सेरेना उपाधितर्फ केन्द्रित

विम्बल्डन ओपन
(एएफपी)

लन्डन — सेरेना विलियम्स बिनापीडा राम्रो अवस्थामा रहेकाले विम्बल्डन ओपनको उपाधि जित्न शतप्रतिशत केन्द्रित रहेको उनका प्रशिक्षक प्याट्रिक मोउरातोग्लोउले बुधबार बताएका छन् । बच्चा जन्माएपछि ३७ वर्षीया सेरेना कडा मिहिनेत गर्दै पुनरागमन गरिरहेकी छन् ।

थुप्रै चोटको समस्याबाट गुज्रिएकी उनी प्रशिक्षकका अनुसार मार्गरेट कोर्टको कीर्तिमान २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्ने लक्ष्यमा रहेकी छन् । अमेरिकी खेलाडीको ‘ट्रेडमार्क’ शैलीको खेल चाखलाग्दो रूपमा अर्को तहमा फर्किएको छ । उनले फेरि पनि आफ्नो लय समातेको प्रशिक्षकले बताए ।

११ औं वरीयताकी सेरेनाले सेमिफाइनलमा बिहीबार ५४ औं विश्व वरीयताकी चेक गणतन्त्रकी बारबोरा स्ट्रेकोभाको सामना गर्नेछिन् । ‘यो क्षणमा उनी राम्रो अवस्थामा छिन् । उनी खुसी छन्,’ प्याट्रिकले भने, ‘उनका पति यहाँ छन् । उनका छोरी यहाँ छिन् । उनी अहिले तीन साताका लागि पीडारहित अवस्थामा छिन् ।’

‘हरेक दिन पीडामा केन्द्रित हुँदा प्रतियोगितामा तयारी गर्नका लागि धेरै कठिन हुन्छ,’ प्रशिक्षक प्याट्रिकले भने, ‘पीडासहित प्रतिस्पर्धा गरेको अवस्थामा खेलमा केन्द्रित हुन गाह्रो हुन्छ किनभने पीडित भएको अवस्थामा हुन्छ । अब अवस्थामा फरक छ । जब उनले खेलिरहेकी हुन्छिन्, त्यस बेला उनी खेल र जितप्रति शतप्रतिशत केन्द्रित भइरहेकी हुन्छिन् । उनले आफ्नो स्तर आवश्यक भएको बेला उकासेकी छन् । त्यो उनको ट्रेडमार्क हो । उनी फर्किएकी छिन् । त्यसैले सबथोक सकारात्मक छ ।’

४९ वर्षीय यी ग्रिक–फ्रेन्च प्रशिक्षकले सेरेनासँग सन् २०१२ यता निरन्तर सहकार्य गरिरहेका छन् । यो सहकार्यले अमेरिकी खेलाडीको ग्रान्डस्लामको सिंगल्समा २३ उपाधिमध्ये १० वटा हात पारेको छ । अस्ट्रेलियाली महान्खेलाडी कोर्टले सन् १९६० देखि १९७३ सम्मको अवधिमा २४ ग्रान्डस्लाम जितेकी थिइन् ।

प्याट्रिकले सेरेना सुरुबाटै बिम्बल्डन जित्दै कोर्टको सफलतालाई उछिन्नेमा केन्द्रित भएकी बताएका छन् । ‘त्यसैका लागि उनी बच्चा जन्माएर स्वास्थ्यमा थुप्रै समस्या बाबजुद पनि टेनिस खेल्न फर्किएकी हुन् । उनी जसरी ऊर्जा लगाएकी छन्, यस्तो मैले कहिल्यै देखेको थिएन । त्यो स्तरमा फर्किन उनले गरेको कठिन मिहिनेतबारे तपाईलाई कुनै आइडिया छैन । उनी त्यसैका लागि फर्किएकी हुन् । यो उनका लागि सम्भवत् धेरै हुनेछ, जब सफलतापाउने छिन् ।’

सातपल्टकी बिम्बल्डन च्याम्पियन सेरेनाले घुँडाको समस्याको कारण फ्रेन्च ओपन गुमाएकी थिइन् । त्यसका लागि उनले पेरिसका चिकित्सकसँग निश्चित गरेकी थिइन् । प्रशिक्षकले उनलाई खेलको अभ्यास कम भएर पनि बिम्बल्डनका लागि तयार गरेको हुनसक्छ ।

‘उनी राम्रो तयारीमै रहेकी भए पनि उनले पहिलो खेलमा राम्रो टेनिस खेलेकी छैनन् । उनी धेरै समय लय समात्नै संघर्षरत थिइन्,’ प्रतिद्वन्द्वीहरू बाहिरिइरहेकोबारे उनले भने, ‘हरेक खेलपछि मलाई त्यो थाह छ । उनी राम्रोमाथि राम्रो भइरहेकी छन् ।’

बिहीबारै अर्को सेमिफाइनलमा सातौं वरीयताकी सिमोना हालेपले आठौं स्थानकी एलिना स्भितोलिनाविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।

प्रकाशित : असार २६, २०७६ १०:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती राजदूतले दिए राजीनामा

(एएफपी)

लन्डन — अमेरिकाका लागि बेलायती राजदूत सर किम ड्यारोकले राजीनामा दिएका छन् । उनको ईमेल चुहावटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तिक्तता बढेकै बेला यो राजीनामा आएको हो ।

सर किमले ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्बन्ध सुधार र बेलायती चासोबारे पटक–पटक बुझाउने प्रयास गरे पनि सफल हुन सकिनँ’ उनले राजीनामा पत्रमा लेखेका छन, ‘मैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भवजस्तै भएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु ।’

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वासमा पनि आफूले राजीनामा दिएको बताए । उनले राजीनामाबारे प्रधानमन्त्री टेरेजा मेले संसद्मा जानकारी पनि दिइसकेको र राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रमबाट धन्यवादसमेत पाइसकेको बताए । ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूतकिमको आलोचना गरेका थिए ।

राष्ट्रपति ट्रम्पले राजदूत सर किमसँग ‘व्यवहारै नगर्ने’ भनेका थिए । बेलायतले भने आफ्नो राजदूतप्रति ‘प्रधानमन्त्रीको पूर्ण समर्थन रहेको’ प्रतिक्रिया मंगलबार दोहराएको थियो । ‘डाउनिङ स्ट्रिट’ ले आफ्ना राजदूत सर किमप्रति ‘पूर्ण समर्थन’ रहेको भनेको थियो । सर किमको ईमेल चुहावटपछि बेलायती सरकारले यसबारे जाँचको आदेश दिएको थियो ।

‘बीबीसी’ का कूटनीतिक संवाददाता जेम्स लेन्डनका अनुसार ट्रम्पले सर किमप्रति जुन प्रतिक्रिया व्यक्त गरे, त्यो आफ्नो मुलुकबाट विदेशी कूटनीतिकलाई देशबाहिर पठाउने औपचारिक कानुनी प्रक्रिया नै हो । राष्ट्रपति ट्रम्पले आफ्नो टीटमा जुन शब्दको प्रयोग गरेका थिए, त्यसले सर किमलाई बेलायत फिर्ता हुने भनेको विश्लेषण गरिएको थियो ।

प्रकाशित : असार २६, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT