कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोट हाल्न फर्किने प्रवासी नेपाली न्यून

स्थानीय तह निर्वाचनमा मतदानका लागि भारतबाट ठूलो संख्यामा नेपाली घर फर्किएका थिए 

कञ्चनपुर, धनगढी — भारतको दिल्लीमा काम गर्ने बैतडीका लोकराज तिरुवा शनिबार गड्डाचौकी नाका भएर घर फर्किए । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्न घर फर्के । गत स्थानीय तहको निर्वाचनमा समेत मतदान गर्न आएका उनी पछिल्लो पटक तिहार आएर एक महिनाअघि मात्रै दिल्ली फर्केका थिए । तिरुवा मतदान गर्न घर फर्के पनि उनीसँगै काम गर्ने अधिकांश नेपाली यस पटक आएका छैनन् । 

भोट हाल्न फर्किने प्रवासी नेपाली न्यून

स्थानीय तह निर्वाचनमा मतदानका लागि भारतबाट ठूलो संख्यामा नेपाली घर फर्किएका थिए । त्यतिबेला संयोगवश खेतीपाती भित्र्याउनेदेखि नयाँ वर्ष मनाउने समय परेका कारण ठूलो संख्यामा घर फर्किएका हुन् । स्थानीय तहमा नातागोता र छिमेकी तथा घरकै सदस्य उम्मेदवार भएका कारण पनि उनीहरूलाई घर फर्किन बाध्य पारेको हो ।

‘स्थानीयमा पनि भोट दियौं, अहिले पनि भोट दिनकै लागि आयौं,’ भारतको सिमलाबाट शुक्रबार घर फर्किएका अछामका रामबहादुर रावलले भने, ‘त्यतिबेला उम्मेदवारहरूले फोन गरेरै बोलाए, अहिले आफैं आयौं ।’ उनका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले घरसम्म पुग्ने भाडासमेत दिएका थिए । कतिपयले नाकासम्मै सवारीसाधनसमेत पठाएका थिए । तर फर्किने बेला भने बेवास्ता गरेको उनले बताए ।

यस पटक दसैंतिहारका लागि घर फर्केकाहरू खेतीपातीको काममा लागेका छन् । धेरैजसो तिहार मनाएर काममा फर्किसकेका छन् । भर्खरै काममा फर्केका कारण पनि धेरैले मतदानकै लागि आउन सकेका छैनन् । ‘मतदान गरे पनि हामीले रोजगारी खोज्न भारत जानैपर्ने हो,’ भारत उत्तराखण्डको हल्द्वानीबाट घर फर्केका बझाङका हर्कराज जैसीले भने, ‘नेता र तिनका नातागोताले मात्रै हो यहाँ खान पाउने, हामीले घर छाड्नै पर्छ ।’

नयाँ संविधान जारी भएपछि राज्य पुनःसंरचनासँगै धेरैलाई गाउँमै रोजगारी पाउने आशा थियो । राजनीतिक दल र नेताहरूले यही सपना बाँडेका पनि थिए । तर त्यसपछि पनि रोजगारी खोज्न भारत जानुपर्ने नियति अन्त्य भएन । ग्रामीण भेगमा विकास निर्माणका काम भए पनि त्यसमा नेता र तिनका आफन्तले मात्रै रोजगारी पाउने अवस्थाका कारण अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिक काम खोज्दै भारत पस्नुपर्ने बाध्यता छ ।

गड्डाचौकी नाकाबाट शनिबार ४५ जना मात्रै भित्रिएका छन् । शुक्रबार करिब अढाई सय जना भित्रिएका थिए । बिहीबार रातिदेखि निर्वाचनको सुरक्षाका कारण नाका बन्द गरिएको छ । यद्यपि भारतबाट मतदानका लागि घर फर्किनेलाई भने भित्रिन दिइएको छ । ‘नेपाली नागरिकको हकमा परिचय खुल्ने कागजपत्रका आधारमा भित्रिन दिइएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भने, ‘सवारीसाधनको हकमा भने पूर्णरूपमा बन्द गरिएको छ ।’ उनले मतदानका दिन भने पूर्णरूपमा नाका बन्द हुने बताए ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि पुनर्वास नगरपालिका–११ डोके बजारसम्म १ सय २९ दशमलव ५ किलोमिटर सीमा भारतसँगै जोडिएको छ । बिहीबार रातिदेखि आइतबार निर्वाचनको दिनसम्मका लागि नाका बन्द गरिएको हो । रोजगारी, अध्ययन तथा अन्य कामले सुदूरपश्चिमको राजधानी धनगढीमा रहेका मतदाता आफ्नो मत खसाल्न पहाड जानेको भीड छ । अछाम मेल्लेखका दीर्घबहादुर खड्काले मतदान गर्न पाउने अधिकार प्रयोग गर्न जान लागेको बताए ।

भारतको पञ्जाबबाट घर फर्केका उनी शुक्रबार ‘सीमा सिल’ हुनुअघि प्रवेश गरेका थिए । उनका अनुसार यसपालि मतदान गर्नकै लागि धेरैजसो नेपाली घर नफर्केको बताए । उनले आफू घरको अरू काम पनि भएकाले आएको बताए । उनीसँगै मतदानका लागि घर फर्किरहेका हर्क खड्काले आफ्नो मान्छे जिताउनका लागि फर्केको बताए । ‘यथार्थमा राम्रो गर्लान्भन्दा पनि उम्मेदवार भइसकेपछि जितोस् भन्ने चाहनाले घर फर्कें’ उनले भने, ‘जितेपछि भारतमा काम गर्न जाने आफन्तका दुःखलाई पनि सम्झेर काम गर्नु भनेर फर्कनेछु ।’

सुदूरपश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पहाडमा समेत दोहोरो बसोबास भएको जनसंख्या पनि धेरै छ । जसमध्ये पहाडमै मतदाता नामावली भएकाहरू शनिबार घर फर्किरहेका थिए । ‘मन थिएन, नेताहरूले गाडी नै पठाइदिएपछि सपरिवार जान लागेको हुँ,’ डडेलधुरा आलितालका खडकसिंह बोहराले भने, ‘निर्वाचित भएपछि नेताले राम्रो काम गर्न नसक्दा मतदान गर्ने हामी मतदातालाई लाज लागेर मतदान गर्न घर फर्कने मन लाग्दैन ।’

कैलालीको गौरीफन्टा भन्सार नाकाका कार्यरत एक जना सुरक्षाकर्मीले यसपालि मतदानका लागि भारतबाट फर्कने संख्या कम भएको बताए । उनले नाम खोल्न चाहेनन् । उनले भने, ‘यसपालि निर्वाचनमा सहभागी हुन भारतबाट एकदमै कम आए होलान् ? केका लागि भोट दिन घर फर्कने भन्ने भारतमा रहेका नेपालीलाई लागेको होला । किनकि जनप्रतिनिधिको राम्रो काम उनीहरूले एउटा पनि महसुस गर्न पाएको जस्तो लाग्दैन ।’

उनका अनुसार सीमा सिल हुनुपूर्वका एक सातामा ५ हजार बढी नेपाली घर फर्केका छैनन् । गएको स्थानीय तहको निर्वाचनमा करिब १० हजार नेपाली घर फर्केका थिए । तराईमा कामका लागि वा अन्य पेसामा रहेका सुदूरपश्चिमका मतदाता पनि यस पटक धेरै घर नफर्केको दीपक कठायतले बताए । उनको पनि मतदाता नामावली डोटी दिपायलमा छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?