सडक सपना अधुरै : कुहिँदै जडीबुटी र कृषि उत्पादन

‘सडक नहुँदा करोडौंको जडीबुटी र कृषि उत्पादन बर्सेनि कुहिएर जाने गरेको छ, खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सबैले सास्ती पाए’
राजबहादुर शाही, छपाल लामा

मुगु र हुम्ला — भौगोलिक बिकटताका कारण मुगमकार्मारोङ गाउँपालिका अझै सडक सञ्जालमा जोडिन सकेको छैन । कार्मारोङको अधिकांश सिमाना चीनसँग जोडिएको छ । सरकारले चिनियाँ नाका जोड्नेगरी सडक निर्माणको काम सुरु गरे पनि वर्षौदेखि अलपत्र परेको छ ।

निर्माण कार्य सुरु भएको डेढ दशकसम्म छाइलसम्म १६ किलोमिटर दूरीमा मात्र ट्रयाक खोलिएपछि स्थानीयको सडक सपना अधुरै भएको हो । सडक सुविधा नहुँदा स्थानीयले वर्षौदेखि खाद्यान्न अभावको सामना गरिरहेका छन् । सरकारी बेवास्ताका कारण घर अगाडीबाट गाडी चढ्ने सपना अधुरै रहेको डोल्फू गाउँका फोञ्जुक तामाङले बताए । उनका अनुसार गाउँपालिका जडीबुटी, आलु र सिमी उत्पादनमा सबैभन्दा अगाडि छ । ‘सडक नहुँदा करोडौंको जडिबुटी र कृषि उत्पादन वर्सेनि कुहिएर जाने गरेको छ,’ उनले भने, ‘खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती भोग्दै आइरहेका छौं ।’

सडक सुविधा नहुँदा विकास निर्माणका कामले तीव्रता पाउन नसकेको स्थानीयको गुनासो छ । गमगढी बजारमा १ हजार ४ सय मूल्य पर्ने सिमेन्ट मुगु गाउँमा १२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । डोल्फू, चितै, किम्री, मुगुलगायत गाउँका बासिन्दा गमगढीबाट खच्चड र पिठ्युँमा खाद्यान्न ओसार्न बाध्य छन् । गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले खाद्यान्न र निर्माण सामग्री गाउँ पुर्‍याउन तीन गुणा बढी ढुवानी भाडा तिर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार गमगढीबाट पूलुसम्म सामान पुर्‍याउन प्रतिक्विन्टल ५ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । खडेरीग्रस्त क्षेत्र भएकोले सबै गाउँमा न्यून खाद्यान्न उत्पादन हुने उनी बताउँछन् । ‘सडक असुविधाका कारण वसाइसराइ गर्नेको संख्या बढिरहेको छ,’ उनले भने, ‘वाङरी गाउँमा मात्रै यस वर्ष एक दर्जन परिवारले बस्ती छोडेका छन् ।’ स्थानीयबासी बिरामी परे हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार सुत्केरी र जटिल अवस्थाका बिरामी बचाउन ५ लाख रुपैयाँ तिरेर हेलिकप्टरमार्फत उद्दार गर्नुपर्ने बाध्यता छ । अधिकांश क्षेत्रबाट गाउँपालिकाको केन्द्र पूलु पुग्न दुई दिन हिड्नुपर्ने बाध्यता रहेको उनले सुनाए । गाउँपालिकाको बजेट राष्ट्रिय सडक सञ्जालमा खर्च गर्न नमिल्ने भएकाले समस्या भएको अध्यक्ष लामाको गुनासो छ । उनका अनुसार ९ वडामा १२ बस्ती छन् । १२ वटै बस्तीका स्थानीयलाई गाडी चढ्न गमगढी आउन्पुर्ने बाध्यता छ । सडक निर्माणको लागि अहिलेसम्म १० करोड रुपैयाँ खर्च भइसकेको छ ।

सडक डिभिजन कार्यालय, जुम्लाका अनुसार सडकमा दुई वर्षयता बजेट आएको छैन । चालु आर्थिक वर्षमा सडक निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन भएको डिभिजन कार्यालयका इन्जिनियर श्रवणकुमार महतराले बताए । उनले यस वर्षदेखि सडक निर्माणको कामलाई तीव्रता दिइने जनाए ।

