२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बाढीपीडितको माग राहत होइन‚ पक्की तटबन्ध

कमल पन्थी

बर्दिया — बाढीपीडितले सामान्यता माग्ने कुरा के हो ? खाद्यान्न, लत्ताकपडा, निःशुल्क औषधि उपचार र पुनर्बास । बर्दियाका बाढी पीडितले भने कर्णाली, बबई नदीलगायत ठूला खोला नियन्त्रणका लागि पक्की तटबन्धको माग अघि सारेका छन् ।

बाढीपीडितको माग राहत होइन‚ पक्की तटबन्ध

स्थानीयले कर्णाली, बबई, औराहीलगायत साना नदीले बर्सेनि कटान गर्दै आएको तल्लो तटको दायाँबायाँमा पर्ने क्षेत्रमा बलियो पक्की तटबन्धको माग गरेका छन् ।

गुलरिया नगरपालिका—११ ईन्द्रपुरका शौकत अली गद्दीले बर्सेनि आउने बाढीले यस क्षेत्रका सयौं बिघा जमिन डुबानमा पर्ने भएकाले स्थायी पक्की तटबन्ध आवश्यक भएको बताए । तटबन्ध नभएका कारण बर्सेनि बाढीले सयौं मानिस ज्यान जोगाउँदै सडक र सुरक्षित स्थलमा बस्ने गरेका छन्,’ उनले भने, ‘२० वर्षयता यस क्षेत्रमा तीन सयभन्दा बढी बिघा जमिन बबईले बगाइसकेको छ ।’ यस क्षेत्रमा बबई सिंचाइ आयोजनाले तटबन्ध निर्माण गर्ने योजना भए पनि अलपत्र परेको छ ।

बारबर्दिया—८ भगतपुरका चन्द्रबहादुर सुनार साउन २८ गते देखि सरस्वती आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन् । चार दिनअघि पथरैया र औरी खोलामा आएको बाढीले सुनारलगायत ५० घर डुबानमा पर्‍यो । सुनारले ती खोलामा तटबन्ध नहुँदा वर्षायाममा विद्यालयमा शरण लिनुपर्ने बाध्यता भएको गुनासो पोखे । हरेक वर्ष बाढी आउँछ अनि राहत माग्दै हात थाप्नुपर्छ,’ उनले भने, ‘हामीलाई राहत होइन, सरकारले तटबन्ध बनाइदिए हुन्छ ।’

बारबर्दिया नगरपालिका—८ भगतपुरकी मन कुमारी विकले हामीले तटबन्धका लागि स्थानीय जनप्रतिनिधिसँग सम्बन्धित निकायमा पटक–पटक माग गरे पनि कसैले चासो नदिएको गुनासो पोखिन् । खहरे खोला भएकाले भारी वर्षात् हुँदा गाउँबस्ती डुबानमा पर्ने गरेको उनले बताइन् । चार दिनअघिको बाढीले करिब ५ सय घर डुबानमा परेका थिए । वर्षात् रोकिएर जलबहाव कम हुँदै गएपछि विस्थापित स्थानीय पुनः घर फर्किसकेका छन् ।

बबई, भादा र ओराही नदी व्यवस्थापन आयोजनाका इन्जिनियर कपिन्द्रबहादुर रावलले पण्डितपुरदेखि लटकनियासम्म कूल २८ किमि तटबन्ध बनाउने लक्ष्य रहेको बताए । अब करिब ६ किलोमिटर तटबन्ध निर्माण हुन बाँकी छ,’ उनले भने, ‘यस चालु आवमा पर्याप्त बजेट निकासा भए उच्च जोखिम रहेको प्रयागपुर, वालापुरलगायत क्षेत्रमा तटबन्धको निर्माण कार्य सुरु गरिनेछ । निकै जोखिम भएका ठाउँमा निर्माणाधीन तटबन्ध यस चालु आवमा बजेट निकासा भए सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको छ ।

बबई सिंचाइ आयोजनाले बबई, भादा नदीको उत्तरतर्फको तटबन्धको काम गर्दै आएको छ । गत आवमा बजेटको अभावले गुलरिया–११ को ईन्द्रपुरमा तटबन्ध नगर्दा बाढीले सयौं बिघा खेतमा लगाएको धानबाली डुबानमा परेको थियो ।

बाढीले दर्जनौं घर डुबानमा परेको थियो । गुलरिया—नेपालगन्ज सडकखण्डको इन्द्रपुरदेखि लालपुरसम्म डुबानमा परेको थियो । बबई नदीको भादा पुल पनि तटबन्ध नहुँदा जोखिममा परेको छ । बबई सिंचाइ आयोजना प्रमुख सुशील देवकोटाले बजेट अभावमा गत आवमा तटबन्धको काम नभएको बताए ।

प्रकाशित : श्रावण ३१, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?