कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दशगजामा भारतीय अतिक्रमण, जमुनाहमा डुबानको जोखिम

भारतीय सरकारले दशगजा छेउमै त्यो पनि मुख्य नाकानजिकै पानीको प्राकृतिक प्रवाह अवरुद्ध तुल्याउने गरी सडक निर्माण गर्ने क्रमलाई निरन्तरता दिंदै आएको छ ।
जसका कारण बाँकेका धेरै सीमावर्ती क्षेत्रसँगै नेपालगन्ज उपमहानगरपालिको सीमा बस्ती जमुनाहसमेत डुबानमा पर्ने खतरा देखिएको छ ।
जे पाण्डे

नेपालगन्ज — बाँकेको जमुनाह नाकादेखि करिब ५ सय मिटरपूर्वमा ६५१ नम्बरको जंगे पिलर छ । पिलरनजिकै वृक्षारोपणका नाममा भारतद्वारा धमाधम खाडल खनिएका छन् । दसगजाभित्र पर्ने केही खाल्डा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोलीले पूर्न लगाएको छ ।

दशगजामा भारतीय अतिक्रमण, जमुनाहमा डुबानको जोखिम

पिप्रहवासम्मको दसगजा छेउमा लहरै ६ हजार रुख रोप्ने योजनाअनुसार ती खाडल भारतको केन्द्रीय सरकारको निर्देशनअनुरूप खनिएका हुन् ।

भारतीय पक्षद्वारा वृक्षारोपणका नाममा जबरजस्ती खनिएका केही खाडल पुर्न लगाएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । ‘त्यसपछि नयाँ ठाउँमा खाडल खन्ने र वृक्षारोपण गरेको पाइएको छैन,’ उनले भने ।

गृह प्रशासनका अधिकारीले परराष्ट्र मन्त्रालयसँगै आ–आफ्ना विभागलाई पत्राचार गरेर दसगजानजिकै रुख रोप्ने भन्दै भारतीय सीमा सुरक्षा बलले खाल्डो खनेको जानकारी गराइसकेका छन् । भारतीय सीमा सुरक्षा बल निविया पोस्टका अधिकारीले दसगजादेखि १० मिटरको दूरीमा फलफूलका बोट रोप्न केन्द्रको निर्देशनमा खाल्डो खनेको स्वीकारे ।

दसगजामै पक्की सडक

नेपालगन्ज उपमहानरपालिका–१५ जमुनाह नाकाकी मुन्नी खटिक आफ्नै आँखाअगाडि भारत सरकारले दसगजामा समानान्तर पक्की सडक निर्माण गरिरहेको दृश्य टुलुटुलु हेरेर बस्न बाध्य छन् । अहिले भारतको केन्द्रीय सरकारले निर्माण गरेको सडक जमुनाह नाकासम्म विस्तार भइसकेको छ । सीमा सुरक्षा बल (एसएसबी)को प्रत्यक्ष निगरानीमा बाँकेको पूर्वी सीमादेखि पश्चिम जमुनाह नाकासम्म कालोपत्र सडक निर्माण गरेको हो ।

बाँकेको ६५१ नम्बरको जंगे पिलरदेखि पूर्व दसगजानजिकै भारतीय सीमा सुरक्षा बलले रुख रोप्न खाल्डो खन्न थालेपछि उक्त कार्य रोक्न आग्रह गर्न पुगेका नेपालको गृह प्रशासनका अधिकारीहरू ।

मुन्नीमा सीमा बस्ती डुवान समस्याको समाधान होला भन्ने आशा पटक्कै छैन । दसगजासँगै जोडेर उँचो सडक निर्माण गर्दा सीमावारिको बस्ती डुबानको चपेटामा पर्दै आएको छ । ‘अब त यो घरसँगै बस्ती नै डुब्ने भयो । बर्खामा कहाँ जाने ? कसरी जोगाउने ज्यान ? डुबेरै मर्ने भैयो,’ घरअगाडि भारतले निर्माण गरेको अग्लो पक्की सडक देखाउँदै मुन्नीले भनिन्, ‘त्यो बाटो नबन्दा पानी बग्थ्यो । अब पूरै बस्तीतिर पानी फर्किने भयो । कसैले सुन्दैनन्, देख्दैनन् ।’

