![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सुर्खेत — डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिका—६ का ५६ वर्षीय ग्याल्छेन गुरुङको गाडी चढेर चीनको तिब्बत जाने सपना अधुरै छ । सडक सुविधा नहुँदा उनले सात वर्षको उमेरदेखि तिब्बतबाटै पिठ्युँमा बोकेर सामान ओसारिरहेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![भेरी करिडोरको काम सुस्त](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/dolpa-sadak-sasti-0800422-rkm-west-4-1-2252024033739-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
तर कोरोनाका कारण चिनियाँ नाका बन्द भएपछि उनलाई खाद्यान्न र दैनिक उपभोग्य सामानको जोहो गर्न सास्ती छ । ‘चीन सीमामा त हिँडेरै पनि एकै दिनमा पुगिन्थ्यो नि,’ उनले भने, ‘सदरमुकाम दुनै जान ५ दिनसम्म हिँड्नुपर्छ, चीनमा खाद्यान्न र अरू सामान सस्तो पनि पाइन्थ्यो, अहिले दुनैमा महँगोमा सामान किनेर घोडा, खच्चडमा ओसार्नुपर्ने बाध्यता छ, त्यो पनि सामानभन्दा ढुवानी भाडा दोब्बर तिरेर ।’ चीनसम्म सडक खुले आफ्ना छोरानातिले सुख पाउने उनले बताए । छार्काताङसोङ–१ का ४० वर्षीय फोन्जुक लामा गुरुङले पनि सडक नहुँदा वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
भारत, नेपाल र चीनलाई सडक सञ्जालमा जोड्न सुरु गरिएको भेरी करिडोरको काम सुस्त बनेको छ । ठेकेदारको लापरबाहीले डोल्पा सदरमुकाम दुनैभन्दा माथिको सडक निर्माणले गति लिन नसकेको हो, जसका कारण तीन देशबीच व्यापारिक सम्बन्ध स्थापित हुन सकेको छैन भने स्थानीय झन्डै पाँच दिनको पैदल यात्रा गरी सदरमुकाम दुनै आउन बाध्य छन् । सडक सञ्जाल नहुँदा उपल्लो डोल्पाको छार्काताङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा घोडा, खच्चडकै भर पर्नुपरेको हो । उत्तरी नाका खुलेपछि कर्णाली मात्र होइन, सिंगो मुलुकले लाभ लिन सक्ने शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावासुन्डुक गुरुङको भनाइ छ । ‘सडक खुलेपछि उत्तरसँगको व्यापारमा वृद्धि हुन्छ,’ उनले भने, ‘स्थानीयले रोजगारीसमेत पाउने भएकाले गरिबी घटाउन मद्दत पुग्छ ।’
अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा माथिल्लो डोल्पाका तीन वटै पालिकामा वर्षमा एक बाली उवा मात्र फल्ने गरेको छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ बताउँछन्, जसका कारण स्थानीय बाहिरकै खाद्यान्नमा निर्भर छन् । स्थानीयको मुख्य पेसा जडीबुटी संकलन र पशुपालन हो । तर चीनसम्म सडक नजोडिँदा स्थानीय संकलन गरेको यार्चागुम्बु, गुच्चीच्याउ, कटुकीलगायत जडीबुटी र स्थानीय उत्पादनको कारोबार सोझै चिनियाँ बजारसँग जोडिन सकेको छैन ।
