कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो दसैं, फर्किएनन् कर्मचारी

(वीरेन्द्रनगर) र (डोल्पा) — दसैं बिदा सकिए पनि कर्मचारी नफर्किदा कर्णालीका सरकारी कार्यालय सुनसान बनेका छन् । कर्मचारी अभावले सरकारी कार्यालयको कामकाज सुचारु नहुँदा सेवाग्राही सास्ती भोग्न बाध्य छन् । 

बाहिर जिल्लाका कर्मचारी नफर्किएपछि हिमाली जिल्लाका अधिकांश कार्यालयको सेवाप्रवाह ठप्प छ । कर्मचारी नफर्कंदा स्थानीय तहको सेवा प्रवाहसमेत सुस्त बनेको छ । कर्मचारी नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, सुर्खेतले १४ सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । मंगलबार बिहान गरिएको अनुगमनका क्रममा १० कार्यालयका ५३ कर्मचारी अनुपस्थित रहेको पाइयो ।


अधिकांश कर्मचारी एक महिनादेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको टोलीले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशुविज्ञ उत्तमबहादुर थापा भदौ २५ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर बासुदेव पौड्याल पनि भदौ ३० गतेदेखि कार्यालयमा आएका छैनन् । अनुगमन टोलीका अनुसार डिभिजन वन कार्यालयका हरिशचन्द्र सिंह ठकुरी १६ दिनदेखि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक भीमबहादुर बिष्ट १० दिनदेखि र पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यबहादुर शाही दुई हप्तादेखि कार्यालयमा अनुपस्थित छन् ।


अनुगमन गरिएकामध्ये चार कार्यालयमा भने सबै कर्मचारी उपस्थित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बताए । उनका अनुसार ती कार्यालयमा नियमित सेवा प्रवाह भइरहेको छ । टोलीका अनुसार नेपाल टेलिकम, जल तथा मौसम कार्यालय, यातायात व्यवस्था कार्यालय र कर्मचारी सञ्चय कोषमा सबै कर्मचारी उपस्थित छन् । ती कार्यालयका सबै कर्मचारीले पोशाकसमेत लगाएको पाइएको प्रशासकीय अधिकृत शर्माले जनाए । अनुगमन टोलीका अनुसार नापी कार्यालयका सात, भूकम्प मापन केन्द्रका पाँच र श्रम तथा रोजगार कार्यालयका एक कर्मचारी अनुपस्थित रहेको थिए । पूर्वाधार विकास कार्यालयमा उपस्थित तीन जनाले पोशाक नलगाएको भेटिएको टोलीले जानकारी दियो । संघीय आयोजना कार्यान्वयन इकाईका १२, जनस्वास्थ्य कार्यालयका ९ र पूर्वाधारका एक कर्मचारी हाजिर नभएको भेटिएको शर्माले जानकारी दिए ।


प्रमुखविहीन कार्यालय

दसैं मनाउन घर गएका डोल्पाका अधिकांश सरकारी कार्यालय प्रमुख फर्किएका छैनन । जिल्ला समन्वय समिति, पूर्वाधार विकास, स्वास्थ्य सेवा, शिक्षा विकास तथा समन्वय इकाई, डिभिजन वन र मालपोत कार्यालय प्रमुखविहीन छन् । त्यस्तै विद्युत प्राधिकरण, उद्योग, निर्वाचन, नापी, कोष तथा लेखा नियन्त्रक, हुलाक र ठूलीभेरी नगरपालिका कार्यालयका प्रमुख नफर्किंदा कामकाज सुचारु हुन सकेको छैन ।


मुगुका कार्यालयमा चहलपहल


दसैं बिदामा घर गएका कर्मचारी फर्कन थालेपछि जिल्लाका सरकारी कार्यालयमा चहलपहल सुरु भएको छ । चार स्थानीय तह र सदरमुकाममा रहेका विषयगत सरकारी कार्यालयका कर्मचारी फर्किएपछि सेवाप्रवाह सुचारु भएको हो । अधिकांश कर्मचारी कार्यक्षेत्रमा फर्किसकेको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनका अनुसार केही कर्मचारी फर्किने क्रममा बाटोमै छन् ।


दसैं बिदा सकिएसँगै अदालत, मालपोत, कृषि, वन, भेटेनरी, स्वास्थ्यलगायत कार्यालयमा सेवाग्राहीको चाप बढ्न थालेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार अधिकांश कर्मचारी फर्किसकेका छन् । ‘बिदा सकिएलगत्तै कार्यालयमा फर्कन निर्देशन दिइएको थियो,’ उनले भने, ‘अत्यावश्यक र विभागीय काम भएका केही कर्मचारी मात्र फर्कन बाँकी छ ।’ उनले कर्मचारीको अवस्था बुझ्न एक/दुई दिनभित्रै अनुगमन गरिने जनाए ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?