मुन्नीकै छिमेकी प्रेमा खटिक पनि उत्तिकै त्रसित, चिन्तित र निराश भेटिइन् । बस्ती नजिकैको ६५१ नम्बरको जंगे पिलर नजिकै उभिएकी प्रेमाले कान्तिपुरसँग भनिन्, ‘गाउँमा पानी नै पानी भरिने भयो । पहिले त दक्षिण बग्थ्यो । अब बग्दैन । कति करायौं । विरोध पनि गर्‍यौं । कसैले सुनेनन् ।’

जनस्तरबाट विरोध हुँदा हुँदै पनि भारतीय सरकारले दसगजा छेउमै त्यो पनि मुख्य नाकानजिकै पानीको प्राकृतिक प्रवाह अवरुद्ध तुल्याउने गरी सडक निर्माण गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ । जसका कारण बाँकेका धेरै सीमावर्ती क्षेत्रसँगै नेपालगन्ज उपमहानगरपालिको सीमा बस्ती जमुनाहसमेत डुबानमा पर्ने खतरा देखिएको छ ।

भारतले २०७० चैत ३० गते सर्भे गरेर बाँकेको पूर्वी सीमा सुइया बघौडाको दक्षिणबाट दशगजाको समानान्तर हुने गरी सडक निर्माण थालेको हो । जसका कारण नरैनापुरका सीमा बस्ती धेरैपटक डुवानमा परिसकेका छन् । उक्त सडक निर्माणले पानीको प्राकृतिक प्रवाह रोक्दा राप्तीसोनारीका बस्तीसमेत जलमग्न हुने गरेका छन् ।

पश्चिममा भारतको लक्ष्मणपुर बाँधदेखि नेपालको साइगाउँसम्म २१ किलोमिटर सडक निर्माण गर्दै आएको छ । यसबाट डुडुवा गाउँपालिकासँगै नेपालगन्ज उपमहानगरपालिकाका सीमावर्ती बस्ती डुबानको उच्च जोखिममा छन् । निर्माणाधीन सडक जमिनको सतहबाट २ दशमलव ५ मिटर उचाइमा छ । दसगजाबाट पाँचदेखि १० मिटर दूरीमा बनाइएको सडकको चौडाइ १५ देखि ३० मिटरसम्म छ । सडकले नेपालबाट भारततर्फ बग्ने खोला र नालाको प्राकृतिक बहाव रोक्ने बताइन्छ । तर पनि स्थानीय, प्रदेश र संघीय तीन तहकै सरकार यसबारे बेखबर बन्दा स्थानीयबासी घरबास डुब्ने भयले चिन्तित भएको बताउँछन् ।

‘भारतले सडक बनाउँदा पानीलाई निकास दिएको छैन,’ डुबानको जोखिमा रहेको नेपालगन्ज उपमहानगरपालिका–१५ का जाबिर अलीले भने, ‘नाकादेखि दुई किलोमिटर पूर्व एउटा सानो ह्यूम पाइप राखेको छ । त्यसबाट बर्खाको सबै पानी बग्दैन ।’

भारत सरकारको केन्द्रीय योजना अनुसार दसगजाका पिलरलाई केन्द्रविन्दु मानेर सडक निर्माण कार्यलाई निरन्तरता दिएकाले नेपाली बस्ती डुबानमा पर्ने खतरामा पर्ने क्रम बढेको हो । ‘नेपालगन्जकै सीमावर्ती बस्ती नजिक तीन वर्षदेखि सडक निर्माण गर्न थालेको हो । त्यो सडक बाँधजस्तो छ । जनस्तरबाट विरोध भएकाले हामीले निरीक्षण पनि गर्‍यौं,’ नेपालगन्ज उपमहानरपालिकाका प्रमुख प्रशान्त विष्टले भने, ‘जमुनाह यसै पनि डुवान हुने क्षेत्र हो । भारतीय बाटोले थप विपद् निम्त्याउने खतरा छ ।’

संघीय सरकारले समस्या समाधानको बाटो खोज्नुपर्ने र केन्द्रबाट तुरुन्तै अनुगमन टोली आउनुपर्ने उनले बताए । स्थानीयका अनुसार विभिन्न बहानामा दसगजा क्षेत्र निशानामा पर्नु दुर्भाग्य हो ।

प्रकाशित : असार २, २०८० १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?