कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

प्रहरी मिलेमतोमा अपराध

धनगढी — बैतडी मेलौलीका प्रकाश चन्द तीन दिनअघि धनगढीदेखि अत्तरिया जांँदै गर्दा बाटोमै लुटिए । हाइस (माइक्रो बस) मा संँगै बसेकी एक महिलाले मुखमा स्प्रे गरेर बेहोस बनाएपछि उनीसंँग भएको नगद र लत्ता कपडा लुटेर लगिन् । उनले नगद ४० हजार भारु, ७५ हजार पर्ने रुख काट्ने मसिन, लत्ताकपडा गरी झन्डै दुई लाख बराबरको सामान गुमाए ।

प्रहरी मिलेमतोमा अपराध

आफ्नो श्रीमान् भन्दै चन्दलाई बेहोस अवस्थामै एक होटलमा छाडेर ती महिला फरार भइन् । होसमा आएपछि चन्दले प्रहरीमा उजुरी दिन जांँदा उल्टै उनलाई हप्काएर पठाइयो । अत्तरिया इलाका प्रहरीले जिल्ला प्रहरी पठाउने र जिल्ला प्रहरीले इलाकामा उजुरी दर्ता गराउन पठाउने गरेको पीडितले बताए । अत्तरियामै रहेकी आपराधिक गिरोहकी ती महिलालाई राजनैतिक दबाब आएपछि मात्र प्रहरीले बुधबार पक्राउ गरेको छ ।

१० दिनअघि प्रहरीको लापरबाहीले कञ्चनपुरको कृष्णपुरबाट फरार भएका सुदूरपश्चिमका नटवरलाल भनिने लगातार ठगीमा संलग्न हुँदै आएका पदमराज भट्टलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । कैलाली कञ्चनपुरमै हुँदा पनि प्रहरीले सक्रियता नदेखाउंँदा दर्जनौं महिलालाई ठग्दै आएका भट्ट पक्राउ पर्न नसकेका हुन् । उनले महिला पुरुष गरी कैलाली र कञ्चनपुरमा मात्र १० करोडभन्दा बढी रुपैयाँको ठगी गरेका छन् । प्रहरी अधिकारीसंँग राम्रो सम्बन्ध भएका ठग भट्टले उनीहरूलाई पनि ब्ल्याकमेल गर्ने चर्चा बढेको छ । भट्ट पक्राउ परेर अनुसन्धान भयो भने प्रदेशमा विगत केही वर्षयता भएका ठूलाठूला आपराधिक घटनाको पोल खुल्न सक्ने अनुमान छ ।

साता दिनअघि अत्तरियामै सुन व्यवसायीलाई दिउंँसै गोली हानेर लुटियो । उनी सुन लिएर धनगढी आउँदै गर्दा अत्तरिया बजारमै उनीमाथि लुटेराले गोली चलाएका थिए । लुटेराले उनीबाट ३५ तोला सुनसहित नगदसमेत लुटेर लगे । त्यसको एक दिनपछि गोदावरी रोडमा रहेको साना किसान सहकारी संस्थाको लकर तोडेर लुटेराले ५ लाख ६८ हजार लुटेर लगे । लगत्तै धनगढीको मुख्यबजारमा पनि यसरी नै चोरीका तीनवटा घटना भए । धनगढी उपमहानगरका १२, १८, १९ नं वडामा पनि दैनिकजसो चोरीडकैतीका घटना हुन थालेको वडा १९ का अध्यक्ष बाँधुराम चौधरीले बताए । प्रदेश राजधानीसंँग जोडिएको फूलबारी क्षेत्रमा लगातार चोरी डकैती हुन थालेपछि युवाहरूले रातभरि टोली बनाएर सुरक्षा दिइरहेका छन् ।

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समयमा सुदूरपश्चिममा संगठित रूपमा हुने अपराध बढेको छ । सेटिङमा हुने यस्ता आपराधिक घटनामा प्रहरी निष्क्रिय हुंँदा अपराधीहरू पक्राउ पर्न सकेका छैनन् । एकपछि अर्को लगातार भइरहेका अपराधका घटनामध्ये प्रहरीले सामान्य चोरीका घटनामा संलग्न रहेका अपराधीसमेत पक्राउ गर्न सकेको छैन ।

अपराधका घटनासंँगै पछिल्लो समय सेटिङमा हुने तस्करी पनि निकै वृद्धि भएको सरकारी निकायको तथ्यांकले समेत देखाउँछ । तस्करीमा संलग्न गिरोह, सीमा क्षेत्रमा रहेका सशस्त्र र प्रहरी अधिकारी र भन्सारकर्मीको मिलोमतोमा संगठित रूपमा हुने तस्करी रोक्न पनि सीमा क्षेत्रका विभिन्न स्थानीय तहमा युवाहरूले संगठित रूपमा गस्ती गरिरहेका छन् । ‘राति १० बजेदेखि बिहान ६ बजेसम्म आलोपालो गरी तस्करी रोक्न गस्ती गर्ने गरेका छौं,’ कैलाली फूलबारीमा रहेको युथ क्लबका अध्यक्ष रविन चौधरीले भने, ‘प्रहरी प्रशासनले गर्नुपर्ने काम हामी गर्न बाध्य भएका छौं ।’ चोरी, तस्करी, डकैती र लागूऔषध ओसारपसारका कारण सीमा क्षेत्र आक्रान्त बन्दै गएको छ । उनले भने, ‘प्रहरी प्रशासनले नियन्त्रण गर्ने सामान्य प्रयाससमेत गरेको देखिँदैन ।’

