महिला फुटबलमा भारतविरुद्ध नेपालको पहिलो जित

२–१ को जित नेपाली महिला फुटबल इतिहासमै पहिलो
कुशल तिमल्सिना

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध उसकै भूमिमा ऐतिहासिक जित निकालेको छ । भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलमा घरेलु टिमविरुद्ध पाएको २–१ को जित नेपाली महिला फुटबल इतिहासमै पहिलो हो । 

कालिंगा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार सुरुआती ७ मिनेटभित्रै २–० को अग्रता लिएको नेपालले भारतलाई खेलमा फर्कने अवसर नै दिएन। दुवै गोल मुख्य स्ट्राइकर सावित्रा भण्डारीले गरेकी हुन्। पाँचौं मिनेटमा हीराकुमारी भुजेलको पासमा सावित्राले भारतीय गोलरक्षक आदिती चौहानलाई छक्याउँदै गोल गरिन्। त्यसको दुई मिनेटपछि सावित्राले नै मनमाया लिम्बुको क्रस सदुपयोग गरेकी थिइन्।

खेलको अन्त्यतिर भारतले एक गोल फर्कायो। रत्नावाला देवीले ८४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेकी थिइन्।

भारतको सिनियर टोलीविरुद्ध नेपालले नवौं खेलमा पहिलो जित निकालेको हो। यसअघि ७ खेलमा पराजित नेपालले एक खेल बराबरीमा रोकेको थियो। यसअघि सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुद (साग) को समूह चरण र फाइनलमा पराजित भएको नेपालले त्यही वर्ष साफ च्याम्पियनसिप फाइनल पनि भारतसँग पराजित भएर गुमाएको थियो।

सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिप फाइनलमा नेपाल फेरि भारतसँगै पराजित भएको थियो। सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागको समूह चरणमा गोलरहित बराबरी खेलेको नेपाल फाइनलमा भने पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो। सन् २०१६/१७ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पनि नेपालले भारतसँग हार बेहोरेको थियो।

सोमबारको यो जितले चार टोलीसम्मिलित हिरो गोल्डकपमा नेपालको फाइनल पुग्ने सम्भावना पनि जीवितै भएको छ। नेपालले शनिबार पहिलो खेलमा म्यानमारसँग ३–० को पराजय बेहोरेको थियो।

सबै टोलीले २–२ खेल खेल्दा म्यानमार दुवैमा जित हासिल गरी ६ अंकसाथ शीर्षस्थानमा छ। समान एक जित र एक हारको नतिजा भए पनि हेड टू हेडमा नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छन्। सोमबारै अर्को खेलमा म्यानमारसँग इरान २–० ले पराजित भएको थियो। इरानले पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको हो।

फाइनल पुग्न नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनैपर्नेछ। तर, भारतले म्यानमारसँग पराजय बेहोरेको खण्डमा नेपाललाई बराबरीको नतिजा पनि पर्याप्त हुनसक्छ। इरानले नेपाललाई हराएमा वा भारत म्यानमारसँग पराजित भएको खण्डमा तीन टोलीको समान ३ अंक हुनेछ। गोलअन्तर आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

प्रकाशित : माघ २८, २०७५ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्

बेरोजगारलाई १०० दिनको निर्वाह भत्ता

प्रधानमन्त्री रोजगार कार्यक्रम
परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारले तोकेभन्दा कम बार्षिक आय भएका परिवार भएमा, परिवारका कुनै सदस्य स्वरोजगार नभएमा या कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा मात्रै निर्वाह भत्ता दिइनेछ ।
होम कार्की

काठमाडौँ —  सरकारले बेरोजगार परिवारलाई भत्ता दिनेसहितको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रम फागुन १ देखि लागू हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको हो । यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके १ सय दिनकै निर्वाह भत्ता दिइनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाअनुसार परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवार भएमा, परिवारको कुनै सदस्य स्वरोजगार नभएमा या परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा मात्रै निर्वाह भत्ता दिइनेछ।

‘चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गरिन्छ। त्यसपछि असार २६ गतेभित्र बैंकमार्फत भत्ता दिइनेछ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने। उनीहरूलाई न्यूनतम तलबको ५० प्रतिशत भत्ता दिइने मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रमका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिका वा नगरपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका सदस्यहरूको मञ्जुरीनामासहित सिफारिस भई आएका सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइने श्रम मन्त्रालयले जनाएको छ।

स्वदेशमा रोजगारको व्यवस्था नहुँदा ठूलो हिस्सा वैदेशिक रोजगारमा निर्भर हुनुपरेको छ। तथ्यांक विभागका अनुसार हाल १५ वर्ष वा त्यसभन्दा माथिको उमेरका व्यक्तिको संख्या अर्थात श्रमशक्ति करिब १ करोड १८ लाख छ। यस्तो उत्पादक उमेर समूहमा बेरोजगारीको आकार तथ्यांकमा २.१ मात्र देखिए पनि श्रमको अल्प उपयोग दर ३० प्रतिशतको उच्च आकारमा छ।

मन्त्री विष्टले एक आर्थिक वर्षमा १ सय दिनको न्यूनतम रोजगारीको सुनिश्चितता र व्यावसायिक तथा सीप विकास तालिम र रोजगारी सहजीकरण गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको बताए। ‘प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो,’ उनले भने, ‘यसका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा रोजगार सेवा केन्द्र रहनेछ।’

बेरोजगार व्यक्तिले आफ्नो वडा कार्यालमा दर्ता गरेको निवेदनका आधारमा गाउँ/नगरपालिकाको निर्णयबाट रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकरण गरिने उनले बताए। ‘सूचीकरणमा पेरका व्यक्तिलाई रोजगार दिइनेछ। रोजगार दिलाउन नसकिए सामाजिक सुरक्षाका लागि निर्वाह भत्ता दिइनेछ,’ उनले भने, ‘अबको ५ वर्षभित्र वैदेशिक रोजगार बाध्यकारी होइन, वैकल्पिक बनाउने अभियान बोकेको छ।’

संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सार्वजनिक क्षेत्रमा रोजगारी उपलब्ध गराइने मन्त्रालयको योजना छ। सार्वजनिक क्षेत्रबाहेक निजी, सहकारी तथा गैरसरकारी क्षेत्रमा समेत सम्बन्धित क्षेत्रसँगको सहकार्यमा रोजगारीको सिर्जना गर्नेछ। स्वरोजगार हुन खोज्ने बेरोजगार युवालाई व्यवसाय सञ्चालन गर्न व्यावसायिक तालिमसमेत दिइनेछ। जसको जुन विषयमा रुचि, योग्यता र अनुभव छ, त्यस्तो क्षेत्रमा लगानी गर्न सहुलियत ऋणको समेत व्यवस्था गरिनेछ।

संघीय तथा प्रदेश सरकारका मन्त्रालय र स्थानीय तह आआफ्नो क्षेत्रभित्रका सडक, खानेपानी, ढल व्यवस्थापन, सिंचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलन क्षेत्रमा रोजगारी सिर्जना गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित : माघ २८, २०७५ २१:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्