कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एपीएफ क्लब विजयी

दीपक परियार

लेखनाथ — विभागीय टोली एपीएफ क्लबले छैटौं मनकामना केबलकार पोखरा कप फुटबलमा मंगलबारको उद्घाटन खेल जितेको छ । उसले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल तय गरेको हो ।

एपीएफ क्लब विजयी

एपीएफका आशिष लामाले २६ औं मिनेटमा पहिलो गोल गरे । उनले २० यार्ड टाढाबाट प्रहार गरेको बल क्रस च्याप्दै पोस्टभित्र छिरेको थियो । पहिलो हाफ आक्रामक खेलेको एपीएफ दोस्रो हाफमा रक्षात्मक देखियो । एक गोलले पछि परेको हिमालयन शेर्पा दोस्रो हाफमा लयमा फर्किएको थियो । ब्याक पासलाई प्राथमिकता दिएर बिना दबाब खेलिरहेको एपीएफविरुद्ध ५४ औं मिनेटमा हिमालयन शेर्पाका अमर डंगोलले गोल फर्काए ।


उनले रवि थापाले प्रहार गरेको फ्रिकिकबाट रिफ्लेक्ट भएको बल सदुपयोग गर्दै टोलीलाई बराबरीमा ल्याए । त्यसो त उनी पहिलो हाफको अन्तिम मिनेटमा एपीएफका गोलकिपर राजु नगरकोटीसँग पेनाल्टी एरियाभित्र वान टु वानमा गोल गर्नबाट चुकेका थिए ।


खेलको ७८ औं मिनेटमा हिमालयन शेर्पाका अफ्रिकन खेलाडी उलरिच सिवीको बक्सभित्र ह्यान्डबल भएपछि खेलले ‘यू–टर्न’ लियो । रेफ्रीले एपीएफलाई पेनाल्टी अवसर दिए । त्यसमा एपीएफका कप्तान सुदीप सिख्राकारले गोलमा परिणत गरे । सुदीपको पेनाल्टीलाई शेर्पाका गोलकिपर किशोर गिरीको रोक्ने प्रयास विफल भयो । त्यही पेनाल्टी गोल निर्णायक बन्दा हिमालयन शेर्पा पहिलो खेलबाट बाहिरियो ।


मानबहादुर तामाङको कप्तानीमा मैदान उत्रिएको हिमालयन शेर्पाले एपीएफ रक्षात्मक खेल्दा पाएका कैयन अवसर सदुपयोग गर्न सकेन । खेलको आठौं मिनेटमा रवि थापाको फ्रिकिकलाई एपीएफका रमेश डंगोलले क्लियर गरे । २४ औं मिनेटमा त्रिदेव गुरुङले बार च्यापेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपर राजु नगरकोटीले विफल बनाए । हिमालय शेर्पाका तीन विदेशी खेलाडी उलरिज सिवी, ड्याडी वाम्बा र प्याट्रिक प्रिभाट त्यति जम्न सकेनन् ।


एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पहिलो हाफमा एक गोलले अग्रता लिएपछि दोस्रो हाफमा दबाब लिएर नखेलेको बताए । ‘नकआउटमा लिग जस्तो हुँदैन । एकपल्ट हारेपछि सकियो । त्यसैले प्रेसर लिएर खेल्नुपर्छ,’ उनले भने, ‘तर हामीले दोस्रो हाफमा विस्तारै खेलेर काउन्टरलाई महत्त्व दियौं ।’ उनले कडा मैदानमा खेलिरहेकाले पोखराको मैदान नरम हुँदा खेलाडीलाई सन्तुलन मिलाउन गाह्रो भएको प्रतिक्रिया दिए ।


हिमालयन शेर्पाका टिम म्यानेजर बिजेन्द्र पुडासैनीले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिल्दा अवसर चुकेको बताए । उनले लगातारको प्रतियोगिताले खेलाडीमा थकान भएको र केही खेलाडी घाइते पनि भएकाले राम्रो प्रदर्शन गर्न नसकेको स्विकारे । उनले पेनाल्टी दिने रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए । ‘त्यस्तै अवस्थामा हामीलाई पेनाल्टी दिइएन,’ उनले भने, ‘त्यही पेनाल्टी नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।’


यसअघि यस सिजनका प्रतियोगितामा दुई टिम तीनपल्ट भिडेका छन् । राष्ट्रिय लिगमा दुई टिमले गोलरहित बराबरीमा खेले । नवलपरासीमा भएको राइनो संरक्षण गोल्डकपमा पेनाल्टी सुटआउटमा एपीएफविरुद्ध हिमालयन शेर्पा ४–२ ले विजयी रह्यो । वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपमा भने एपीएफ क्लब हिमालयन शेर्पासँग ४–१ ले पराजित भएको थियो ।


पोखरा कपमा एपीएफका आशिष लामाले म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा बुधबार क्यामरुनको डफिन्स टिम फेमिली क्लब र च्यासल क्लब भिड्ने छन् । १२ टिम सहभागी प्रतियोगिता विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार ५ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ १६, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?