कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रित दुई शतक बनाउने पहिलो

काठमाडौँ — रित गौतम उमेर समूहमा नेपालबाट दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनको शतकमा नेपाल शुक्रबार सिंगापुरलाई २ सय १७ रनले पराजित गरी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको समूह ‘ए’ को विजेता बनेको छ । 

रित दुई शतक बनाउने पहिलो

ओपनर रितको अविजित १ सय १५ रनमा टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा ४ विकेट गुमाई ३ सय २६ रन बनायो । जवाफमा आएको सिंगापुरलाई नेपालले ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट गर्‍यो ।


नेपालले अघिल्लो दिन चीनलाई १० विकेटले पराजित गरेको थियो । नेपालसँग पराजित भए पनि सिंगापुर यसअघि नै समूह ‘ए’ को उपविजेता रूपमा सेमिफाइनलमा पुगिसकेको छ । नेपालले सोमबार हुने सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ मा हङकङ र मलेसियाको समान ४ अंक छ । यी दुई टोली नै शनिबार अन्तिम खेल खेल्दै छन् ।


रितले दुई वर्षअघि थाइल्यान्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजनमा म्यानमारसँग अविजित १ सय ६ रन बनाएका थिए । यसअघि कुनै नेपाली खेलाडीले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई शतक बनाएका छैनन् । २०१५ मै मलेसियामा युगान्डासँग यू–१९ विश्वकप छनोटमा राजु रिजालले १ सय १ रन बनाए यता नेपाली खेलाडीले पहिलो पटक यू–१९ मा शतक बनाएका हुन् । रितले पवन सर्राफसँग पहिलो विकेटमा ८९ बलमा ९२ र खडकबहादुर बोहरासँग दोस्रो विकेटमा १ सय ४८ बलमा १ सय ३१ रन जोडे । रितले १ सय ३७ बलको इनिङ्समा १० चौका र १ छक्का प्रहार गरे । पवनले ४१ बलमा ४५ रन बनाउँदा १० चौका प्रहार गरे । खडक ९० रनमा आउट भए । ९० नै बल खेलेका उनले १२ चौका प्रहार गरे । विशालविक्रम केसी १ र कप्तान रोहितकुमार पौडेल ७ रनमा आउट भए ।


कुशल मल्ल २३ बलमा ५१ रन बनाई अविजित रहे । उनले ४ चौका र ५ छक्का प्रहार गर्दै रितसँग ४२ बलमै अविजित ८२ रन जोडे । सिंगापुरका विनित मेहेता र प्रणव कृष्णनले २–२ विकेट लिए । कृष्णनले सोक्रममा ८ ओभरमा ८१ रन खर्चेका थिए । सिंगापुरबाट ओपनर सतिश कन्नुसामीले २४, हरि कुक्रेजाले ३० र चन्द्रमाउली श्रीदेवले २३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नेपालबाट कुशलले ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे । तिलकराज भण्डारीले २ तथा रशिद खान र सागर ढकालले १–१ विकेट लिए ।


प्रकाशित : असार २१, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?