१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

फोहोर यसरी बन्दै आम्दानीको स्रोत

कान्तिपुर संवाददाता

कञ्चनपुर — प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागजका गत्ता, स्लाइनका बोत्तल, प्रयोग गरेका ग्लब्स, पसलको जस्तै र्‍याकमा सजाएर राखिएको छ । संक्रमण हुन सक्ने सामग्रीको निर्मलीकरण पनि गरिएको छ । महाकाली प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिएको छ ।

फोहोर यसरी बन्दै आम्दानीको स्रोत

यति मात्रै होइन कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री पनि छुट्याएर बिक्री पनि हुन थालेको छ । महाकाली प्रादेशिक अस्पतालमा अब फोहोर समस्या होइन । आम्दानीको स्रोत बन्न थालेको छ । एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ भने अर्कोतर्फ आम्दानी पनि हुन थालेको छ । महिनामा १५/२० हजारको फोहोर बिक्री हुन थालेको छ ।

‘पुनः प्रयोग गर्न सकिने सबै सामग्री बिक्री हुन्छ,’ फोहोर मैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले भनिन्, ‘अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री भइरहेको छ ।’ उनका अनुसार ग्लब्स, पाइप, सिरिन्ज, एम्पुल, सिरिन्ज भाइल, प्लास्टिक, पेपर र कागजका गत्ता सबै बिक्री हुन्छ ।

व्यवस्थापन केन्द्रमा दुई कर्मचारी बिहानदेखि साँझसम्मै जुटेका हुन्छन् । उनीहरू सुरुमा अस्पतालभित्रका सबै फोहोर संकलन गर्छन् । जोखिम र बिना जोखिमको फोहोर छुट्याइन्छ । जोखिमयुक्त फोहोरलाई निर्मलीकरण गरिन्छ । कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ । व्यवस्थापन केन्द्रमा कार्यरत अर्की कर्मचरी गोमती बोहराले भनिन्, ‘सुरुमा फोहोर छुट्याउन केही समस्या भएको थियो, तर अहिले सहज भएको छ ।’ उनका अनुसार एक महिनामा ७/८ क्विन्टल फोहोर उत्पादन हुन्छ । जसमध्ये आधाभन्दा बढी पुनः प्रयोग गर्न सकिने हुन्छ । त्यही बिक्रीबाट १५/२० हजारसम्म आम्दानी भइरहेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा हालिन्छ । सार्वजनिक गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन मूल्यांकनमा पनि सरसफाइको कुरालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

‘यहाँको वेस्ट म्यानेजमेन्ट अन्य अस्पतालका लागि पनि सिक्नयोग्य छ,’ वीर अस्पतालमा कार्यरत डा. उत्तम पाचेले अनुगमन मूल्यांकन सार्वजनिक गर्दै भने, ‘सुदूरपश्चिमका अन्य अस्पतालले पनि यसैगरी फोहोर व्यवस्थापन गर्न सक्छन् ।’ डा. पाचेकै नेतृत्वमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको अनुगमन गरिएको हो । सरसफाइदेखि, सेवा प्रभाव, भौतिक पूर्वाधारको अवस्था र जनशक्तिको उपलब्धतालगायत विभिन्न क्षेत्रमा गरिएको अध्ययनअनुसार अस्पतालले ८० प्रतिशत सफलता हात पारेको छ ।

प्रकाशित : फाल्गुन २, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?