२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
विनायक घटना

बालकको शव उठेन, स्थानीय आन्दोलित

कांग्रेस कार्यकर्ताले हत्या गरेको आरोप
मेनुका ढुंगाना

विनायक,अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका ४ मा १५ वर्षीय किशोर विनोद शाही मृत फेला परेको ३ दिनसम्म पनि शव उठेको छैन । मृतक शाहीलाई कांग्रेस कार्यकर्ताले हत्या गरेको आरोप एमाले कार्यकताले लगाएका छन् । 

बालकको शव उठेन, स्थानीय आन्दोलित

यस्तो छ घटनाक्रम

स्थानीय तह २०७९ को चुनावका लागि वैशाख ३० गते पञ्चदेवल विनायक नगरपालिका ४ को स्वास्थ्य चौकी मतदान केन्द्रमा मतदान भइरहेको थियो । त्यसैबीच एक जना एमाले निकटका स्थानीयले मतदान गर्ने विषयबाट नै त्यहाँ विवादको सुरुवात भएको प्रत्यक्षदर्शी बताउँछन् । एमाले निकटका ती व्यक्तिले कांग्रेस कार्यकर्तालाई मतदान गर्न दिन थालेपछि एमाले कार्यकर्ताले रोक्न खोजेका थिए । ‘ती मत दिने व्यक्ति एमाले निकट हुन् । तर मतदान भने कांगेस कार्यकतालाई दिने भनेपछि विवाद सुरु भयो । विभिन्न प्रभावमा पारेर कांग्रेसले ती व्यक्तिलाई आफूतिर लैजान खोजेको विषयमा नै विवाद भयो’ एक प्रत्यक्षदर्शीले भने ,‘त्यसको केहि समयमै अन्य स-साना विषयमा पनि ठूलो विवाद निम्त्याउन थालेपछि कांग्रेस एमाले दुवैले आ-आफ्ना मान्छे बोलाएपछि झडपको स्थिति सिर्जना भयो । प्रहरीले हवाइ फायर गर्दा केहिबेर मतदान रोकिएको थियो । त्यसपछि कांग्रेस, एमाले, माओवादी, समाजवादीका सबै उम्मेदवारले विवाद नलम्ब्याउने र आ-आफ्ना कार्यकर्तालाई सम्झाउने भनेपछि मतदान पुनः सुरु भएको थियो ।’

एकै परिवार कांग्रेस र एमालेमा विभाजन भएर वैशाख ३० गतेबाट सुरु भएको विवाद भने टुंगिएन । कालिकास्थानकै अम्बिका चलाउने कांग्रेसबाट, योगेन्द्र विष्ट नेकपा एकीकृत समाजवादीबाट गरी सोहि वडाबाट २ जना मेयर पदका उम्मेदवार थिए । नेपाली कांग्रेसका उम्मेदवार अम्बिका मेयरमा विजयी भइन् भने वडा पनि कांग्रेसले नै जित्यो । परिवारबाट पार्टीसँग जोडिएको विवाद जेठ १६ गते फेरि बल्झियो ।

पार्टीले विजय प्राप्त गरेपछि पनि कांग्रेसका कार्यकर्ता शान्त नबस्नु र एमाले कार्यकर्ताले पनि प्रतिसोध लिन खोजेपछि विवाद जेठ १६ गतेबाट झन् चर्किएको स्थानीयवासी बताउँछन् । स्थानीयका अनुसार जेठ १६ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच वैशाख ३० गतेको विषयलाई लिएर विवाद भयो । त्यहाँ कांग्रेस कार्यकर्ता घाइते भए । एमाले कार्यकर्ताले आफूमाथि हातपात गरेको भन्दै कांग्रेस कार्यकर्ता जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गए । राजनीतिक दलसँग जोडिएको विषय भएकाले प्रहरीले घटनाको सबै जानकारी लिएर मात्र मुद्दा प्रक्रियामा जाने बताएपछि उनीहरु कालिकास्थान फर्किए ।

कांग्रेस कार्यकर्ता मंगलसेबाट फर्किए भने एमाले कार्यकर्ता गाउँमै थिए । १७ गते साँझ फेरि दुबै पक्ष बीच झडप भयो । कांग्रेस कार्यकताले प्रहरीलाई खबर गरेपछि १७ गते राती प्रहरीको टोली कमलबजारबाट विनायक पुग्यो । कांग्रेस कार्यकर्ताले आरोप लगाएका एमाले कार्यकर्तालाई पक्राउ गरेर लैजान खोज्दा प्रहरी र स्थानीय महिलाबीच लछारपछारको भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । ‘मध्यराति भइसकेको थियो । एमाले कार्यकर्तालाई प्रहरी पक्राउ गर्न आएपछि स्थानीय महिलाले पक्राउ गर्न नदिन अवरोध गरे । त्यसमा प्रहरीले महिलालाई लछारपछार गरेका छन् भने महिलाले पनि प्रहरीलाई लछापछार गरेका हुन् । त्यसमा गर्भवती महिला , बालबालिका पनि थिए । प्रहरीको लछारपछारले उनीहरुलाई गार्‍हो भएको छ’ एक प्रत्यक्षदर्शीले भने ।

