इतिहास कोरेका प्रिन्स

काठमाडौँ — नेपालमा धेरै लामो र समृद्ध इतिहास भएको खेलमा पर्छ ब्याडमिन्टन । त्यसमा नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा तहल्का मच्चाएका घटनाहरू धेरै छन् । एउटा यस्तै प्रदर्शन वर्ष २०७५ मा किशोर खेलाडी प्रिन्स दाहालले दिएका छन् ।

इतिहास कोरेका प्रिन्स

उनले यूएईमा भएको दुबई इन्टरनेसनल जुनियर सिरिजमा स्वर्ण जितेका थिए । यो त्यस्तो उपलब्धि थियो, जसले प्रिन्सलाई रातारात चर्चाको शिखरमा पुर्‍यायो । धेरैलाई भन्न कर लाग्यो, को हुन् ब्यान्डमिन्टनका प्रिन्स ?

दार्चुलामा जन्मिएका किशोर प्रतिभा हुन् प्रिन्स । साँगामा रहेको नेपाल प्रहरीको स्कुलमा भर्ना भएपछि उनी ब्याडमिन्टनतिर तानिएका थिए । अहिले ब्याडमिन्टन उनको जीवनको सर्वाधिक महत्त्वपूर्ण भाग बनेको छ । निकै मिहिनेती छन् प्रिन्स । यही मिहिनेतले उनलाई अन्तर्राष्ट्रियसँग राष्ट्रिय प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्न सक्ने किशोर खेलाडीमा उभ्याएको छ । उनी भन्छन्, ‘मैले नेपालमा धेरै जितें । तर मलाई दुबइमा जितेको स्वर्ण विशेष लाग्छ ।’

नेपाली खेलाडीलाई खेल्न त आउँछ, तर बोल्न आउँदैन । आफ्नै घरभित्र त बोल्न लजाउने प्रिन्सले बाहिर बोल्नुपर्‍यो भने के होला ? ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपल्स च्वाइस अवार्डमा मनोनयनमा पर्दा बोल्ने पालो प्रिन्सको पनि आयो । उनको मुखबाट शब्द नै निस्केन । अवाक पो भए उनी ।

अरू धेरै नेपाली खेलाडी जस्तै उनलाई पनि सबैका अगाडि धेरै बोल्न आउँदैन । मनोनयन घोषणाको कार्यक्रममा प्रिन्सको परिवारका सदस्य पनि उपस्थित थिए । प्रिन्सले बोल्न नसक्दा उनीहरू भने हाँसिरहेका थिए । एक प्रकारले त्यो अपेक्षित थियो । अहिले उनीहरूले योजना बनाएका, अब प्रिन्सलाई बोल्न पनि सिकाउनुपर्छ । धन्न प्रिन्सलाई उनीहरूले राम्रो खेल्न सिकाउनु परेन ।

ब्याडमिन्टनका यी किशोर खेलाडीको र्‍याकेट भने पक्कै बोल्छ र त्यसैले उनलाई वर्ष २०७५ को एउटा चर्चित खेलाडी बनाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतिष्ठित स्पोर्टस अवार्डमा नेपाली ब्याडमिन्टनको साइनो पुरानो छ ।

ब्याडमिन्टनका खेलाडीले बरोबर यसमा अवार्ड जित्दै आएका छन् । प्रिन्स पनि पिपल्स अवार्डका बलियो प्रत्याशी हुन् । स्पोर्टस अवार्डको यो विधामा पाँच प्रत्याशी छन् । त्यसको निर्णय हुनेछ मतका आधारमा । सामाजिक सञ्जाल फेसबुक र मोबाइलको एसएमएसमार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।

किशोर उमेरमै पाएको सफलतामा उनी पक्कै पुल्पुलिएका छैनन्, तर उल्टै थप प्रयास गर्न तयार छन् । उनी भन्छन्, ‘यति ठूलो अवार्डको पिपल्स च्वाइसको विधामा मनोनयन हुँदा म धेरै खुसी छु । मैले सोचकै थिइनँ यसबारे । म एकदमै खुसी छु, व्यक्त गर्ने शब्द नै मसँग छैन ।’ त्यही शब्दको अभावकै कारण उनले मनोनयन घोषणाको दिन खासै बोल्न नसकेका हुन् । जेहोस, उनको यो भनाइमा सबथोक छ, उनको मनको कुरा ।

घरेलु उमेर समूहको प्रतियोगितामा उनलाई जित्ने बानी परेको छ । खेल्यो कि जित्यो । यसको सूची बनाउँदा लामै हुन्छ । हुन सक्छ, प्रिन्सले यो अवार्ड पनि जित्न सक्ने छन् । उनले वास्तवमै यो सफलता चुमेको हेर्ने मन उनका प्रशंसकमा छ भने त्यसको उपाय हो, बढीभन्दा बढी मत दिने । प्रिन्स चुप बस्छन् भनेर उनका प्रशंसक त चुप बस्नुभएन नि ?

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?