ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरी एट्लेटिकोलाई ४–० को अग्रता दिलाए । इस्कोले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि प्राप्त पेनाल्टी सदुपयोग गरी पहिलो हाफमा ह्याट्रिक पूरा गरे ।


कोस्टाले ५१ औं मिनेटमा फेलिक्ससँगको तालमेलमा चौथो गोल पूरा गरे । ५९ औं मिनेटमा इडेन हाजार्डले नाचोको पासमा रियलबाट पहिलो गोल गरे । केही मिनेटपछि रियलका डानियल कार्भाजल र एट्लेटिकोका थोमस लेमरको ट्याकलले खेल तनावपूर्ण बन्यो । रेफ्रीले कार्भाजल र झगडामा सहभागी कोस्टा दुवैलाई रातो कार्ड देखाए ।


एट्लेटिकोका लागि ७० औं मिनेटमा वैकल्पिक स्ट्राइकर भिटोलोले चार डिफेन्डर बिट गर्दै आकर्षक गोल गरे । करिम बेन्जेमाले ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने चार मिनेटपछि जाभी हर्नान्डेजले गोल थपेपछि रियलको हार अन्तर कम भयो ।

प्रकाशित : श्रावण १२, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?