नेपाललाई शृंखला

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेपछि नेपालले जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि मनोबल उच्च पारेको छ । 

मलेसियाविरुद्धको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेपछि नेपालका कप्तान पारस खड्का ट्रफीसाथ । आइतबार नेपाल ६ रनले विजयी भयो ।

नेपाल र मलेसिया दुवै सिंगापुरमाहुने प्रतियोगिता तयारीमा छन् । यीबाहेक कुवेत, सिंगापुर र कतार प्रतिस्पर्धी छन् ।पहिलो खेलमा ७ विकेटको जित पाएको नेपालले आइतबार दोस्रो खेलमा ६ रनको रोमाञ्चक जित निकाल्यो । शृंखला क्लिन स्वीप गर्ने क्रममा नेपालले ट्वान्टी–२० क्रिकेटमा आफ्नो सर्वाधिक योगफल रक्षा गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले सुरुआती १० ओभर नेपालमाथि दबाब दियो । पहिलो विकेटमा विरनदीप सिंह र सइद अजिजले ७५ रनको साझेदारी गरेका थिए । ९.४ ओभरमा अविनाश बोहराले २३ रन बनाएर खेलिरहेका सिंहलाई विनोद भण्डारीको हातबाट क्याचआउट गरेपछि मलेसियाको गति सुस्ताएको हो । अर्को ओभरको पहिलो बलमै सोमपाल कामीले अजिजलाई ५० रनको स्कोरमा आउट गरे ।

मलेसियाका सकिफ सरिफ १० र अनवार अरुद्दिन ७ रन बनाएर पेभेलियन फर्किए । १५.५ ओभरमा कप्तान अहमद फाइजलाई सन्दीप लामिछानेले १७ रनको स्कोरमा आउट गरेपछि मलेसिया ११५–५ को स्थितिमा पुगेको थियो । छैटौं नम्बरमा आएका अनिमुल राम्लीले ११ बलमा ३ छक्कासहित २४ रन प्रहारगरेपछि नेपाल खतरामा परेको थियो । कप्तान पारस खड्काले उनलाई सोमपाल कामीको हातबाट क्याचआउट गराए । त्यसअघि राम्लीले पारसको त्यो ओभरमा तीन छक्का प्रहार गरिसकेका थिए ।

मलेसियालाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । अविनाशको पहिलो बलमा फित्री सामले लेगबाइ रन लिए । दोस्रो बलमा मोहम्मद सियादातले २ रन लिए पनि त्यसपछि ३ बलमा रन दिएनन् । अन्तिम बलमा उनले चौका प्रहार गर्दै ११ बलमा २१ रन जोडे पनि मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र जोड्न सक्यो । बलिङमा सोमपाल कामी र सन्दीपले २–२ तथा पारस, अविनाश र करण केसीले १–१ विकेट लिए ।

‘मलेसियाविरुद्ध हाम्रा लागि यो खेल कठिन भयो । समग्रमा हामीले शतप्रतिशत नतिजा निकाल्न सक्यौं, खुसी छौं । शरद र विनोदले ब्याटिङमा निकै राम्रो गरे । बलिङमा अविनाशको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले उसलाई जुन जिम्मेवारीका लागि
तयार गरिरहेका छौं, त्यस्तै प्रदर्शन गरेको छ,’ नेपालले ऐतिहासिक रूपमा शृंखला क्लिन स्वीप गरेपछि कप्तान पारसले भने, ‘सिंगापुरको प्रतियोगिताका लागि राम्रो तयारी भइरहेको छ । हामीले एकरुपको प्रदर्शनलाई प्रयास गरिरहेका छौं ।’
नेपाली टोली अझै एक साता मलेसियामै रहेर तयारी गर्नेछ । ‘ब्याटिङमा अझै राम्रो गर्नुपर्छ ।बलिङ र फिल्डिङमा पनि सुधार गर्ने ठाउँ छन् । मलेसियाको आजको प्रदर्शन हेर्दा हामीले विपक्षीलाई कमजोर मान्नुहुँदैन भन्ने सन्देश पनि दिएको छ,’ पारसले थपे ।