सोरुकोटसम्म नियमित जिप
सोरु गाउँपालिकामा यस वर्षदेखि जिपसेवा सञ्चालन भएपछि सदरमुकाम आउजाउ सहज भएको छ । गाउँपालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि स्थानीय उत्पादनले बजार पाउन थालेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी सहज बनेको छ । ग्रामीण पहुँच कार्यक्रमले दुई वर्षअघि नै गमगढीदेखि गिलाहा तारापानीसम्मको २१ किलोमिटर सडकमा ट्रयाक खोलेको थियो ।

सिपगाउँदेखि सोरुकोटसम्मको १६ किलोमिटर दूरीमा गाउँपालिकाले ट्रयाक खोलेपछि नियमित सवारी साधन सञ्चालनमा आएका हुन् । गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सडक उद्घाटन नभए पनि सवारी साधन चल्न सुरु भएको जानकारी दिए । उनका अनुसार सोरुकोटसम्म नियमित जिपसेवा सञ्चालन भइरहेको छ । गाउँपालिकाले दुई करोड रुपैयाँ खर्च गरी केन्द्रसम्म सडक पुर्‍याएको उनको भनाइ छ । गाउँपालिकाका अनुसार गिलाहा तारापानीदेखि सिप जोड्न कर्णाली नदीमा बेलिब्रिज निर्माण नभएकाले दुई खण्डमा जिप चलाउन सुरु गरिएको हो ।


तारापानीदेखि गमगढीसम्म प्रतिब्यक्ति ५ सय र सिप गाउँदेखि सोरुकोटसम्म प्रतिब्यक्ति ७ सय रुपैयाँ जिपभाडा कायम गरिएको छ । सोरुकोटसम्म जिप पुगेपछि बिरामीलाई अस्पताल लैजान सहज भएको अध्यक्ष शाहीले जानकारी दिए । ‘यसअघि स्थानीयलाई सोरुकोटदेखि गमगढी पुग्न १ दिन पैदल हिड्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘सडकको ट्रयाक खुलेपछि तीन घण्टामै स्थानीयले सदरमुकाम आउजाउ गरिरहेका छन् ।’

सिमकोट पुग्यो १२० क्विन्टल चामल

सडक मार्गबाट चिनियाँ नाका हिल्सा हुँदै हुम्ला सदरमुकाम सिमकोटमा पहिलोपल्ट खाद्यान्न पुगेको छ । नेपाल खाद्य संस्थानले १ सय २० क्विन्टल चामल सोमबार सदरमुकाम सिमकोट पुर्‍याएको हो ।

हिल्साबाट यालवाङ–सल्ली– धिगा हुँदै हेप्काखोलाबाट चामल सिमकोट पुर्‍याइएको संस्थानले जनाएको छ । तीन साताअघि केरुङ नाकाबाट चामल हिल्सा पुर्‍याइएको थियो । संस्थानका अनुसार लेखदिघा नजिकै सडक विग्रिएपछि ढिलोगरी चामल सिमकोट पुगेको हो । सडक मर्मत गर्न एक साताको समय लागेको थियो । सोमबार दुई ट्रक खाद्यान्न हेप्काखोलाबाट सिमकोट पुर्‍याएको ठेकेदार ध्रुव शाहीले जानकारी दिए ।

संस्थानले हुम्लाका लागि पाँच हजार पाँच सय क्विन्टल चामल पैदल मार्गबाट ढुवानी हुने जनाएको छ । त्यसमध्ये एक हजार पाँच सय क्विन्टल नाम्खा गाउँपालिकामा वितरण गरिएको संस्थानका शाखा प्रमुख रामबहादुर विष्टले जनाए । सिमकोट डिपोका लागि चार हजार क्विन्टल ढुवानी गर्ने संस्थानको योजना छ । थप खाद्यान्न पनि दसैं अगाडि नै सिमकोट पुर्‍याउने तयारी भइरहेको शाखा प्रमुख विष्टले जानकारी दिए । ‘सडक मार्गबाट चामल ल्याउने क्रम सुरु भइसकेको छ,’ उनले भने, ‘केही चामल पुगिसक्यो, केही पुग्ने क्रममा छ, यसपालिको दसैंमा विगत वर्षजस्तो खाद्यान्न अभावको समस्या हुने छैन ।’

