कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमामा मंसिर ७ देखि विद्यालय खुल्ने

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर ७ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत चैतदेखि विद्यालय बन्द रहेकामा अब विद्यार्थीलाई कक्षाकोठामै उपस्थित गराएर कक्षा सञ्चालन गर्न लागिएको हो ।

तिलोत्तमामा मंसिर ७ देखि विद्यालय खुल्ने

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी कक्षा चलाउने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एन–प्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ । मापदण्डअनुसार विद्यालयले कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्न एक बेन्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धतासमेतका आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट पढाइ सञ्चालन गर्ने मापदण्ड तय गरिएको आचार्यले जनाए । ‘विद्यालयले कक्षा एकभन्दा तल प्लेग्रुप, नर्सरी, एलकेजी र यूकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन्,’ उनले भने, ‘बालबालिकालाई घरमै शिक्षा लिने प्रबन्ध मिलाउनुपर्छ ।’

मापदण्डमा ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भए ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन नपाइने, विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रूपमा साबुन पानीले हात धुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने जनाइएको छ । त्यस्तै चार सयभन्दा बढी विद्यार्थी–संख्या भएका विद्यालयले अनिवार्य रूपमा कम्तीमा एक नर्सको व्यवस्था गर्ने तथा त्यसभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्यसंस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्यसेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

विद्यालयमा विद्यार्थीहरूको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तर रूपमा कक्षा सञ्चालन गर्नुपर्ने, बससेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनका आधारमा मात्र विद्यार्थीबाट बसभाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ । यसका लागि विद्यालयले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मंसिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रूपमा पेस गर्न नगरपालिकाले परिपत्र गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?