को हुन् मृतक विनोद

१५ वर्ष पूरा भएर १६ वर्ष प्रवेश गरेका भएका मृतक विनोद शाही विद्यामन्दिर मावि विनायकमा कक्षा १० मा पढ्थे । विद्यालय पढाइको सुरुवात सुर्खेतबाट गरेका विनोद केहि समयपछि पढ्न काठमाडौं गएका थिए । २०७२ सालको भूकम्पपछि उनी गाउँमा आएर पढ्न थालेका हुन् । उनी राजनीतिक परिवारका व्यक्ति होइनन् । उनका बुबा बलबहादुर शाही ६५ वर्षका भए । एक हात नभएका वृद्ध अवस्थाका बलबहादुर छोराको मृत्युको खबर सुनेदेखि विक्षिप्त छन् । उनका ५ छोरी र मृतक विनोदसहित ३ छोरा थिए । तीमध्ये विनोद माइला छोरा हुन् ।निर्वाचनको समयदेखि गाउँमा सामान्य विवाद भइराख्ने गरेको उनको भनाइ छ ।

यसरी चर्कियो आन्दोलन

१६ वर्षीय बालक शाहीको शव भेटिनेबित्तिकै स्थानीयहरू आन्दोलित भए । विषेश गरि एमाले कार्यकर्ताहरुले कांग्रेस कार्यकताले नै हत्या गरेको आरोप लगाएर नाराबाजी गरे । कांग्रेसबाट निर्वाचित नगरप्रमुखकोले संगलग्नतामा हत्या भएको भन्दै उनको घर तोडफोडदेखि इलाका प्रहरी कार्यालय र प्रहरीको गाडी पनि जेठ २१ गते तोडफोड भयो । शनिबार बिहान भेटिएको शव सोमबारसम्म घटनास्थलमै रहेको छ । ‘ कांग्रेस र एमालेको विवाद पहिलेदेखि नै थियो । यसै बीचमा एमालेमा आस्थावान व्यक्तिको बच्चाको हत्या भएको छ । यसमा कांग्रेस कार्यकर्ताको संग्लग्नता छ भन्ने आशंका हामीलाई छ ’नेकपा एमाले पञ्चदेवल नगर इन्चार्ज भिम विष्टले भने ,‘शव उठाउनका लागि नगर प्रमुख, स्थानीय जनप्रतिनिधिहरु पनि घटनास्थलमा आउनु पर्‍यो । योजनाकारहरु समातिनु पर्‍यो । प्रहरी प्रमुख निलम्बित हुनु पर्‍यो, प्रमुख जिल्ला अधिकारी यो जिल्लाबाट हट्नु पर्‍यो। इलाका प्रहरी कार्यालय विनायकक सबै प्रहरी बदलिनु पर्‍यो । परिवारलाई न्याय मिल्ने गरि दोषिलाई कारबाहि हुनु पर्‍यो ।’

पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने भने आफू विरुद्ध नाराबाजी र घर तोडफोड भएपछि असुरक्षित ठहर गर्दै सदरमुकाम मंगलसेनमा बसेकी छन् । घटनामा आफूलाई लगाएको आरोप झुटो भएको भन्दै दोषी जोसुकै भएपनि घटनाको सत्यतथ्य छानबिन गर्न आफू पनि लागेको उनले बताइन् ।‘आफ्नै गाउँमा यस्तो घटना घट्दा मलाई आफ्नै परिवारको सदस्य गुमाएको जस्तो पीडा भएको छ । गाउँमा भएको झै-झगडाको विषयलाई लिएर केहि संचारमाध्यमदेखि सामाजिक सञ्जालसम्म मलाई जोडेकोमा मेरो ध्यानाकर्षण भएको छ’ उनले भनिन् ,‘ अपराधी अपराधी नै हुन्छ । यसको कुनै जात , धर्म दल हुदैन । दोषी नउम्कियोस् भनेर म घटना छानविनकै पक्षमा लागिरहेकी छु ।’

विनायक घटनामा विवादमा आएका प्रहरी प्रमुख डिएसपी रविराज थपलिया भने कार्यालयमा छैनन् । जिल्लामा प्रहरी निरिक्षकको भरमा प्रहरी कार्यालय रहेको छ । हरेक घटनालाई सामान्य तरिकाले लैजाने प्रहरी प्रमुखको स्वभावका कारण समस्या उत्पन्न भएको स्रोत बताउँछ । ‘प्रहरी प्रमुख विवादमा आउनु भएको छ । उहाँ जिल्लामा आएर यो घटनाको बारेमा बुझ्न सक्ने अवस्थामा हुनुहुन्न । जिल्लामा अहिले प्रहरी कमाण्डर नै छैन ’ स्रोतले भन्यो ,‘ प्रहरी प्रमुख नै कमजोर देखिनु र जिल्लामा कमाण्डर नहुनुले झन समस्या निम्तिएको छ । अहिले डिएसपी रविराज थपलियाको ठाउँमा अन्य प्रहरी कमाण्डर आएको भए सजिलो हुन्थ्यो ।’

विनायक घटनाको लागि काठमाडौं र धनगढीबाट आएको सिआइबी र कुकुरबाट अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । ‘हामीले सक्ने जति अनुसन्धान गरिरहेका छौं । घटनास्थलबाट पीडित पक्षले शव उठाउन दिएका छैनन् । सर्वदलीय बैठक बसाउन पनि समस्या भइरहेको छ’ उनले भने । घटनाको सत्यतथ्य विषय बाहिर नआउँदासम्म नखोल्ने भन्दै मध्यपहाडी लोकमार्ग पीडित पक्षले आइतबारदेखि बन्द गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?