संकटमा स्यार्पुताल

वन फँडानी, अव्यवस्थित चरिचरन र जथाभावी आगजनीलगायत कारणले बाढीपहिरो आई बर्सेनि ताल पुरिरहेको छ
हरि गौतम

रुकुम पश्चिम — स्यार्पुताल आसपासकै क्षेत्रमा उनले ८४ वर्ष गुजारे । यो उमेरसम्म तालको अनेक आकार देख्न भ्याए । ताल फुट्ने, चारैतिरबाट पुरिने र गहिराइ घट्‌ने जस्ता अवस्था उनले देखिरहेका छन् । बाँफिकोट गाउँपालिका–३ का जोखु खत्रीलाई लाग्छ कि मान्छेले गर्ने अनेक क्रियाकलापले ताल मासिँदै छ ।

संकटमा स्यार्पुताल

उनले थाहा पाएदेखि २०२२ भदौ ११ गते पहिलोपटक स्यार्पुतालबाट बाहिरिने पानीको बहावले बाटो बदलेको थियो । मुहानतर्फबाट झरेको पहिरो तालमा खसेपछि गहिराइका छिद्र पुरिँदा अकै छेउबाट पानी बाहिर जान थाल्यो । त्यसयता तालको पश्चिम दक्षिणबाट पानी बाहिरिने क्रम कायमै छ । मुहान क्षेत्रमा पर्ने सानीबोध्ले जलाधार क्षेत्रबाट झरेको पहिरो ताल संकटको पहिलो कारण भएको उनको ठहर छ । पहिरोले तालको मुहानतर्फको झण्डै २ सय मिटर भूभाग पुरेको थियो ।


त्यसको ३८ वर्षपछि २०६० साउन ३२ गते फेरि ठूलो बाढी आयो । बाँफिकोट–५ खारखोलाको मानव बस्तीसमेत बगाउनेगरी आएको बाढीपहिरोले ताललाई थप संकटमा पार्‍यो । बाढीपहिरोले खारखोलाका ३२ परिवारको उठिबास लगायो भने ४ जनाले ज्यान गुमाए । स्यार्पु आसपासमा साना पहिरो बर्सेनि झरिरहेका छन् ।


संघीय सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको रुकुम पश्चिमस्थित स्यार्पूताल बर्सेनि खुम्चिरहेको छ । तालमाथिको वन फँडानी, अव्यवस्थित चरिचरन र जथाभावी आगजनीलगायत कारणले बाढीपहिरो आई ताल पुरिरहेको स्थानीयको भनाइ छ । ताल वरपर व्यक्तिगत र सामूहिक विकासले पनि यसलाई संकटमा पारेको स्यार्पूका ७४ वर्षीय भीमु दाहालले बताए । अहिले तालको वरिपरि धमाधम घरघडेरी निर्माण भइरहेका छन् । स्यार्पुतालको मुहानतर्फका जलाधार क्षेत्र डम्माना, धजाहाल्ने, थुमलेक, समइजा, सेतापहिरा, बोद्ले, निगालपानी, कालाचुला, स्युवाङ, सिमलेकलगायत ठाउँमा मानवीय गतिविधि रोक्नसके ताल पुरिने अवस्था न्यून हुने पर्यटन व्यवसायीको भनाइ छ ।


झण्डै ६ वर्षसम्म एस्क्याभेटर र डोजरले स्यार्पुताल वरपर खनेको चक्रपथले पनि ताल संकटमा परेको स्थानीय अगुवा बालकृष्ण रिजालले बताए । तालको वरिपरि ५ किलोमिटरको चक्रपथ बनाइएको छ ।



तालको विकासको लागि चक्रपथ बनाएको भनिए पनि त्यसले झनै संकटतर्फ उन्मुख गराएको वीरेन्द्र माविका शिक्षक शेरवीर दाहालले जनाए । ‘हाम्रा गतिविधि यसरी नै अनियन्त्रित हुने हुन् भने अबको केही वर्षमै स्यार्पुताल इतिहासमा सीमित नहोला भन्न सकिन्न,’ उनले भने, ‘तालको संरक्षणका निम्ति स्थानीय र अन्य सरोकारवालाको समयमै ध्यान जान जरुरी छ ।’ बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडामा रहेको ताल २.६ वर्गकिलोमिटरमा फैलिएको छ । यो नाप धेरै पहिला लिइएको हो । सबैतिरबाट खुम्चिँदै गएको ताल पुरानै क्षेत्रफलमा नरहेको रिजालले बताए । तालमा पानीको मात्रा पनि हरेक वर्ष घटिरहेको उनको भनाइ छ । हरेक बर्खामा खस्ने पहिरोसँगै ढुंगामाटो तालमा खस्ने गरेको उनले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बाहिरिने पानीको बहाव ठूलो हुँदै गएको छ ।


