कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट सिक्दै दृष्टिविहीन

सुवास बिडारी

मकवानपुर — मकवानपुर जिल्लामा रहेका दृष्टिविहीन दैनिक क्रिकेट प्रशिक्षणमा जुटिरहेका छन् । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा रहेको क्रिकेट पिचमा उनीहरू दैनिक क्रिकेट प्रशिक्षण गरिरहेका छन् ।

क्रिकेट सिक्दै दृष्टिविहीन

पछिल्लो समय देशभर नेत्रहीन क्रिकेट खेल्नेको संख्या बढेसँगै मकवानपुर नेत्रहीन संघले नेत्रहीन पुनर्स्थापना कार्यक्रमअन्तर्गत उनीहरूलाई क्रिकेट खेल्ने वातावरण तयार गरिदिएको हो ।


लोकतान्त्रिक मैदानमा हाल दैनिक १७ दृष्टिविहीनलाई तीन प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । नेत्रहीन क्रिकेटमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अनुभव समेत बटुलिसकेका रामप्रसाद पौडेल, गीता पौडेल र भूपराज पाठकले प्रशिक्षण दिइरहेका हुन् । प्रशिक्षणमा सहभागीमध्ये आठ महिला छन् ।


‘हामीले अब हुने राष्ट्रिय प्रतियोगिताका लागि महिला र पुरुष टोली नै तयार पार्ने गरी अगाडि बढिरहेका छौं,’ नेत्रहीन संघका क्षेत्रीय कार्यक्रम अधिकृत प्रेम महर्जनले भने, ‘त्यसका लागि आवश्यक सहयोग जुटाउने गरी अगाडि बढिरहेका छौं ।’ उनले प्रशिक्षणमा अझै खेलाडी थपिने र त्यसका लागि आवश्यक सामग्रीसमेत व्यवस्था गर्न तयार रहेको बताए । उनले हेटौंडा उपमहानगरपालिकको सहयोगमा पाँचदिने प्रशिक्षण सिविर सञ्चालन गरेर प्रशिक्षणको सुरुआत गरेको बताए । मकवानपुर जिल्लामा करिब एक हजार नेत्रहीन छन् ।


हेटौंडा–५, पिल्लेका सुजन घिमिरेले ब्याटिङ गर्न सजिलो भए पनि बलिङ गर्न केही गाह्रो भएको अनुभव सुनाए । उनले दैनिक प्रशिक्षण भए अझै खेल्न सहज हुने बताए । राक्सिराङ गाउँपालिका काँकडाकी विनिता चेपाङले दैनिक क्रिकेट प्रशिक्षणमा सहभागी हुँदा बेग्लै आनन्द मिलेको बताइन् । उनले क्रिकेट खेलाडी बन्छु भन्ने नसोचेको र अहिले बलिङ, ब्याटिङ र फिल्डिङ गर्दा नौलो अनुभव भएको बताइन् । ‘सुरुमा नियम नबुझेर गाह्रो भएको थियो तर अहिले सहज भइरहेको छ,’ उनले भनिन् ।


प्रशिक्षण गराइरहेका रामप्रसाद पौडेलले सुरुमा सिकाउन धेरै समस्या भए पनि अहिले भने रमाइलो अनुभव भइरहेको बताए । उनले दिनप्रतिदिन खेलाडी खेलमा रमाउन थालेको र त्यसले गर्दा प्रशिक्षण गराउन समेत सहजता भएको बताए ।

प्रकाशित : असार १४, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?