कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जथाभाबी खोटो संकलनले मासिँदै सल्लेरी

कलिला रुखबाट खोटो निकालिँदा सल्यान र जाजरकोटका सल्लेरी वन जोखिममा

(जाजरकोट) र (सल्यान) — सल्यान सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल छेउमा रहेको सल्लेरी वनमा मसिना सल्लाको रूखमा चोट बनाएर खोटो निकालिँदै आएको छ । खोटो संकलन कार्यविधिअनुसार ३० सेन्टिमिटरभन्दा कमको सल्लाको रूखबाट खोटो निकाल्न मिल्दैन । नजिकै डिभिजन वन कार्यालय भए पनि कर्मचारीको ध्यान पुगेको छैन । 

जथाभाबी खोटो संकलनले मासिँदै सल्लेरी

‘यति साना रूखबाट यसैगरी खोटो निकाल्ने हो भने त दुई–चार वर्षमा सल्लेरी पुरै मासिन्छ,’ स्थानीय रेशमबहादुर बस्नेत भन्छन्, ‘सरकारी निकायलाई नै चासो नभएपछि जे गरे पनि त भयो ।’ उनलाई चिन्ता लागेको जस्तो अवस्था खलंगाको सल्लेरी वनमा मात्र सीमित छैन, सल्यान र जाजरकोटका थुप्रै वनमा झाँगिइरहेको छ । मापदण्डविपरीत जथाभावी खोटो निकालिँदा यहाँका सल्लेरी वन मासिने क्रम बढ्दो छ । खोटो कम्पनीले बर्सेनि मनलाग्दी गरे पनि सरोकारवाला निकाय भने मौन छन् । विशेषगरी स्थानीय सामुदायिक वनहरूको मिलेमतोमा सल्लेरी वनको दोहन भइहेको छ ।


सल्यानका करिब २ सय र जाजरकोटका ४९ सामुदायिक वनमा रोजिन कम्पनीले खोटो संकलन गर्छन् । कार्यविधिअनुसार जमिनको सतहबाट १ मिटर ३० सेन्टिमिटर उचाइमा ३० सेन्टिमिटरभन्दा बढी ब्यास भएका सल्लाको रूखबाट मात्र खोटो निकाल्न पाइन्छ । कार्यविधिमा उल्लिखितभन्दा कम व्यासका रूखबाट समेत खोटो निकालेको पाइएको छ । त्यति मात्र होइन, प्रतिसय रूखमा १० वटा रूखलाई ‘माउरूख’ का रूपमा सुरक्षित राख्नुपर्नेमा कम्पनीले त्योसमेत गरेका छैनन् । जाजरकोट ढिमेका जगत मल्लले जंगलका सबै रूखमा चारैतिरबाट पटक–पटक खोटो निकाल्दा सल्लेरी सकिन लागेको बताए । ‘नयाँ बिरुवा उत्पादन हुने क्रम रोकिएको छ, भएका रूखहरू बर्सेनि खोटो निकालिँदा सुकिरहेका छन्,’ उनले भने, ‘वन उपभोक्ता समितिका पदाधिकारीहरू आर्थिक प्रलोभनमा पर्दा खोटो संकलनले वनको विनाश निम्त्याइरहेको छ ।’ आर्थिक तथा वातावरणीय प्रभाव मूल्यांकन, खोटोको तौल र चलानी दरपिठको क्रममा आर्थिक लेखदेन हुने गरेको उनले दाबी गरे । सल्लेरी वनका रूख सुक्नुको अर्को कारण अधिक मात्रामा एसिड प्रयोग गर्नु पनि हो । खोटो कम्पनीहरूले खोटो बढी झार्नका लागि सल्फ्युरिक एसिडको प्रयोग गर्छन् । यसले सल्लाको रूखलाई सुकाउने डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बताए । उनका अनुसार एउटा रूखमा दुईभन्दा बढी बेलेज (खोटो स्राव गराउने बाटो) बनाउनु, जंगलमा रहेका सबै रूखबाट खोटो निकाल्नु र आवश्यकताभन्दा बढी मात्रामा एसिडको प्रयोग गर्नुजस्ता कारणले सल्लेरी वन क्षेत्र संकटमा पर्दै आएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत खोटो संकलन गरेको देखिए पनि कारबाही गर्न भने नसकेको उनले स्विकारे । ‘हामीले अनुगमनको क्रममा खोटो संकलन क्षेत्रमा सल्लाका रूख जभाथावी काटिएका देख्यौं, रूखमा समेत गहिरो र ठूलठूला घाउ देख्यौं,’ उनले भने, ‘यसलाई रोक्नका लागि त वन कार्यालय, खोटो कम्पनी र वन उपभोक्ता समूहबीच संयुक्त सहमति हुन आवश्यक छ ।’


जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिका दर्जनौं सामुदायिक वनमा सल्लाघारी फँडानी भएको छ । स्थानीय कालीबहादुर सिंहले अन्धाधुन्द खोटो निकाल्दा र सल्लाका काठ निकासी गर्दा जंगल विनाश भएको बताए । एउटै सामुदायिक वनमा डेढ सय बढी सल्लाका रूख फाँडिएका उनको भनाइ छ । ‘जंगलबाट फाँडेर ल्याएका सल्लीका हजारौं गिन्टा सडक छेउछाउ थुपारेर राखिएका छन्,’ उनले भने, ‘खोटो कम्पनी र वन उपभोक्ताकै मिलेमतोमा वन विनाश भइरहेको छ ।’ ढलेको रूख भन्दै राम्रा सग्ला पनि ढाल्ने गरिएको उनले बताए । गत आर्थिक वर्षमा एउटै सामुदायिक वनले ५० लाखसम्मको सल्लाको काठ बेचेको पाइनु वन विनाशको अवस्था छर्लङ्ग हुने उनको भनाइ छ ।


जाजरकोट र सल्यानका सामुदायिक वनहरूबाट खोटो निकाल्ने काम दुई दशकयता हुँदै आएको हो । खोटो निकाल्ने कार्य व्यवस्थित रूपमा अघि नबढ्दा व्यापार–व्यवसायको नाममा वन विनाश भइरहेको स्थानीय बताउँछन् । सल्यानको शारदा नगरपालिका–७ कजेरीका मानबहादुर बुढाथोकीले खोटो कम्पनीहरूले स–साना रूखबाट खोटो निकाल्नुका साथै ती रूखलाई दाउराका लागि उपयोग गर्न स्थानीयलाई प्रोत्साहित गर्ने गरेका बताए । ‘रोजिन कम्पनीले खोटो निकाल्नुभन्दा पहिले सल्लेरी वन निकै बाक्लो थियो, अहिले त नांगा डाँडा मात्र छन्,’ उनले भने, ‘विनाशलाई नरोक्ने हो भने केही वर्षमा सल्लेरी वन मासिन सक्छ ।’


स्थानीयले खोटो संकलनको नाममा भइरहेको वन विनाशबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता हुने गरेको स्थानीयको भनाइ छ । वनगाडकुपिण्डे नगरपालिकाका देवबहादुर रानाले खोटो कम्पनीको मनपरीले नगर क्षेत्रमा पर्ने करिब एक दर्जन सामुदायिक वनमा सल्लाका रूख फँडानी भएकोबारे वन कार्यालयमा जानकारी गराए पनि कुनै कारबाही नभएको बताए । डिभिजन वन कार्यालय प्रमुख थिरबहादुर कार्की भने मापदण्डविपरीत खोटो संकलन गर्ने कम्पनीलाई यस वर्ष प्रतिबन्ध नै लगाइएको बताउँछन् । ‘विगतमा करिब तीन सय वनबाट खोटो संकलन अनुमति दिइँदै आएकोमा यो वर्ष सयवटाको स्वीकृति कटौती गरिएको छ,’ उनले भने ।


खोटो संकलक कम्पनीले वार्षिक रूपमा खोटो संकलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर संकलन गर्ने गरेका छन् । कार्यविधिमा हरेक वर्ष चैतदेखि कात्तिकसम्म खोटो संकलन गर्ने समय तोकिएको छ । खोटो निकाल्नका लागि एउटा रूखमा अधिकतम ३२ जोडी रिल बनाउनुपर्छ । कम्पनीले भने छोटो समयमा धेरै खोटो निकाल्न सय जोडी रिल बनाउने गरेका छन् । यसले अनुमति लिइएभन्दा दोब्बर मात्रामा खोटो निकालिने गरेको डिभिजन वन प्रमुख कुमाईले बताए ।


जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका चार दर्जन सामुदायिक वनबाट खोटो संकलन हुने गरेको छ । जाजरकोटका जंगलबाट बाँकेका जयबागेश्वरी रोजिन र देउती रोजिन एन्ड टर्पेन्टाइन उद्योग, कपिलवस्तुको स्वस्तिक रोजिन एन्ड टर्भेन्टाइन, रूपन्देहीको एभरेस्ट हर्बल एन्ड रोजिन र माउन्ट रोजिन एन्ड टर्पेन्टाइनले खोटो संकलन गरेर निकासी गर्ने गरेका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ३२ हजार २७ केजी खोटो निकासी गरेका थिए । सामुदायिक वनले खोटोबाट १ करोड ७२ लाख आम्दानी गरेका छन् । सल्यानमा भने गत आर्थिक वर्षमा १ लाख ७० हजार केजी खोटो निकासी भएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?