यसअघि हुम्लामा हवाइ मार्गबाट खाद्यान्न ढुवानी गर्ने गरिएको थियो । काठमाडौंबाट पहिलोपल्ट केरुङ नाका र तिब्बती भूमि हुँदै खाद्यान्न ढुवानी सुरु गरिएको हो । यो मार्गबाट ल्याएको चामल यालबाङसम्म आइपुग्दा प्रतिकिलो ४२ रुपैयाँ र त्यहाँबाट सदरमुकाम सिमकोटसम्म ल्याउन गाडी र खच्चडमार्फत ४३ रुपैयाँ गरी ८५ रुपैयाँ मात्र पर्ने संस्थानले जनाएको छ । यो मूल्य विगतमा नेपालगन्ज हुँदै सिमकोट ल्याइपुयाउँदा भन्दा २८ रुपैयाँ कम हो ।

प्रकाशित : आश्विन ८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

बढ्यो डेंगु र स्क्रब टाइफस संक्रमण

कान्तिपुर संवाददाता

सुर्खेत — पछिल्लो समय सुर्खेतसहित कर्णाली प्रदेशका पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको छ  । सरकारी निकायले भने संक्रमण सामान्य भन्दै आत्तिन नपर्ने बताएका छन्  ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगुका ३१ बिरामी फेला परेका छन् । तीमध्ये एकजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

निर्देशनालयका अधिकृत श्यामलाल आचार्यका अनुसार सबैभन्दा बढी सुर्खेतमा १९ जनामा डेंगु भेटिएको छ । सल्यान, कालीकोट, दैलेख र रुकुम पश्चिममा ३/३ बिरामी भेटएको उनले बताए । ‘हामीले सावधानी अपनाइरहेका छौं, रोग पहिचान हुनेबित्तिकै उपचारमा कमी हुँदैन,’ उनले भने, ‘प्रदेशका सबै स्वास्थ्य निकायलाई डेंगुबारे उच्च सतर्कता अपनाउन भनिएको छ ।’

पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसको संक्रमण पनि देखापरेको छ । विशेषगरी पश्चिम सुर्खेतबाट उपचारका लागि आउने बिरामीमा टाइफस देखिएको चिकित्सकको भनाइ छ । वीरेन्द्रनगरस्थित बालरोग अस्पतालका डा. नवराज केसीले पछिल्लो केही दिनयता स्क्रब टाइफस करिब २ दर्जन बालबालिकामा देखिएको बताए । ‘पश्चिमतिर स्क्रब टाइफसको संक्रमण अलि बढी नै भएजस्तो लागेको छ, बेलैमा रोगको पहिचान नहुँदा बालबालिका सिथिल अवस्थामा अस्पताल पुग्छन्,’ उनले भने, ‘समस्या सानो भए पनि ढिलाइले निकै जटिल बनाइसकेको हुन्छ, धन्न उपचारपछि निको भएर घर फर्किएका छन् ।’

स्क्रब टाइफसको संक्रमण सरकारी निकायको जानकारीमा भने निकै कम छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशभरि ७ जनामा मात्र स्क्रब टाइफस देखापरेको छ । पञ्चपुरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले स्क्रब टाइफसका बिरामी भेटिएकोबारे अहिलेसम्म आधिकारिक जानकारी स्वास्थ्य संस्थाबाट प्राप्त नभएको बताए । ‘ज्वरोका बिरामी त देखिन्छन्, तिनीहरूमा स्क्रब टाइफस नै हो भन्ने पुष्टि भएको छैन,’ उनले भने, ‘स्वास्थ्य संस्थाहरूले पनि यसबारे रिपोर्टिङ गरेका छैनन् ।’ मुसाबाट सर्ने स्क्रब टाइफसको उपचार सामान्य भए पनि पहिचानमा ढिलाइ हुँदा समस्या देखिने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्