कैलालीमा पाँच महिनायता भएका अपराधका घटनामध्ये एउटा पनि घटनामा प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । ‘प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका सामान्य अपराधबाहेक एउटा पनि घटना छैन,’ एक जना कैलाली जिल्ला अदालतका अधिकृत भन्छन्, ‘दबाबका कारण मुद्दा दर्ता भएका घटनामा पनि केस कमजोर बनाएर मात्र ल्याइएको देखिन्छ ।’ ५ महिनामा दुई दर्जन अपराधका घटनामा प्रहरीले अहिलेसम्म सामान्य चोरीका दुई/चार घटनाबाहेक अन्य घटनामा कुनै पनि अपराधीलाई पक्राउ गर्न सकेको देखिँदैन । अपराधसंँगै तस्करीका घटनामा पनि प्रहरी र संगठित गिरोहका बीचमा सेटिङ हुने गरेको स्वयं प्रहरी अधिकारीहरू बताउने गर्छन् ।

कैलालीको सीमा सुरक्षाका खटिएको सशस्त्र प्रहरीले साउनमा १ सय ११ भन्सार छलीका घटनामा ७४ लाख ८९ हजार ६२७ बराबरको वस्तु भन्सार कार्यालयलाई बुझाएको छ । तर एउटा पनि तस्करसहित पक्राउ गरेको घटना छैन । त्यस्तै, प्रहरीले पनि १८ वटा भन्सार छलीका घटनाबाट भन्सारलाई ३९ लाख ३२ हजार बराबरको सामान बरामद गरेर बुझाएको छ । तर प्रहरीले पनि सामानसहित तस्कर पक्रेको उदाहरण पाउन सकिँदैन ।

भन्सार कार्यालयका कर्मचारीले पनि आफैं पक्राउ गरेको सामान बेवारिसे देखाएर पैसा असुल गरी अपराधी छोड्ने गरेका दर्जनौं उदाहरण छन् । सेटिङ मिलाउन नसकेका साना तस्कर समूहबाट सशस्त्र र नेपाल प्रहरीले केही व्यक्ति समाते पनि ती सबै असुलीका लागि मात्र भएको एक जना तस्कर बताउँछन् । ‘घटनास्थलमै लेनदेनमा कुरा मिलेपछि ३० प्रतिशत समान बेवारिसे भनेर भन्सार पठाउँछन्,’ उनले भने ‘७० प्रतिशत सामानसहित मान्छे छोडिदिने गरेका छन् ।’ उनले कुनै घटनामा आर्थिक लेनदेन मिलेन वा अर्को सेटिङ समूहले पक्राउ गर्न लगाएको भएपछि मात्रै मान्छेसहित सामान कारबाहीका लागि भन्सार पठाउने गरेको बताए ।

भन्सार कार्यालयको तथ्यांकअनुसार नै चार महिनाको राजस्व संकलन लक्ष्य ३ अर्व ६४ करोड ५७ लाख रहेकोमा राजस्व संकलन २ अर्ब ४६ करोड २८ लाख २८ हजार मात्रै भएको छ । साउनदेखि कात्तिकसम्म राजस्व संकलन ७५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । साउनमा करिब ७३.६४ भदौमा ६४.२४, असोजमा ५८.९३ र कात्तिकमा ७५.०६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । यसबाट पनि संगठित रूपमा तस्करी हुने गरेको स्पष्ट हुन्छ ।

कैलालीको टीकापुर खक्रौला, भजनी, लालबोझी, हसुलिया, फूलबारी, धनगढीको जुगेडा र डोकेबजार क्षेत्रबाट ६/७ समूहले तस्करी गरेका छन् । टीकापुरको खक्रौला आसपास क्षेत्रबाट तस्करी गर्ने समूहले टीकापुर इलाका प्रहरी र प्रशासन, सशस्त्र गणसँग सेटिङ मिलाउने गरेका छन् । भजनी, लालबोझी, हसुलिया, फूलबारी र धनगढी क्षेत्रबाट तस्करी गर्ने समूहले प्रहरी प्रशासन र सशस्त्रसँग सेटिङ मिलाउने गरेको छ ।

अपराध र तस्करीका घटनामा संगठित रूपमा प्रहरीको सेटिङ हुने गरेको सरुवा भएका कैलालीका एसपी सोमेन्द्रसिंह राठौर स्वीकार गर्दैनन् । तर यस्ता घटनामा केही प्रहरी अधिकारीहरूको लापरबाहीचाहिँ रहेको उनको तर्क छ । उनले भने, ‘यस्ता घटनामा सेटिङभन्दा पनि तत्काल लाभका लागि कसै अधिकारीले सहयोग गरेको हुन सक्छ ।’ आपराधिक समूह पक्राउ नपर्नु, गिरोहका सदस्य पक्राउ नपर्नु, आपराधिक घटनामा लामो समयसम्म प्रहरीले कुनै सफलता हासिल गर्न नसक्नुमा सेटिङ प्रमुख कारण भएको देखिन्छ । अपराध अनुसन्धानमा कार्यरत एक प्रहरी निरीक्षक काम गर्न कठिन भएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्ला ५ महिनामा कैलाली र कञ्चनपुरका आपराधिक घटना हेर्ने हो भने विगत दुई वर्षको तुलनामा बढी छन् ।’

प्रकाशित : पुस १५, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?