किन्रारा ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १ सय ७३ रनको योगफल खडा गर्दा मध्यक्रमका विनोद भण्डारीले इनिङ्स अन्त्यतिर विष्फोटक ब्याटिङ गरे । २५ बल खेलेका विनोदले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरी अर्धशतक पूरा गरे । उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ५१ रनको महत्त्वपूर्ण योगदान गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट तीव्र गतिमा अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेका विनोदको यो पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पनि हो ।

छैटौं नम्बरमा ब्याटिङमा आएका उनले शरद भेषावकर (४०) सँग २९, करण केसी (१६) सँग ३३ र सोमपाल कामीसँग २३ रनको अविजित साझेदारी गरे । यसअघि पारस र पवन सर्राफले पहिलो विकेटमा ३४ रनको साझेदारी गरे । पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउट भएपछि आएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।

मलेसियाका फित्री सामले छैटौं ओभरको दोस्रो र तेस्रो बलमा क्रमशः ज्ञानेन्द्र ७ र कप्तान पारस २३ रनमा आउट गरेपछि नेपाल ४२–३ को कमजोर स्थितिमा पुगेको थियो । तर यू–१९ कप्तान रोहितकुमार पौडेल र भेट्रान शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालको इनिङ्स उकासिएको हो । रोहितले १९ र शरदले २८ बलमा ४ चौका र २ छक्कासहित ४० रनको योगदान गरे ।

प्रकाशित : असार ३०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

जति ब्याज उति बोझ

सम्पादकीय

सहरमा बस्ने, त्यसमा पनि धनीमानीले सस्तो ब्याजदरमा ऋण पाउँछन् । सहरबाट बिस्तारै ग्रामीण भेग, त्यसमा पनि झन् गरिबले ‘ख’, ‘ग’ वा ‘घ’ वर्गका वित्तीय संस्थाबाट ऋण लिनुपर्छ, जसले १५ देखि ३० प्रतिशतसम्म ब्याज लिन्छन् । जति बढी ब्याज उति बोझ ।

कान्तिपुर दैनिकले शुक्रबार राजधानीमा आयोजना गरेको मौद्रिक नीति विशेष कान्तिपुर राउन्डटेबलका सहभागी । तस्बिरहरू : किरण पाण्डे र इलिट जोशी/कान्तिपुर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मस्यौदालाई आखिरी रूप दिन लागेका बेला फेरि पनि मुख्य विषय तिनै छन् । सर्वसाधारणले उद्यम गर्न खोज्दा सहज र सस्तो दरमा बैंकबाट ऋण पाउने व्यवस्था हुन्छ कि हुँदैन ?

ऋण दिन राष्ट्र बैंकले प्राथमिकता निर्धारण गरेको उत्पादनमूलक क्षेत्र र अनुत्पादक क्षेत्र पुनर्विचार गर्न सक्छ कि सक्दैन ? राष्ट्र बैंकले भनेको उत्पादक र अनुत्पादक क्षेत्रबारे जनस्तरमा पनि चेतनाको अभाव छ । राष्ट्र बैंककै अनुसार हालसम्म वित्तीय साक्षरता कुल जनसंख्याको ४० देखि ४५ प्रतिशतसम्म मात्रै छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३० वटामा मात्रै बैंकका शाखा पुगेका छन् । सबैमा पुर्‍याउने व्यवस्था गर्न खोजिन्छ कि खोजिँदैन ? शाखा पुगेर मात्र हुँदैन । सर्वसाधारणले कुन स्तरको वित्तीय सेवा पाएका छन् ? वित्तीय पहुँच र वित्तीय साक्षरता बढाउने दिशानिर्देश गरिन्छ कि गरिँदैन ?

