कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषणको भुक्तभोगी खेलाडी नै

कुशल तिमल्सिना

काठमाडौँ — राजधानी काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढिरहेको छ । यो सबैले कुनै न कुनै तहबाट महसुस गरिरहेका छन् । प्रदूषण नियन्त्रणका लागि अभियानका रूपमा कान्तिपुर हाफ म्याराथनले यस संस्करणको नारा ‘एन्टी पोलुसन रन’ भनेको छ ।

प्रदूषणको भुक्तभोगी खेलाडी नै

कान्तिपुर हाफ म्याराथनकी सबैभन्दा सफल धाविका कान्छीमाया कोजुले अभियानको प्रशंसा गर्दै प्रदूषणबाट सबैभन्दा भुक्तभोगी खेलाडीहरू नै रहने गरेको बताएकी छन् ।


काठमाडौंमा अधिक जनधनत्वले प्रदूषण पनि बढिरहेको र त्यसको समाधानका लागि प्रभावकारी कदम नचालिएकोमा कान्छीको दुखेसो छ । उनले सञ्चारमाध्यमले खेलकुद प्रतियोगितासँगै प्रदूषणको अभियान थालनी गरेकोमा खुसी व्यक्त गरिन् ।


‘कान्तिपुर हाफ म्याराथन एथलेटिक्सको एउटा ब्रान्ड बनिसकेको छ । यसले प्रदूषणविरुद्धको अभियान सुरु गर्दा आम जनमानसमा यसको सकारात्मक प्रभाव धेरै हुन्छ,’ पूर्व विजेता कान्छीले भनिन्, ‘प्रदूषणले हामी एथलेटिक्स खेलाडीका लागि त झन् प्रत्यक्ष असर पार्छ । आउटडोर प्रशिक्षण, त्यसमाथि लामो दूरी दौडनुपर्छ, वास्तवमा प्रदूषणको बढी भुक्तभोगी त हामी नै छौं होला ।’


यी कीर्तिमानी धाविका शनिबार हुने नवौं कान्तिपुर हाफ म्याराथनमा भने सहभागी हुने छैनन् । पाँचपल्टकी च्याम्पियन कान्छीका लागि यसपल्ट उपाधि ह्याट्रिकको अवसर थियो । किन नखेल्ने त ? उनको सटिक जवाफ छ, ‘तयारी छैन ।’ गत चैत ३ मा पिता कृष्ण कोजुको निधनपछि शोकमा रहेकी कान्छीले त्यसयता प्रशिक्षण गरेकी छैनन् । शोकबाट उत्रन संघर्षरत उनले आठौं राष्ट्रिय खेलकुदमा पनि भाग लिइनन् । लामो ग्यापपछि एकैचोटि प्रतियोगिता नखेल्ने निर्णय गरेको कान्छीले बताइन् ।


‘मलाई कुनै फिजिकल इन्ज्युरी छैन । बुवाको निधनले मलाई ठूलो मानसिक आघात बनायो, म त्यसबाट छुटकारा पाउन प्रयासरत छु, अहिले सामान्य प्रशिक्षण सुरु गरेको छु, यसपल्ट मैले कान्तिपुर हाफ म्याराथनबाट विश्राम लिने भएको छु,’ पाँचपल्टकी विजेता कान्छीले भनिन् ।


एपीएफ क्लबका लागि खेल्दै आएकी कान्छीको हाफ म्याराथनमा पछिल्लो केही वर्ष एकछत्र राज छ । उनी पुरानो विरासत फिर्ता ल्याउन शोकलाई शक्तिमा बदल्ने प्रयासमा छिन् । उनी भन्छिन्, ‘सम्पूर्ण जीवन मैले एथलेटिक्सका लागि सुम्पेको छु । छिट्टै थप आत्मविश्वाससाथ ट्र्याकमा फर्कनेछु ।’


कान्छीले कान्तिपुर हाफ म्याराथनमा ५ संस्करण जितेकी छन् । २०६७ सालमा सुरु पहिलो संस्करण र २०७४/०७५ मा आयोजित पछिल्लो संस्करणकी च्याम्पियन हुन् उनी । यसबाहेक २०६९, ०७० र ०७३ सालमा पनि उनले उपाधि जितेकी थिइन् । यसअघिका लगातार दुई संस्करण विजेता कान्छीका लागि यसपालि ह्याट्रिक अवसर थियो । पुरुषतर्फ हरिकुमार रिमाल पनि ह्याट्रिकको लक्ष्यमा छन् । त्रिभुवन आर्मी क्लबमा उनले पनि यसअघिका दुवै संस्करणको उपाधि जितेका थिए ।


कान्छीको अनुपस्थितिमा आर्मीकी विश्वरुपा बुढा कान्तिपुर हाफ म्याराथनको महिलातर्फ उपाधि दाबेदार बनेकी छन् । २०७१ सालकी च्याम्पियन विश्वरुपाले यसपल्ट आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्य लिएकी छन् । गत वर्ष प्रधानसेनापति खुला म्याराथनमा उनले १ घण्टा १७ मिनेट २० सेकेन्डको व्यक्तिगत उच्च प्रदर्शन कायम गरेकी थिइन् । कान्तिपुर हाफ म्याराथनको २०७३ को संस्करणमा उनले कान्छीसँग ४ सेकेन्डले पछि रहँदै उपविजेतामा चित्त बुझाइन् ।


‘आठौं राष्ट्रिय खेलकुदपछि पूर्ण फिट त भइसकेको छैन । तर आफ्नो व्यक्तिगत समय सुधारको प्रयास गर्नेछु,’ २५ वर्षीया विश्वरुपाले भनिन्, ‘यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई प्रोत्साहन गरेको छ ।’ आठौं राष्ट्रियकी स्वर्णधारी विश्वरुपाले यस संस्करणमा प्रदूषणविरुद्धको दौड अभियान रहेकोमा खुसी व्यक्त गरिन् ।


कान्तिपुर हाफ म्याराथनको यस नवौं संस्करणमा महिला/पुरुष हाफ म्याराथन, ५ किमि कर्पोरेट/मिडिया दौड र हिलचियर दौड हुनेछ । म्याराथनमा ३ हजारभन्दा बढीको सहभागिता अपेक्षा आयोजकले गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?