डफिन्ससँग च्यासल स्तब्ध

लेखनाथ — सुरुआती १० मिनेटभित्रै विपक्षीलाई गोल सुम्पिँदा च्यासल युथ क्लब पोखरामा जारी छैटौं मनकामना पोखरा कप फुटबलबाट बाहिरिएको छ । क्यामरुनी क्लब डफिन्स फेमिलीले बुधबार च्यासललाई १–० ले पराजित गर्दै अन्तिम आठ सुरक्षित गरेको हो ।

खेलमा डफिन्सका स्ट्राइकर यान्निकको एकमात्र गोल निर्णायक बन्यो । उनले १० औं मिनेटमा इकवेनको फ्रिकिकमा गोल गरेका थिए । २० यार्ड टाढाबाट इकविनले प्रहार गरेको फ्रिकिकलाई यान्निकले पेनाल्टी एरियाबाट हेड गर्दा बल बार च्याप्दै पोस्टभित्र छिर्यो । शारीरिक रूपमा बलिया र अग्ला कदको फाइदा क्यामरुनी खेलाडीले लिए ।
खेलको ३३ औं मिनेटमा साइलो मार्टिनको पावर सट क्रसबार माथिबाट बाहिरियो । पहिलो हाफको अतिरिक्त समयमा डाइडर टिना हेडमा गोल गर्नबाट चुके । उनले ५० औं मिनेटमा नजिकैबाट हेड गर्दा पनि गोल थप्न सकेनन् ।
च्यासलले पनि पाएका धेरै अवसर सदुपयोग गर्न सकेन । २४ औं मिनेटमा हेमन्त थापामगरले पेनाल्टी एरियाबाट गरेको प्रहार भिक्टर एमोबीको खुट्टामा पुग्यो । उनले सुनील
खड्कालाई पास दिए । सुनीलको प्रहार बारमा लागेर रिबाउन्ड भयो । रिबाउन्डलाई अर्का विदेशी एल्भिस एपिया फिनिसिङ चुकेका थिए । खेलको २९ औं मिनेटमा एल्भिसकै प्रहार पोस्ट नजिकैबाट बाहिरियो । अनन्त थापाको कर्नरमा विक्रम लिम्बुले क्रस गर्दा बललाई एल्भिसले पोस्टको दिशा दिन सकेनन् ।
दोस्रो हाफमा च्यासलका प्रशिक्षक राजुकाजी शाक्यको खेलाडी परिवर्तनको योजना खासै प्रभावकारी देखिएन । दोस्रो हाफको अन्त्यतिर मैदान छिरेका शान्तबहादुर गुरुङ र सजिन थापा मगरको प्रहार गोलकिपर प्रिसो एनडिटंगाले रोके । उनै प्रिसो म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ पाए ।
डफिन्सका संयोजक आशिक थापा मगरले च्यासलसँगको खेल भाग्यले जितेको बताए । उनले फ्रेन्चाइज लिग खेल्ने उद्देश्यले क्यामरुनको फुटबल एकेडेमीबाटै सबै खेलाडी आएको जानकारी दिए । ‘यहाँ आएपछि प्रशिक्षण गर्ने मैदान नै पाएनौं,’ उनले भने, ‘अर्को खेलमा थप नयाँ तीन खेलाडी आएपछि टिम बलियो हुनेछ ।’ डफिन्स यसअघि खप्तड गोल्डकपमा संकटा क्लब र इटहरी गोल्डकपमा काँकडभिट्टा फुटबल ट्ेरनिङ सेन्टरसँग टाइब्रेकरमा पराजित भएको थियो ।
बिहीबार भने पूर्व निर्धारित खेल नहुने भएको छ । मदन भण्डारी स्मृति इटहरी गोल्डकप भइरहेकाले सहभागिता जनाउने टिम आइनपुग्ने भएका हुन् । शुक्रबार आयोजक पोखरा ११ र ब्रिगेड ब्वाइज क्लब भिड्ने छन् ।