कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व ट्वान्टी–२० एसिया छनोट : पीडा बिर्साउने अवसर

विनोद पाण्डे

काठमाडौँ — कप्तान पारस खड्काले ५० ओभरको खेलमा नेपालबाट चार शतक बनाइसकेका छन् । उनी नेपालबाट सर्वाधिक शतक बनाउने खेलाडी हुन् । त्यसमा कुवेतसँग ७ वर्षअघि बनाएको शतक पारसका लागि विशेष छ । उनको एकदिवसीयमा यो पहिलो शतक थियो । 

विश्व ट्वान्टी–२० एसिया छनोट : पीडा बिर्साउने अवसर

यो शतकमा पीडा पनि उत्तिकै रह्यो । कारण पारसको शतकका बावजुद नेपाल सन् २०१२ को एसीसी ट्रफीमा कुवेतसँग अप्रत्याशित हार बेहोर्न बाध्य भयो । जबसम्म टिमले जित्दैन तबसम्म पारस व्यक्तिगत उपलब्धिलाई सफलताका रूपमा लिँदैनन् । यूएईको अलधाइदमा पारसको शतक पनि काम लागेन भने नेपालले खासै ठूलो नमानिएको कुवेतलाई जित्न पनि सकेन ।


पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाई ८० रनमात्र बनाएको थियो । पारस क्रिजमा आउनेबित्तिकै आक्रामक स्वरुप देखाउँदै ७७ बलमै ७ चौका र ४ छक्का प्रहार गरी १ सय ६ रन बनाए । नेपालले पछिल्लो २५ ओभरमा २ सय रन बनाउँदै २८०–४ को स्कोर बनायो । कुवेतले पनि पारसको शैलीमा जवाफ दियो पूरै आक्रामक भएर । पहिलो १० ओभरमै ९२ रन जोडेको कुवेतले ४७ ओभरभित्र २ सय ८५ रन जोड्दै लक्ष्य पूरा गरेपछि नेपाल स्तब्ध नै भयो ।


स्तब्ध यसकारण कि विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको नेपालले कुवेतसँग पराजय भोग्नुपर्ला भनेर सोचेको पनि थिएन । अर्को त्यति ठूलो स्कोर बनाएर पनि रक्षा गर्न नसकिएला भन्ने नेपाली टोलीको कल्पनाबाहिर थियो ।


नेपालले विश्व ट्वान्टी–२० को एसिया छनोटको सिंगापुर यात्रामा शनिबार कुवेतको सामना गर्दा पारससहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, प्रदीप ऐरीका लागि यो क्षण ताजै बन्नेछ । कुवेतसँग नसोचिएको हार बेहोर्दाका साक्षी यी चार खेलाडी अहिले नेपाली टोलीसँग छन् ।


कुवेतजस्तै नेपाललाई सिंगापुरमा अर्को गल्फ राष्ट्र कतारले पहिलो खेलमै झस्काइदिएको छ । आफ्नो पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपछि विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको यात्रा धर्मराउन पुगेको थियो । नेपालका लागि अझ चिन्ताको विषय पारसले कतारसँग ब्याटिङ गर्दा ढाडमा समस्या भोगेपछि फिल्डिङ गर्न मैदान ओर्लिएनन् । उनले सोही कारण मलेसियासँगको खेल गुमाएका थिए ।


मलेसियालाई दोस्रो खेलमा ७ विकेटले पराजित गर्दै नेपाल लयमा फर्किएको छ । नेपाललाई ठूलो राहत त्यसमा ज्ञानेन्द्र मल्लले बनाएको अर्धशतक थियो, जसले नेपालको सहज जितको बाटो कोर्‍यो । पारसको स्थानमा कप्तानी गरेका ज्ञानेन्द्रले २० बलमै अर्धशतक बनाए । यो नेपाली खेलाडीको टान्टी–२० अन्तर्राष्ट्रियमा तीव्र अर्धशतक हो । ज्ञानेन्द्रको अर्धशतक त्यो समयमा आएको छ, जतिखेर उनको प्रदर्शनलाई लिएर आलोचनाको गुन्जन थालेको थियो । ज्ञानेन्द्रले ट्वान्टी–२० मा पहिलो अर्धशतक बनाउनु विश्व ट्वान्टी–२० एसिया छनोटको महत्त्वपूर्ण समयमा नेपालका लागि पनि ठूलो राहत बनेको छ ।


नेपालको २ खेलमा २ अंक छ । नेपालले शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्दै छ । विजेता बन्न नेपाललाई दुवै खेल जित्नैपर्ने बाध्यता छ । प्रतियोगिताको विजेतामात्र अक्टोबर–नोभेम्बरमा यूएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्नेछ । आयोजक सिंगापुर ३ अंकसहित शीर्षस्थानमा छ । मलेसियाको पनि २ नै अंक भए पनि नेपालभन्दा रन रेटमाथि छ । कतारसँग पनि २ अंक छ र रनरेटका आधारमा मलेसिया र नेपालभन्दा तल छ ।


कुवेतले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । पहिलो खेलमा टोली मलेसियासँग ४१ रनले पराजित भएको थियो । मलेसियाले बनाएको १ सय ८६ रनको जवाफमा कुवेतले ९ विकेट गुमाई १ सय ५३ रनमात्र बनाएको थियो । सिंगापुरसँग कुवेतको दोस्रो खेल भने वर्षाले पूरै प्रभावित पारेपछि रद्द हुन पुगेको थियो ।


फेरि प्रश्न पारसलाई लिएर नै छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट शतक बनाउने एक्लो खेलाडी उनी कुवेतसँग खेल्न सक्ने नसक्ने निश्चित छैन । उनी खेल्न नसकेमा ज्ञानेन्द्रले पुनः एउटा कप्तानी इनिङ्स खेल्नुपर्ने हुन्छ । पारस खेलेमा उनले कुवेतसँग आफूले बनाएको पहिलो शतक बिर्सने छैनन् र सम्भवतः त्यो हार पनि ।

प्रकाशित : श्रावण १०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?