कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मौसमी खेतीले हराभरा नारायणी बगर

उजाड बगरमा करोडौं रुपैयाँको तरबुजा र खरबुजा उत्पादन 
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं बिघा खेतीयोग्य जमिन नारायणी नदीको बाढीले कटान गर्‍यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारायणी बगर हरियाली बनेको छ । हिउँदमा उजाड बनेको बगरमा अहिले करोडौं रुपैयाँको तरबुजा र खरबुजा उत्पादन भइरहेको छ । 

मौसमी खेतीले हराभरा नारायणी बगर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीको बगर मौसमी खेती (बगर खेती) ले यो सिजनमा हरियाली बन्ने गरेको हो । गएको सोमबार अपराह्न सुस्ता–५ नारायणी बगरमा भारत उत्तर प्रदेश सामलीका २८ वर्षीय सत्तार मियाँ खरबुजा टिपेर काठमाडौं पठाउने तरखरमा थिए । उनले यहाँ करिब तीन बिघा क्षेत्रफलमा यो खेती गरेका छन् ।

दुई वर्षदेखि यहाँ खेती गर्दै आएका मियाँको परिवार पुस–माघमा नेपाल आउने र जेठसम्म यही बगरमा बसेर खेती गर्ने गर्छन् । ‘नारायणी नदी किनारमा प्रशस्त जग्गा भएको थाहा पाएपछि दुई वर्षदेखि यो खेती गर्दै आएका छौं,’ उनले भने, ‘एक सिजनमा करिब १०/१५ लाखको खरबुजा बिक्री गर्छौं ।’

उनीजस्तै नारायणी बगरमा छाप्रो हालेर अहिले करिब ६० परिवार भारतीयले बगर हरियाली पारेका छन् भने लाखौं रुपैयाँ कमाइ गरिरहेका छन् । यहाँ उत्तर प्रदेश, बिहार र राजस्थानसम्मका भारतीय आएर बगर खेती गरिरहेका छन् । उत्तर प्रदेश सामलीकै सनवर तसबर पनि परिवारसहित आएर यहाँ खेती गरिरहेका छन् । असोज–कात्तिकमा यहाँ आउने उनीहरू उत्पादन बेचिसकेर असारमा भारत फर्किने गर्छन् ।

नारायणी नदीमा पानीको सतह घटेपछि फेरि फर्किने गरेको तसबरले बताए । नदी उकासको जग्गाको लालपुर्जा छैन । बगर नजिकैको लालपुर्जा जग्गा भएका नेपालीले बगर भाडामा लगाएर भारतीयलाई खेती गर्न दिँदै आएका छन् ।

नारायणी नदीको त्रिवेणी ब्यारेजदेखि पश्चिमतर्फ सुस्ता २, ३, ४ र ५ नम्बर वडाको बगरभरि खेती लगाइएको छ । भारतीय नागरिकले यो क्षेत्रमा मात्र करिब ८ सय बिघामा खेती गरिरहेका छन् । दुई–चार जना नेपालीले केही क्षेत्रफलमा यो खेती गरे पनि ९५ प्रतिशत भने भारतीय नै रहेको स्थानीय बताउँछन् ।

बगर खेतीमा लाखौंको कारोबार भइरहे पनि व्यवसाय दर्ता भने छैन । बगर आसपासमा जग्गा भएका नेपालीले प्रतिबिघा २५ हजार भारतीय रुपैयाँमा वार्षिक भाडामा लगाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?