सन् २००४ मा आजकै दिन : भारतको प्रधानमन्त्रीमा सिंह 

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

On this day in 2004: Singh as Prime Minister of India

काठमाडौँ — सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सिंहले १९६६ देखि १९६९ सम्म संयुक्त राष्ट्रसंघमा समेत काम गरेका थिए । त्यसलगत्तै उद्योग तथा वाणिज्य मन्त्रालयको सल्लाहकार रहेका सिंहले १९७० र ८० को दशकमा भारत सरकारअन्तर्गतका विभिन्न प्रमुख पदको जिम्मेवारी सम्हालेका थिए ।

 १९९१ मा भारतमा आर्थिक संकट उत्पन्न भएसँगै सिंहलाई प्रधानमन्त्री पीभी नरसिंह रावले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । त्यतिबेला उनको नेतृत्वमा भारतको आर्थिक संकट अन्त्य भएको थियो ।

२००४ मा कंग्रेस नेतृत्वको यूपीए गठबन्धन सत्तामा आएपछि कंग्रेस नेतृ सोनिया गान्धीले सिंहलाई प्रधानमन्त्रीमा अघि सारेकी थिइन् । २००९ को आमनिर्वाचनमा यूपीए गठबन्धन विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully