कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै आफ्न्तले शव बुझेका छैनन्
अमृता अनमोल

बुटवल — सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–३ भुजुङेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पतालको लापर्बाही र उपचार प्रक्रिया गलत भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।

मृतकका आफन्त कमलराज गिरीले कात्तिक ८ गते सुत्केरी हुने मिति तोके पनि मिति सार्दै १३ गते बोलाइएको र उपचारमा पनि लापर्बाही भएको दाबी गरे । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा गर्दा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं । हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’

अस्पतालका अनुसार ती महिला बिहीबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । उनलाई डा. अनुपा थापाले परीक्षण गरेकी थिइन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले यही कारणले मृत्यु भयो भनेर किटान गर्न नसकिएको बताए ।

प्रवक्ता गौतमका अनुसार महिलालाई बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिइएको थियो । साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेकाले नर्मल डेलिभरी हुने ठानेर केहीबर छोडिएकोमा महिलालाई एक्कासि श्वास प्रश्वासमा समस्या देखिएको अस्पतालको भनाइ छ ।

समस्या बढेपछि तत्काल शल्यक्रिया गर्न शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए । ‘बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिक रुपमा आमाको मृत्यु हुन्छ । चिकित्सकको निगरानीमै रहेका बेला मृत्यु भएकाले यसबारे अध्ययन गर्दैछौं,’ उनले भने ।

प्रकाशित : कार्तिक १४, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?