कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोठमै कुहियो स्याउ, सडक पुन: अवरुद्ध

खाद्य संस्थानका शाखा प्रमुख रणबहादुर रावल भन्छन्, ‘सडककै कारण जिल्लाभरिका खाद्य गोदाममा चामल सकियो’

(मुगु) र (रुकुम पश्चिम) — सोरु गाउँपालिका ४, की सरिता शाहीलाई कालिकोटको नाग्मा बजारबाट गमगढी पुग्न चार दिन लाग्यो । हिलाम्मे सडकका कारण सवारी साधन नचल्दा उनलाई चार दिनको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भएको हो । 

गोठमै कुहियो स्याउ, सडक पुन: अवरुद्ध

उनी मात्र होइन, कर्णाली राजमार्गअर्न्तगत नाग्मा–गमगढी सडक अझै नियमित नहुँदा जिल्ला भित्रिने र बाहिरिने यात्रुले लामो समयदेखि सास्ती भोगिरहेका हुन् । ‘वर्षाले सडकको अवस्था नाजुक बनेको छ,’ उनले भनिन्, ‘ठाउँठाउँमा खसेका पहिरो र हिलाम्मे सडकले हैरान बनायो ।’ मुगुको सातमोडदेखि गमगढीसम्मको १९ किमि सडक सबैभन्दा बढी हिलाम्मे भएको उनले जानकारी दिइन् । उनका अनुसार जुम्लाको रोकायाबाडा, बइरागिडाडालगायत क्षेत्रमा पनि सडक जोखिमपूर्ण बनेको छ ।


गत साता सडक डिभिजन, उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायको पहलमा सडक खोलिए पनि पुन: वर्षा भएपछि अबरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतलगायत ठाउँबाट आएका यात्रु कालिकोटको नाग्मादेखि हिडेरै गन्तव्यमा जान बाध्य भएका छन् ।


सडक पुन: अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री र खाद्यान्न ढुवानीमा समस्या भएको व्यवसायी ज्ञानप्रसाद भट्टले बताए । ‘दसैं नजिकिए पनि ढुवानी समस्याका कारण उपभोग्य सामग्रीको मौज्दात सकिदै गएको छ,’ उनले भने, ‘जहाजबाट महँगो मूल्य तिरेर सामान ल्याउन सकिदैन, त्यसैले अधिकांश सामग्रीको अभाव सुरु भइसकेको छ ।’ साउन पहिलो सातादेखि सडक अवरुद्ध हुँदा स्थानीय उत्पादनले पनि बजार पाउन सकेको उनी बताउँछन् । सडक नियमित नहुँदा सदरमुकामलगायत व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएको नागरिक समाजका अध्यक्ष रुपबहदुर मल्लले बताए । उनका अनुसार सडक नखुल्दा सदरमुकाम आउजाउ गर्न घण्टौं हिड्नुपर्ने बाध्यता भएको छ । ‘सडक सुचारु नहुँदा स्थानीयको दैनिकी असहज बनेको छ,’ उनले भने, ‘हुनेखाने त जहाजबाटै आउजाउ गर्छन्, विपन्न नागरिकलाई ठूलो समस्या भएको छ ।’


उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले ढुवानी समस्याकै कारण अधिकांश पसल रित्तिन थालेको बताए । ढुवानी समस्याका कारण गमगढी बजारमा चामल, नुन, तेललगायत सामग्रीको अभाव चुलिएको उनको भनाइ छ । नेपालगन्ज र सुर्खेतबाट सामान ल्याएर आएका सवारी साधन बीच बाटोमै अलपत्र परेको उनले जानकारी दिए । सडककै कारण जिल्लाको स्याउ बाहिर पठाउन समस्या भइरहेको किसानको गुनासो छ । ‘गोठभरि स्याउ छ, गाडी चलेका छैनन्,’ ताल्चाका किसान कर्णबहादुर रावलले भने, ‘कसरी स्याउ बाहिर पठाउने ?’ उनले स्याउ बेच्न नपाइ गोठमै कुहिन थालेको गुनासो गरे । सडककै कारण जिल्लाभरिका खाद्य गोदाममा चामल सकिएको खाद्य संस्थानका शाखा प्रमुख रणबहादुर रावलले बताए । उनका अनुसार सुर्खेत र नेपालगन्जबाट चामल बोकेर आएका गाडी बीच बाटोमै अलपत्र परेका छन् । सोरुकोट, पूलु, कालै, रातापानीलगायत खाद्य डिपोमा साउन महिनादेखि चामल ढुवानी हुन नसकेको उनको भनाइ छ । सडकको अवस्था बेहाल भएकै कारण चालु आर्थिक वर्षको चामल ढुवानीमा ढिलाइ भइरहेको उनले जानकारी दिए ।