गुरुयोजना अलपत्र

स्यार्पुतालको संरक्षणका लागि गुरुयोजना निर्माण गरिए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्ला भूसंरक्षण कार्यालयको अगुवाइमा २०६८ सालमा बनाइएको गुरुयोजना अनुसार काम हुन नसकेको जिल्ला पर्यटन विकास समितिका पूर्वसदस्य गोपाल केसीले बताए । गुरुयोजनामा तालको मुहानतर्फका गल्छी ग्याबिन तारको सहायताले पुर्ने, तालको सबै जलाधार क्षेत्रमा जडीबुटी खेती गर्ने र जलाधार क्षेत्रमा हुने मानवीय गतिविधिलाई बन्द गर्नेलगायत समेटिएको उनले बताए । वरपर वृक्षरोपण गर्ने र तालमा फैलिँदै गएको झ्याउ फाल्नेसमेत गुरुयोजनामा उल्लेख छ । गुरुयोजना निर्माण भएको ९ वर्ष बित्दासमेत कार्यान्वयनमा कसैले चासो नदिएको केसीको गुनासो छ ।


स्थानीय सरकारको पुगेन ध्यान

स्थानीय सरकार गठन भएको लामो समय बित्दासमेत स्यार्पु संरक्षणमा चासो दिएको छैन । बाँफिकोटले दुई आर्थिक वर्षको बजेट कार्यान्वयन गरिसक्यो तर गाउँपालिका कार्यालयभन्दा झण्डै डेढ किलोमिटरको दूरीमा रहेको स्यार्पुताल नदेखेझैं गरेको छ ।


स्यार्पुतालको संरक्षणका लागि स्थानीय सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन गरेको छैन । तालको प्रचारप्रसारका लागि भन्दै महोत्सव आयोजना भइरहेको छ । तर, संरक्षणका लागि अन्य निकायले पनि बेवास्ता गरिरहेको स्थानीयको गुनासो छ । ‘नजिकै सरकार आयो, स्यार्पुको संरक्षणमा ध्यान जालाजस्तो लागेको थियो,’ स्थानीय संगम देवकोटाले भने, ‘तर स्थानीय सरकारले अहिलेसम्म स्यार्पु देखेन ।’


स्थानीय सरकारले गत फागुनमा तालको संरक्षणका लागि गुरुयोजना भने बनाएको छ । तर त्यो तालको मात्रै नभएर गाउँपालिकाकै समग्र कृषि र पर्यटनको गुरुयोजना हो । तालको विकासमा उक्त योजना अपूरो नै रहेको देवकोटाले जनाए । गुरुयोजना बनिसकेकाले तालको विकासका लागि अन्य योजना बनाइरहेको दाबी गर्छन्, गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी । ‘गुरुयोजना निर्माण गरिएको छ, अब त्यसैअनुसार कार्यक्रम बनाएर स्यार्पुको प्रचार र संरक्षण गरिनेछ,’ उनले भने, ‘गुरुयोजनामा जलाधार क्षेत्र, त्यसमुनिका बस्ती, तालको संरक्षण र आसपासको बस्ती व्यवस्थापनका विषयसमेत छन् ।’


ताल भौगोलिक रुपमा संकटमा पर्दै गएको छ नै, तालमा अव्यवस्थित तवरले सञ्चालन गरिने डुंगा, पौडी खेल्ने स्थानीय तथा पर्यटकको विभिन्न गतिविधिले फोहोर दैनिक बढिरहेको छ । पर्यटकले मदिराका बोतल, चाउचाउका प्याकेट, बिस्कुट, सुर्ती तथा चुरोटलगायत वस्तु तालमा जथाभावी फाल्ने गरेका छन् । जथाभावी कपडा धुने र नुहाउने कार्यले पनि ताललाई दुर्गन्धित बनाइरहेको छ ।


छैन पर्यटकको ‘रेकर्ड’

ताल हेर्न दैनिक १५ देखि ५० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तर त्यसको यकिन तथ्यांक कसैसँग छैन । संरक्षण समिति, वडा कार्यालय र गाउँपालिका कार्यालयले तथ्यांक राख्ने गरेका छैनन् । ताल हेर्न, पौडिन तथा र्‍याफ्‍टिङ गर्न आउनेको संख्या दैनिक बढिरहेको शिक्षक दाहालले बताए । स्थानीयले सञ्चालन गरेका डुंगामा दैनिक पर्यटकले सयर गर्ने गरेका छन् । आम्दानीको लेखाजोखा नहुँदा पनि ताल संरक्षणका लागि प्रभावकारी काम हुन नसकेको उनको भनाइ छ ।


चालु आर्थिक वर्षमा ताल संरक्षणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, बजेट सही ठाउँमा प्रयोग नभएको स्थानीयको आरोप छ । स्यार्पुताल कृषि सहकारी संस्थाले प्रदेश सरकारको बजेटबाट काम भइरहेको जनाएको छ । मुहानतर्फ पर्खाल लगाइरहे पनि त्यसबाट तालको संरक्षण नहुने स्थानीय मनबहादुर केसीले बताए । ‘ठूलो बाढीपहिरो आउँदा त्यो पर्खाल फेरि तालमै मिसिने हो,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?