भेरी करिडोरअन्तर्गत जाजरकोट—डोल्पा सडकमा डोल्पा सदरमुकाम दुनैसम्मको २ सय १७ किमि सडक झन्डै साढे ५ वर्षअघि जोडिएको थियो । तर त्यसभन्दा माथि चीन सीमाको धो र मरिमसम्म झन्डै एक सय किलोमिटर दूरी छ, जसमध्ये तीन खण्डमा विभाजन गरी काम गर्न खोजिए पनि दुई खण्डको काम अधुरै रहेको भेरी करिडोर योजना कार्यालयका डिभिजनल इन्जिनियर सुनील रञ्जितकारले जनाए ।
डोल्पा सदरमुकाम दुनैदेखि लसीक्यापसम्मको दूरी २५ किमि छ, जसको ट्र्याक खोल्न ०७८ चैतमा सूर्या–श्रेया–शान्तिदेवी जेभी निर्माण कम्पनीलाई १३ करोड ४१ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा दिए पनि लामो समय ठेकेदारले कामै गरेनन् । सडकको ट्र्याक खोल्ने म्याद चार वर्षको छ । तर, अहिलेसम्म व्यासगाडसम्म ६ किमि मात्र सडक खनिएको छ । ‘ठेकेदारले झन्डै साढे दुई वर्ष त कामै गरेनन्, आयोजना कार्यालय खुलेपछि बल्ल ठेकेदारले काम थालेका छन्,’ उनले भने, ‘कडा चट्टानी भीर भएकाले अबको साढे १ वर्षभित्र ट्र्याक खोल्न मुस्किल छ ।’
यस सडक खण्डमा एक सय मिटरदेखि एक किलोमिटरसम्मका कम्तीमा १५ वटा कडा चट्टानी भीर छन् । ‘ती भीर फोड्न विस्फोटक पदार्थ प्रयोगको विकल्पै छैन,’ रञ्जितकारले भने, ‘तर विस्फोटक पदार्थ पाउनै मुस्किल छ, जसले सडक निर्माणको काम धकेलिने देखियो ।’ अहिले यो खण्डमा तीन वटा मेसिन (एक्स्काभेटर) ले काम गरिरहेका छन् । लसिक्यापदेखि मरिम धो खण्डको ४० किमिमा भने सडक निर्माणको काम सकिएको छ । स्थानीय तहहरूले सडक निर्माणको काम सकेपछि अहिले डोल्पाको छार्काताङसोङ गाउँपालिका मुस्ताङसँग सडक सञ्जालमा जोडिएको छ । तर सडकको स्तरोन्नति नहुँदा बर्खा र हिमपातको बेला झन्डै ६ महिना गाडी चल्न मुस्किल छ ।
तेस्रो खण्डअन्तर्गत मरिमदेखि चीन सीमासम्मको ३५ किमिमा पनि ट्र्याक खोल्न बाँकी रहेको योजना कार्यालयका इन्जिनियर महेन्द्र माझीले बताए । ‘सदरमुकाम दुनैसम्म सडक पुगेपछि त्यसमाथि फेरि सेनालाई जिम्मा दिने कि सडक विभागले निर्माण गर्ने भन्ने अन्योल झन्डै एक वर्ष भयो, पछि चौरजहारी सडक डिभिजनमार्फत ठेक्का खोलियो,’ उनले भने, ‘तर सडक डिभिजनले नियमित अनुगमन र नियमन नगर्दा सडक निर्माणको काम लामो समय रोकियो, आयोजना कार्यालय खुलेपछि भने कामले तीव्रता पाइरहेको छ ।’ योजना कार्यालयले चीन सीमासम्मको खण्डमा टेन्डर आह्वानको तयारी गरेको छ ।
सडक निर्माणको काममा ढिलाइ हुँदा शे–फोक्सुन्डो ताल हेर्न जाने पर्यटकसमेत सास्ती भोग्न बाध्य छन् । कर्णाली प्रदेश हुँदै लुम्बिनी प्रदेशको जमुनाह (नेपालगन्ज) नाका जोड्न सडक निर्माणको काम थालिएको हो । यो करिडोर निर्माण भएमा भारतको रुपैडियाबाट चीनको तिब्बतसँग सडक सञ्जाल विस्तार हुनेछ । उपल्लो डोल्पामा सडक नहुँदा छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा अझै घोडा, खच्चडकै भरमा दैनिकी गुजार्न बाध्य छन् । सदरमुकाम दुनैबाट घोडा, खच्चडमा दैनिक उपभोग्य सामान, खाद्यान्न र निर्माण सामग्री प्रतिकिलो १ सय रुपैयाँसम्म ढुवानी भाडा तिरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।
०७५ मंसिर ४ मा नेपाली सेनाले सडकको ट्र्याक खोलेको भेरी करिडोरअन्तर्गतको जाजरकोट–दुनै सडकमा पनि यात्रा सास्तीपूर्ण छ । नेपालगन्जबाट दुनैसम्मको दूरी २ सय ७२ किलोमिटर भए पनि यो बाटो पार गर्न कम्तीमा ६ वटा गाडी बदल्नुपर्छ भने करिब ५ हजार रुपैयाँ भाडा खर्च हुन्छ । नेपालगन्जबाट दुनै पुग्दा कम्तीमा २४ घण्टाको सास्तीपूर्ण यात्रा गर्नुपर्ने दुनैका विष्णु बुढाले बताए । ‘कति बेला दुर्घटना हुने हो भन्ने डरैडरमा दुनै पुग्नुपर्छ, बीचबीचमा पुल नहुँदा बाटोमा ६ वटासम्म गाडी बदल्नुपर्छ,’ उनले भने, ‘पक्की पुल नभएका ठाउँमा आफूसँग ल्याएका सामान झोलुंगे पुलबाट पल्टी गर्नुपर्ने बाध्यता छ ।’
वर्षायाममा जाजरकोट खलंगादेखि छलगाडसम्म पहिलो गाडी, त्यहाँबाट ५ सय मिटर जति हिँडेर चुगाड खोला तरेपछि दामाचौरसम्म दोस्रो गाडी, दामाचौरबाट रुकुम पश्चिमको मुलतरासम्म तेस्रो गाडी र मुलतराबाट रुकुम–जाजरकोट सिमानामा पर्ने भेरी नदीको झोलुंगे पुल गरेर तल्लुमा चौथो गाडी चढ्नुपर्ने बाध्यता भएको त्रिपुरासुन्दरी–४ का प्रेमबहादुर बुढाले जनाए । फेरि चौखाबाट पाँचौं गाडीमा तातरगाड र छैटौं गाडी चढेपछि बल्ल दुनै पुगिन्छ ।
जाजरकोट र रुकुम जोड्न तल्लु बगरमा निर्माण भइरहेको पुल नबन्दा यात्रुहरूले सास्ती भोग्दै आएका छन् । निर्माणको अन्तिम चरणमा रहेको तल्लुको बेलिब्रिज गत वैशाख ७ मा भाँचिएको थियो भने दुई मजदुरले ज्यान गुमाएका थिए । फेरि पुल निर्माण गर्दा सुरुमा क्षतिपूर्तिको विषयमा विवाद हुँदा पुल निर्माणको काममा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘क्षतिपूर्तिको विवाद मिलेपछि फेरि निर्माण सामग्रीको अभाव भयो,’ उनले भने, ‘पछिल्लो समय पुलको नटबोल्ड नपाइएपछि झन्डै २ महिना पुल निर्माण रोकियो, त्यो समस्या हल भएपछि अब भने एक सातामै पुल निर्माणको काम सक्ने गरी काम भइरहेको छ ।’
अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नति (कालोपत्र) का लागि ठेक्का भई यति बिल्डर्सले काम गरिरहेको छ । तर काममा ढिलाइ हुँदा जोखिमै जोखिममा यात्रा गर्नु परिरहेको स्थानीय अगुवा महेन्द्र मल्लले जनाए । सडक खण्डअन्तर्गत विभिन्न खोलामा अझै १५ वटा पुल निर्माणको काम गर्न बाँकी छ । सडकको स्तरोन्नति नहुँदा कष्टकर यात्रा गर्न बाध्य भएको दुनैका व्यवसायी कर्णबहादुर हमालले बताए । ‘हाम्रा लागि त गाडी आयो भन्नु मात्र हो,’ उनले भने, ‘सधैं भगवान् भरोसामा यात्रा गर्नुपर्छ ।’
नेपालगन्जबाट ४० रुपैयाँसम्म प्रतिकिलो ढुवानी भाडा तिरेर सामान ढुवानी गर्नुपर्ने बाध्यता छ, जसका कारण खाद्यान्न र दैनिक उपभोग्य सामानको मूल्य अझै घट्न नसकेको उनको भनाइ छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)