आशिष च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — झापाको डाइनामिक चेस एकेडेमीका आशिष पाण्डेले काठमाडौं मेयर कप उमेर समूह चेसअन्तर्गत यू-१६ खुलाको उपाधि जितेका छन् । लगातार पाँच राउन्डमा जित पाएका उनले छैंटौ र सातौं राउन्डमा बराबरी खेलेका थिए ।

विधागत विजेता आशिष पाण्डे, एलिशा तामाङ र कुशल बेलवासे ।  

६ अंक बटुलेका उनले प्रोगेसिभ अंकका आधारमा सैनिक आवासीय माविका प्रनीत जोशीलाई पछाडि पारेका थिए । प्रनीतले पनि ६ अंक नै लिएका थिए । अन्नपूर्ण माविका प्रवेश लामा र श्रीमहांकाल माविका विजय टमाटाले पनि ६ अंक बटुलेका थिए । प्रोगेसिभ अंकमा पछाडि रहेका प्रवेश तेस्रो र विजय चौथो भए ।

यू-१२ छात्रातर्फ अन्नपूर्णकी एलिशा तामाङ विजेता भइन् । उनले ख्वपि्रङ एकेडेमीकी अंशुदिल प्रजापतीलाई प्रोगेसिभ अंकमा पछाडि पार्दै उपाधि जितिन् । दुवैले समान ६ अंक बटुलेका थिए । मिसन युथ क्लबकी सन्तोषी बिक ५ अंकसहित तेस्रो स्थान भइन् ।

यू-१२ छात्रतर्फका हेड टु हेड च्यालेन्जमा प्रतिद्वन्द्वीलाई पराजित गर्दै मिसन युथका कुशल बेलवासे विजेता भए । कमलपोखरी स्कुलका अनुपजंग शाह दोस्रो भए । दुवैले समान ६ अंक ल्याएका थिए । साढे ५ अंकसाथ मिसन युथका आश्चर्य चौधरी तेस्रो भए । प्लेयर अफ द गेमको उपाधि भने श्रीमहांकाल माविका विजय टमटाले हात पारे । यू-१२ छात्रामा पुष्पसदनकी सुभाना महर्जन र छात्रमा दीपज्योतिका जसिम मोहम्मद अल सैयद उत्कृष्ट भए । सबै विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्टले जनही ५ हजार पाए ।

मखन चेस क्लबले आयोजनागरेको प्रतियोगिता विजेतालाई कामनपा वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले पुरस्कृत गरे ।

नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

'प्रदूषण कम गर्न सम्भव छ’

कान्तिपुर हाफ म्याराथन
शिल्पा कर्ण

काठमाडौँ — कुनै पनि खेल महोत्सव खाली प्रतिस्पर्धामै मात्र केन्द्रित हुने गर्दैन । यसको सामाजिक प्रभाव उत्तिकै हुन्छ । विशेषतः कुनै पनि म्याराथन दौडले केही न केही सन्देश दिन खोजिरहेकै हुन्छ । फेरि लामो दूरीको दौडको माध्यमबाट समाजलाई छुने खाले सन्देश दिन सजिलो हुन्छ ।

मदनसुन्दर श्रेष्ठमेयर, मध्यपुर थिमी नगरपालिका

यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा नै रहेको छ, 'एन्टी पोलुसन रन' । त्यसो भनेको काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त सहर बनाउन जनचेतना बढाउने ।

विश्वका जति ठूला सहर छन्, त्यहाँ सहरकै नाममा म्याराथन हुने गर्छ । यस्तै एउटा दौड हो, कान्तिपुर हाफ म्याराथन । यसपल्ट यस हाफ म्याराथनले दिएको नाराले उत्साहित बनेका छन्, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ । उनी उपत्यका नगरपालिका फोरमका सचिव पनि हुन् । उनी मान्छन्, काठमाडौ उपत्यकामा प्रदूषण समस्याको समाधान सम्भव छ । उनीसँग प्रदूषण हुनुका कारणहरू छन् । त्यसको सम्भावित समाधानका उपाय पनि ।

कान्तिपुर हाफ म्याराथन र यसले दिएको नाराको सेरोफेरोमा कुराकानी गर्ने क्रममा श्रेष्ठ भन्छन्, 'अहिले उपत्यकाको भू-बनोटले गर्दा मुख्य रूपमा यहाँ वायु प्रदूषण नै मुख्य हो । कहिलेकाहीं यहाँ बस्न लायक छैन पनि भनिन्छ । त्यसमा आंशिक सत्यता मात्र छ । प्रदूषणको मुख्य समस्या सडक छेउमा मात्र हो । यसका लागि सडक कालोपत्रे गर्नुपर्छ । यहाँ गाडी बढी गुड्ने भएकाले त्यसपछि सरसफाइ राम्रोे हुनुपर्छ । त्यसका लागि उपत्यकाका दुवै महानगरपालिकाले ब्रुमर चलाइरहेका छन् ।'

यसले आंशिक सफलता मात्र पाएको देखिन्छ । यसको कारण हो, उपत्यका छिर्ने गाडीले बाहिरबाट धुलो लिएर आउनु । त्यसैले मेयर श्रेष्ठको जिकिर छ, चक्रपथ छिर्ने गाडीलाई सफा गर्ने, चक्का पखाल्ने योजना बनाउनुपर्छ । वायु प्रदूषणको अर्को कारक यहाँ गाडी धेरै गुड्ने भएर पनि हो । उनका अनुसार फोहोर मैला व्यवस्थापनले गर्दा जमिन प्रदूषण भइरहेको छ, विशेष गरेर काठमाडौं महानगरपालिकाभित्र । त्यो नियन्त्रणका लागि सरकारसँग पनि छलफल भइरहेको छ ।

डम्पिङ साइटसम्म पुग्ने सडक बनिरहेको छ । उनले भने, 'फोहोरमैलाको प्रश्नमा सबै स्थानीय तह एक भएर गइरहेका छौं । माटोको प्रदूषण निकै छ र यसको कारण हो रासायनिक मलको प्रयोग । हामीले आफ्नो नगरपालिकामा फोहोरबाट उत्पादित मलको प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं । मध्यपुरका २ वडामा भान्साका फोहोरलाई कम्पोस्ट मल बनाउने जापानी प्रविधि प्रयोग गरिरहेका छौं । चार रोपनी जग्गा भाडामा लिएर यसै मलको प्रयोगबाट तरकारी उत्पादन गरेका छौं ।'

श्रेष्ठ मान्छन्, हाफ म्याराथनका क्रममा दिइएको सन्देशले धेरै हदसम्म आममानिस सचेत हुने छन्। उनी जल प्रदूषणको समस्या पनि सम्बोधन गर्नुपर्ने बेला भइसकेको औंल्याउँछन् । ढल व्यवस्थापन नै यसको उपाय हो । खोला छेउमा नाला बनाएर फोहोर पानीको टि्रटमेन्ट बनाउनु महत्त्वपूर्ण हो । मध्यपुर थिमीमा पर्ने मनोहरामा अहिलेसम्म ढल मिसाउन दिएका छैनौं ।' उनी के मान्छन् भने कुहिने र नकुहिने फोहोर छुट्याउन सके पनि धेरै सजिलो हुनेछ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्