कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अपराजित लेभरकुजनसामु उत्साही एटलान्टा

युरोपा लिग फुटबलको बुधबार हुने फाइनलको कथा त्यस्तो हुने छैन, एटलान्टा स्वयं पनि क्लब इतिहासमै सबैभन्दा  उत्कृष्ट लयमा छ
एएफपी

डब्लिन — बायर लेभरकुजनका जाभी अलोन्सोले बुधबार हुने युरोपा लिग फुटबलको फाइनलमा आफूलाई नयाँ पुस्ताको उम्दा प्रशिक्षक रहेको फेरि साबित गर्न सक्नेछन् । तर, त्यसका लागि बायरले एटलान्टाको सामना गर्नुपर्नेछ । 

अपराजित लेभरकुजनसामु उत्साही एटलान्टा

सिरी ‘ए’ क्लबका प्रशिक्षक जियान पिएरो गास्पेरिनी आफैं भने निकै अनुभवी छन् । आफ्ना दुई पूर्व क्लब लिभरपुल र बायर्न म्युनिकको प्रस्ताव अस्वीकार गर्दै अलोन्सोले लेभरकुजनमै रहने बताइसकेका छन् ।

त्यसयता लेभरकुजनले क्लब इतिहासमै पहिलो पटक जर्मन बुन्सडेलिगा जितेको छ । अहिलेसम्म पूरा सिजन अपराजित छ । सबैखाले प्रतियोगितामा गरेर लेभरकुजनको अपराजित खेलसंख्या ५१ भइसकेको छ । यसै सातामात्र लेभरकुजन दुई फाइनल खेल्दै छ । युरोपा लिगको बुधबार उपाधि भिडन्तपछि शनिबार जर्मन कपको फाइनलमा दोस्रो डिभिजनको काइजस्लर्टनको सामना गर्नेछ । यसमा उपाधिका लागि लेभरकुजन नै बलियो प्रत्याशी छ ।

तर, युरोपा लिगको फाइनलको कथा त्यस्तो हुने छैन । एटलान्टा स्वयं पनि क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट लयमा छ । त्यसैले सबै उत्साही छन् । बेरगामोको प्रान्तीय क्लबको छविमै मात्र सीमित रहेको एटलान्टाको सबैभन्दा ठूलो परिचयको समस्या भनेको नजिकका इन्टर मिलान र एसी मिलानको छायाँमा हराउनु हो । तर गास्पेरिनी आएपछि एटलान्टाले राम्रो गरिरहेको छ । पछिल्ला ५ वर्षमा चौथोपल्ट युरोपेली च्याम्पियन्स लिग खेल्दै छ ।

जत्तिकै राम्रो खेले पनि एटलान्टाले उपाधि भने जित्न जानेको छैन । पछिल्लो ६ सिजनमा एटलान्टाले तीनपल्ट इटालियन कपको फाइनलमा हार बेहोरेको छ । पछिल्ला ६१ वर्षयता कुनै उपाधि जित्न सकेको छैन । एकै साताअगाडि मात्रै एटलान्टा इटालियन कपको फाइनलमा युभेन्ट्ससँग पराजित थियो । ‘के यो मेरो प्रशिक्षक जीवनको सबैभन्दा उच्च विन्दु हो त ?’ यूईएफएको वेबसाइटसँग कुराकानी गर्दै गास्पेरिनीले भनेका छन्, ‘सायद प्रतिष्ठाको आधारमा हो नै ।’

‘मेरो विचारमा उपाधि जित्नु नै सबथोक हुन्न । यसकै आधारमा मात्रै कोही कसैबारे आफ्नो धारणा बनाउनुपर्छ । सबैको आ–आफ्नो फरक उद्देश्य र लक्ष्य हुन्छ । त्यसलाई प्राप्त गर्न सकिन्छ भने सन्तुष्टि नै मिल्नेछ । यसबीच पनि उपाधि जित्न सकिन्छ भने सन्तुष्टिको मात्रा बेग्लै हुनेछ ।’ आठ वर्षअगाडि एटलान्टाको व्यवस्थापनको जिम्मेवारी सम्हालेका ६१ वर्षीय गास्पेरिनीले त्यसयता विश्व फुटबलमा ठूलै परिवर्तन आएको मान्छन् ।

एटलान्टा स्वयंका लागि उनी आउँदा रेलिगेसनबाट बच्नु नै ठूलो थियो । अहिले युरोपेली फुटबलमा नियमित खेलिरहेको छ । यसपल्ट पनि फाइनल प्रवेशका क्रममा एटलान्टाले दुई अवसरमा उत्कृष्ट प्रदर्शन गरेको छ । लिभरपुल र मार्से जत्तिको टिमलाई बाहिरको ढोकामा पुर्‍याउने क्रममा । गास्पेरिनीले जसरी आक्रामक फुटबल खेलाउँछन् र नयाँ युवा खेलाडी परिवक्प हुन मदत गर्छन्, त्यसको प्रशंसा त अलोन्सो स्वयंले गर्ने गर्छन् ।

‘गास्पेरिनीसँग जहिले पनि स्पष्ट योजना हुने गर्छ । उनले मानसिक तथा शारीरिक दुवै रूपमा बलियो टिम बनाएका छन्,’ अलोन्सोले भनेका छन्, ‘एटलान्टा पक्कै पनि निकै बलियो टिम हो । उसलाई हराउनु छ भने हामीले आफूले सक्दो उत्कृष्ट फुटबल खेल्नुपर्नेछ ।’

खेलाडीका रूपमा गास्पेरिनी औसतभन्दा तल्लो स्तरका रहे । तर, अलोन्सोले खेलाडीको रूपमा सबथोक जिते, विश्वकपदेखि एकभन्दा बढी अवसरमा युरोपेली च्याम्पियन्स लिग ।

उत्कृष्ट मिडफिल्डरका रूपमा उनले धेरै उपाधि चुमेका छन् । ठुल्ठूला फाइनल खेलेका छन् । लिभरपुल, रियल म्याड्रिड र बायर्न म्युनिकका लागि अब्बल दर्जाको फुटबल खेलेका अलोन्सोले अहिले जस्तो उत्तिकै अविश्वसनीय सिजन भने बिताएका छैनन् । ‘यो त साँच्चै ऐतिहासिक नै हुनेछ,’ टिम पूरा सिजन अपराजित रहने सम्भावनाबारे बोल्दै उनी भन्छन्, ‘यस्तै भयो भने यसलाई स्वर्णाक्षरले लेख्नुपर्नेछ । यो इतिहास क्लबको मात्र हुने छैन, पूरा युरोपेली क्लब फुटबलकै हुनेछ । विश्वास गरौं, यस्तै हुनेछ ।’

प्रकाशित : जेष्ठ ९, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×