कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
विनायक घटना

‘छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?’

बलबहादुर शाही

विनायक,अछाम — म एमालेमा आस्थावान मान्छे हुँ । मेरो छोरालाई त राजनीतिको बारेमा केहि पनि थाहा थिएन । बाबु ठूलो मान्छे भएपछि के बन्छस् भन्दा म त खेलाडी बन्छु भन्थ्यो । १६ गते पनि वीरपथमा भलिबल खेलेर ५ हजार रुपैयाँ पुरस्कार जितें भनेर खुसी हुँदै आएको थियो । विद्यार्थीका कुनै पनि संगठनमा ऊ थिएन  । १७ गते साँझ कतै गाउँमा होहल्ला थियो; कतै नाचगान भइरहेको थियो ।

‘छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?’

म घरमै थिएँ । सधैंजसो गाउँमा आफ्ना साथीभाइसँग बसिराख्ने भएकाले मेरो छोरा पनि त्यतै होला भन्ने सोचेँ तर गाउँमा प्रहरी आएपछि प्रक्राउ पर्ने डरले मेरो छोरा पनि गाउँका अन्य केटासँग भागेको रहेछ ।

प्रहरी आएपछि गाउँमा महिला र प्रहरीबीच विवाद भयो । कोही केटाहरू भागे । जता गए पनि मेरो छोरा आफ्नै साथीहरूसँग होला जस्तो लाग्यो । १८ गते पनि म र मेरो परिवारले छोरा कता छ भन्ने खासै सोधिखोजी गरेनौं । जेठ १९ गतेसम्म छोरा सम्पर्कमा नआएपछि खोज्न सुरु गरियो । तीन दिनसम्म परिवारको सम्पर्कमा मेरो छोरा नआएपछि म धेरै आत्तिएँ । १९ गते सोधिखोजी गर्न थालें; त्यहि बेला मेरो छोरा जिउँदो छैन भन्ने मेरो मनमा लाग्यो । कालिकास्थानदेखि विनायकसम्म १९ गते खोजेको खोज्यै गरेँ । मेरो भर्खरै मुटुको अप्रेसन भएको छ । एउटा हात छैन, अपाङ्ग छु । छोरा हराएको छ भनेर एक्ला एक्लै खोज्न हिँड्दा पनि मेरो साथमा कोहि आएनन् । म एक्लै हिँडिरहेको थिए ।

१७ गते राति प्रहरीको लछारपछारबाट चोटपटक लागेका महिलाहरू मंगलसेनमा मुद्दा दर्ता गर्न जाने र उपचार गर्न जाने थाहा पाएपछि मेरो छोरा पनि १७ गते रातिदेखि हराएको छ; बुझिदिनुहोला भनेको थिएँ । त्यसपछि मेरो छोरा हराएको छ भनेर इलाका प्रहरी कार्यालय विनायक गएँ । त्यसपछि प्रहरी र स्थानीयहरू सबै जंगल र भिडमा खाज्न थाले । २१ गते बिहान मेरो छोराको लास पञ्चदेवल क्याम्पस नजिकै मध्यपहाडी सडकबाट करिब ३ सय मिटर तलको सडकमा आधा कुहिएको अवस्थामा भेटियो । राजनीतिक कारणले नै छोराको हत्या भयो । मेरो छोरा मरिसक्यो । अब फिर्ता त जति मरिहत्ते गरे पनि आउँदैन ।

मेरो छोराजस्तै अरु पनि नमर्लान् भन्न सकिँदैन । अब मैले न्याय पाउँछु कि पाउँदिनँ त्यत्ति कुरिरहेको छु । ७/८ महिनाअघि मेरो परिवारलाई साथ नदिने तर मेरै परिवारका केहि व्यक्तिले विनोद अलि टाठोबाठो छ है भन्थे । अहिले पनि उनीहरू उसको विरुद्धमा थिए । राम्रो गरेको देख्न नसक्ने आफ्नै परिवारका केहि व्यक्तिमाथि पनि मलाई शंका छ ।

(मृतक किशोरका बुबा बलबहादुर शाहीसँग कान्तिपुर संवाददाता मेनुका ढुंगानाले गरेको कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ २३, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?