घरघडेरी किन्दा होस् या व्यवसाय सुरु गर्दा ८/१० प्रतिशत ब्याजदर ऋण लिएको महिना नबित्दै दोब्बर भइदिन्छ । ब्याजदरको अस्थिरताले उद्योग व्यवसायदेखि उपभोक्ताले पाउने सामग्रीको लागतमा उतारचढाव गरिदिन्छ, जसले समग्र अर्थतन्त्रलाई अस्थिर बनाइरहेको छ । बैंकहरूका अनुसार ६ प्रतिशतको ब्याज १२ प्रतिशत पुर्‍याउनु पैसाको अभाव हो । बैंकमा पैसा पुग्ने मुख्य स्रोत सरकारी बजेट हो । बजेट आर्थिक वर्षको सुरुका महिनामा खर्च हुँदैन । भए पनि अन्तिम महिनामा आउँछ । त्यो पैसा घुम्दै–घुम्दै बचतका रूपमा बैंकमा बल्ल साउन र भदौमा पुग्छ ।

बैंकर र व्यवसायी एउटै हुनु अर्को समस्या हो । उद्योग व्यवसायीको मञ्चले ब्याज घटाउनुपर्छ भन्ने, व्यवसायीको आफ्नै स्वामित्वको बैंकले बैकर्स संघमा बसेर ब्याजदर तोक्ने विसंगति रोक्न सकिन्छ कि सकिँदैन ? राष्ट्र बैंकले बैंकर र व्यवसायीछुट्याउने भनेको वर्षौं भइसक्यो, सकेको छैन । यसपटक गभर्नर चिरञ्जीवी नेपालले छुट्याएरै छाड्ने भनेका छन्, कार्यान्वयन गर्न सक्छन् कि सक्दैनन् ?

मुलुकको वित्तीय स्वास्थ्यसँग सत्ता सञ्चालकको साँठगाँठ सिर्जित स्वार्थ हाबी हुने गरेको छ । बैंक तथा वित्तीय संस्थाको इजाजत, नियमन र कारबाहीमा अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत मुछिएका घटना आउनुले त्यही दर्शाउँछ । राष्ट्र बैंकले आफ्नो स्वायत्ततामाथि उठ्ने प्रश्नसामु निर्भीकतासाथ उभिने आँट गर्न सक्नुपर्छ । उसले सुधारको प्रयास नगरेको होइन । २ अर्ब चुक्ता पुँजी जुटाउनेले बैंक खोले । २०७३ सालमा बैंकको चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गरियो । अहिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदैमा वित्तीय क्षेत्रको गुणस्तर बढ्छ ? बैंकहरू आपसी प्रतिस्पर्धामा उत्रिन्छन् कि झन् एकाधिकारमा मग्न हुन्छन् ?

उच्च आर्थिक वृद्धिलाई सघाउन विस्तारकारी नीति चाहिन्छ भने मूल्य नियन्त्रण र स्थायित्वका लागि संकुचनकारी । बैंक तथा वित्तीय संस्था मर्जरको नीति लिएको राष्ट्र बैंकले गाभिन बाध्य पार्ला भनेर यो क्षेत्र बढी तातेको छ । हालको बहस सुन्दा यसपटक यही कार्यसूची मात्रै हो कि भन्ने भान पर्न गएको बारे राष्ट्र बैंक चनाखो हुनुपर्छ ।

सर्वसाधारणलाई वित्तीय ज्ञान, आफ्नो व्यापार व्यवसायका लागि सस्तोमा ऋण, उच्च ब्याजदरमा बचत र पैसासम्म सहज पहुँच चाहिएको छ । यसका लागि राष्ट्र बैंक गम्भीर समीक्षासाथ निर्भीक निष्कर्षमा पुग्न सक्छ कि सक्दैन ?

प्रकाशित : असार ३०, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्