धरापमा खच्चड व्यवसाय

जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेपछि खच्चड व्यवसाय धरापमा परेको छ । गाउँगाउँसम्म सडक सञ्जाल फैलदै जाँदा खच्चड फुर्सदिला बनेका छन् भने व्यवसायीले घाटामा काम गर्नुपर्ने बाध्यता छ । सडकको पहुँच बढेसँगै रुकुम पश्चिमको आठबीसकोट र आसपासका क्षेत्रका दुई दर्जन बढी खच्चड व्यवसायी पलायन भइसकेका छन् । आठबीसकोट नगरपालिकाका पूर्णबहादुर शाही लामो समयदेखि खच्चड व्यवसायमा संलग्न छन् । उनी वर्षा लाग्नबित्तिकै आठबीसकोट नगरपालिकाको राडीबाट सोही नगरपालिका–६, त्रिवेणीसम्म खच्चड चलाउँछन् । हिउँदमा भने उनलाई खच्चड डोल्पाका विभिन्न गाउँमा लैजानुपर्ने बाध्यता छ । उनीसँगै अन्य व्यवसायीले आफ्ना खच्चड वर्सेनि दुई रुटमा चलाइरहेका छन् । वर्षामा आठबीसकोट आसपासको क्षेत्रमा खच्चड चलाइन्छ भने हिउँदमा सडकको ट्रयाक नखुलेका ठाउँमा ।


स्थानीय नमबहादुर शाहीका ८ खच्चड पनि सिजनल बनेका छन् । वर्षातमा तल्लो रुट र हिउँदमा माथिल्लो रुटमा खच्चड चलाइरहेको उनले जानकारी दिए । लामो समय लगाएर ट्रयाक खोलिएको जाजरकोट–डोल्पा सडक पूर्ण नहुँदा उनीहरूले एक सिजन भए पनि सडकमा खच्चड चलाउन पाएका छन् । सडक पूर्ण भएको खण्डमा खच्चड व्यवसाय माथिल्लो रुटमा मात्रै कायम हुने उनी बताउँछन् । ‘सडक बनेदेखि हामी सिजनल भएका छौं,’ शाहीले भने, ‘वर्षामा सडकमै खच्चडले काम पाउँछन्, हिउँद लागे माथितिर काम पाउन मुस्किल हुन्छ ।’


जाजरकोट–डोल्पा सडकमा पर्ने ठूलीभेरी नदी तथा विभिन्न खोलामा पुल नबनेका कारण वर्षे सिजनमा खच्चडले तल्लो रुटमा काम पाउने पूर्णबहादुरले जनाए ।


जाजरकोट–डोल्पा सडक वर्षामा अपूरो छ नै, हिउँदमा पनि ठूलीभेरीका कारण अधुरो बनेको छ । राडीदेखि त्रिवेणी पुग्न कम्तिमा पनि दुई सडकपुल ठूलीभेरीमा बनाउन आवश्यक छ । तर पुल नबनेका कारण ती दुई ठाउँबाट गाडी वारपार हुँदैनन् । अर्को विकल्प नदेखेकाले खच्चड व्यवसाय छोड्न नसकिएको नमबहादुरले बताए । ‘हामी घाटामै चलेका छौं, आफू र खच्चडको खर्च जोड्दा खास फाइदा देखिन्न,’ उनले भने, ‘पुस्तौंदेखिको पेसा भएकाले पलायन हुन नसकेको मात्रै हो ।’ उनका अनुसार पछिल्लो समय खच्चडको भाडा पनि घटेको छ । राडीबाट त्रिवेणीसम्म एक क्विन्टल बोक्दा दुई हजार रुपैयाँ भाडा लिने गरिएको व्यवसायी बताउँछन् । खच्चडमार्फत सामग्री ढुवानी गर्दा खच्चडको भाडा घटे पनि सामग्रीको मूल्य भने बढी हुन्छ । त्यसैले पनि खच्चडले सजिलै काम पाउने सम्भावना कम रहेको नमबहादुर बताउँछन् । उनका अनुसार यसअघि मुख्य पेसाको रुपमा रहेको खच्चड व्यवसाय अब जवरजस्तीको पेसा बनेको छ ।

प्रकाशित : आश्विन ४, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?