कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपराजित एपीएफ

काठमाडौँ — अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेपछि एपीएफ क्लबले शतप्रतिशत जितका साथ १४ औं ढोरपाटन डबल लिग राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ढोरपाटन डबल लिगमा एपीएफको यो छैटौं उपाधि हो ।

अपराजित एपीएफ

अन्तिम खेलअघि नै एपीएफले उपाधि जित्ने निश्चित भइसकेको थियो । त्यतिमात्र होइन अन्तिम दिनको खेलअघि नै प्रतियोगिताका सातै पोजिसनको टुंगो लागिसकेको थियो । पुलिसलाई २५–१८, २५–२०, १९–२५ र २५–१५ को सेटमा हराउँदै एपीएफले शतप्रतिशत जित कायम राखेको हो ।


आर्मीले पश्चिमाञ्चललाई २६–२४, २०–२५, २५–१२ र २५–१४ ले हराए पनि त्यसले अंकतालिकामा कुनै फरक पारेन । १४ खेलबाट एपीएफको ४२, पुलिसको ३४, आर्मीको ३२ र पश्चिमाञ्चलको २२ अंक रह्यो । सामाखुसी इंग्लिस स्कुल (सेब) १४, चितवन टाइग्रेस १३ र श्रीगाउँ खेलकुद विकास समिति दाङ ११ अंकसहित अन्तिम तीन स्थानमा रहे ।


माघ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टोली सहभागी थिए । थाहा नगरपालिका मकवानपुर र आयोजक ढोरपाटन स्पोर्ट्स क्लबको टिमले पहिलो चरण पार गर्न असफल रहे ।


एपीएफका लागि ढोरपाटन डबल लिग भलिबलमा यो छैटौं उपाधि हो । एपीएफले यसअघि २०६९, २०७०, २०७१, २०७१ र २०७४ मा आयोजित संस्करणको उपाधि जितेको थियो । घरेलु महिला भलिबलमा अजेय देखिएको एपीएफले जारी सिजन नवौं प्रतियोगितामा आठ उपाधि जितेको छ ।


वैशाखमा आयोजना भएको शेरबहादुर स्मृति र सभामुख कप, साउनमा आरबीबी एनभीए लिग, भदौमा तीज कप, असोजमा २२औं राष्ट्रिय प्रतियोगिता र पुसमा आयोजना भएको न्यु डायमण्ड कपमा एपीएफ च्याम्पियन बनेको थियो । असोजमै आयोजना भएको आधीआबाधी कप राष्ट्रिय महिला भलिबलमा भने एपीएफ उपविजेतामा सीमित भएको थियो ।


उपाधिसँगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता आर्मी र तेस्रो भएको नेपाल पुलिसले क्रमश: २ लाख र १ लाख रुपैयाँ पाएका छन् । चौथो भएको पश्चिमाञ्चलले ६० हजार, पाँचौं भएको सेबले ४० हजार, छैटौं भएको चितवन टाइग्रेसले ३० हजार र सातौं स्थानमा आएको श्रीगाउँ दाङले २० हजार रुपैयाँ हात पारे ।


विधागततर्फ उत्कृष्ट स्पाइकर नेपाल पुलिसकी उषा भण्डारी, उत्कृष्ट सेटर पुलिसकै कमला पुन, ब्लकर आर्मीकी सोफिया पुन, क्वीकर आर्मीकै सुनीता खड्का, डिफेन्डर पुलिसकी शान्ति तामाङ र सर्भर एपीएफकी नेविका चौधरी चुनिए । एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक बने । विजेता सबैले जनही ६ हजार रुपैयाँ पाए ।


सरस्वती तेस्रोपल्ट उत्कृष्ट खेलाडी

टिमलाई उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेकी एपीएफकी मुख्य स्पाइकर सरस्वती चौधरी ढोरपाटन डबल लिग भलिबलमा तेस्रोपल्ट उत्कृष्ट खेलाडीका रूपमा स्कुटर पुरस्कार पाएकी छन् । यसअघि उनी अघिल्लो संस्करण र २०६९ को संस्करणमा पनि उत्कृष्ट खेलाडी बनेकी थिइन् । समग्रमा उनले २०७३ को संस्करणमा प्लेयर अफ द इयरका रूपमा स्कुटर पाएकी थिइन् ।


ढोरपाटन भलिबलमा चार खेलाडी र एक दर्शकलाई स्कुटर पुरस्कार दिइन्छ । जसअनुसार यसपटक उदीयमान खेलाडीका रूपमा आर्मीकी शान्ति थारूले स्कुटर पाइन् । वर्ष खेलाडी उपाधिका रूपमा पश्चिमाञ्चलकी अरुणा शाही र प्लेयर अफ द सिरिजका रूपमा पुलिसकी कोपिला रानाले स्कुटर पाए । अरुणाले दोस्रोपटक स्कुटर पुरस्कार पाएकी हुन् । यसअघि २०७० को संस्करणमा उत्कृष्ट खेलाडीका रूपमा उनले स्कुटर पाएकी थिइन् ।


प्रतियोगिताभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथामार्फत गोरखाका भीमप्रसाद देवकोटाले स्कुटर पाए । दर्शकका लागि पुरस्कारस्वरूप स्कुटरको व्यवस्था अघिल्लो संस्करणबाट गरिएको हो ।

प्रकाशित : माघ २१, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?