हिउँदे वर्षाले खेतीपातीमा ह्रास- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँदे वर्षाले खेतीपातीमा ह्रास

भवानी भट्ट, गणेश चौधरी

कञ्चनपुर र टीकापुर — पश्चिम तराईको कैलाली र कञ्चनपुरमा यसपाला हिउँदमा भइरहेको पटकपटकको वर्षाले जनजीवन प्रभावित हुनुका साथै हिउँदे बालीलाई प्रभावित पारेको छ । पश्चिम तराईमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाले चिसोसमेत अत्यधिक बढेको छ ।

पटकपटकको वर्षाले हिउँदे बाली गहुँ, तोरी, मसुरो र तरकारीलगायतलाई प्रभावित गर्ने कृषि प्राविधिकहरू बताउँछन् । पानी जम्ने ठाउँमा बोटबिरुवा नै कुहिन सक्नेसमेत उनीहरू बताउँछन् । ‘विगतमा सिँचाइ गरिएको र पानी जम्ने ठाउँमा अहिलेको वर्षाले क्षति पुर्‍याउँछ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले भने, ‘सिँचाइ सुविधा नपुगेको ठाउँमा भने फाइदा नै पुग्छ ।’ कञ्चनपुरमा अधिकांश क्षेत्रका कृषकहरूले यसअघि नै गहुँमा सिँचाइ गरिसकेका छन् । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणको नहरसँगै भूमिगत सिँचाइदेखि विभिन्न साना आयोजनाबाट कृषकहरूले सिँचाइ गरेका हुन् । सिँचाइ गरेपछि पटकपटक वर्षा भइरहेका कारण गहुँ बाली पहेंलो भएको कृषकहरू बताउँछन् ।

खल्ला खेतमा लगाइएको गहुँमा बढी पानी भएका कारण पहेंलो हुन थालेको कैलालीको टीकापुर–७ दुर्जनपुरका धनबहादुर चौधरीले बताए । ‘वर्षामा भित्र्याउने अवस्थाको धान बाढीले नष्ट बनायो,’ उनले भने, ‘अहिले हिउँदे बाली फेरि हिउँदे झरीले सखाप पार्न थाल्यो । हामी किसानको बिजोगै छ ।’ कैलालीको पूर्वी भेगमा पनि गहुँ खेतमा सिँचाइ गरेको पानी नसुक्दै अत्यधिक पानी परेकाले खेतमा लगाएका बालीहरू पहेंलिँदै मर्न थालेको उनले बताए । कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व करिब ४ मेट्रिक टन प्रतिहेक्टर छ । ‘पटकपटकको पानीले गहुँ पहेंलो भएको छ,’ भीमदत्त नगरपालिका–१२ का नारायण साउदले भने, ‘बर्खामा भित्र्याउने बेला बाढीले धान बगायो, अहिले पनि वर्षाले गहुँ सप्रिनै पाएन ।’ कात्तिक पहिलो साताको बेमौसमी वर्षाले उनको डेढ बिघाको धान नष्ट भएको थियो ।

कैलाली र कञ्चनपुरमा गहुँ, तोरी र मसुरो प्रमुख हिउँदे बाली हुन् । हिउँदे बाली गहुँसँगै मसुरो, तोरी र तरकारीसमेत अहिलेको वर्षाले प्रभावित गर्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. विष्ट बताउँछन् ।

तरकारीमा पनि अहिलेको वर्षाले विगतमा सिँचाइ भएको क्षेत्रमा क्षति पुर्‍याउने र सिँचाइ नभएको क्षेत्रमा फाइदा नै पुग्ने विष्ट बताउँछन् । लगातारको शीतलहरका कारण आलुमा डढुवा रोगले समेत प्रभावित गरेको छ । अहिले खन्ने बेलामा भएको वर्षाले कुहिने सम्भावना रहेको विष्टले बताए ।

प्रकाशित : माघ २२, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

टर्की-ग्रीस सीमामा चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु

नेपाली परेको/नपरेकोबारे बुझिरहेका छौँ : राजदूत अधिकारी
इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका प्रतिनिधि भन्छन् : 'नेपाली पनि परेको हुन सक्छ'
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो ।

मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरु कुन देशका हुन् भन्ने खुल्न सकेको छैन । बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् । कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् ।

ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको बताएको छ । ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दु:खद हो । उनीहरू ग्रीस छिर्न खोजेका थिएनन् ।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन् । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको 'वास्तविक तस्बिर' उजागर गर्ने बताएका छन् ।

इप्साला ग्रीसको सीमानजिकै रहेको सहर हो, जुन अवैधानिक रूपमा युरोप प्रवेश गर्न चाहनेहरूको रुट पनि हो । पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ । ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो । पछिल्लो घटनामा नेपाली नागरिक परे/नपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए ।

'सीमामा गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासी धेरै हुने भएकाले पहिचान खुल्न कठिन भएको हो,' राजदूत अधिकारीले भने, 'हाम्रो नागरिक परेको/नपरेकोबारे हामीले बुझिरहेका छौं । टर्कीस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग हामी सम्पर्कमा छौं ।'

टर्कीको इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले नेपाली नागरिक पनि परेको हुन सक्ने बताएका छन् । नेपाली तथा बंगली नागरिक उक्त घटनामा परेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । 'नेपालबाट आफन्तले एक जना चार दिनदेखि टर्कीमा हराइरहेको भन्ने सन्देश पठाउनु भएको छ, उहाँको अवस्थाका बारेमा पनि हामीले बुझ्ने प्रयास गरिरहेका छौं,' घिसिङले इकान्तिपुरसित भने, 'उहाँ र अरु पनि कोही परेको छ कि भन्नेबारे हामीले यहाँका स्थानीयलाई नै सोधखोज गर्न घटनास्थलमा पठाएका छौँ ।'

वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर–२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन् । इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्। अवस्थी दसैं अगाडि काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट टर्की गएका हुन् । त्यसयता नियमित रूपमा परिवारसँग सम्पर्क भइरहे पनि मंगलबारदेखि कुरा हुन नसकेको एक आफन्तले बताए ।

प्रकाशित : माघ २२, २०७८ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×