कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोकमा छैनन् दुर्गा मन्दिर

टोलटोलमा मूर्ति स्थापना गर्दा पूजाआजा गर्नेको भीडभाड हुने भन्दै प्रशासनले रोक लगाएपछि चोक सुनसान छन्
कान्तिपुर संवाददाता

बुटवल/अर्घाखाँची — विगतका वर्षमा घटस्थापनासँगै बुटवलका चोकहरूमा दुर्गाका मूर्ति स्थापना गरिन्थ्यो । यहाँका राजमार्ग चौराह, मिलन चोक, तीनकुने, ट्राफिक चोक, बीपी चोक र अमरपथलगायत चोकमा बिहान र साँझ दुर्गा पूजा तथा भजनकीर्तन गरिन्थ्यो ।

यसपालि दसैं सुरु भए पनि कुनै चोकमा दुर्गा मूर्ति स्थापना भएनन् । शंख, घण्ट, मजुरा र मादलका धुन पनि सुनिएको छैन । चोकहरू सुनसान छन् ।

कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासनले दुर्गाको मूर्ति स्थापनामा रोक लगाएको छ । टोलटोलमा मूर्ति स्थापना गर्दा पूजाआजा गर्नेको भीडभाड हुने भन्दै प्रशासनले रोक लगाएको हो । प्रदेश सरकारले घटस्थापनाको एक साताअघि नै प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई मूर्ति आयात र स्थापनामा रोक लगाउन आग्रह गरेको थियो । त्यसका आधारमा प्रशासनले सूचना जारी गरेपछि दुर्गा मूर्ति स्थापना नगरेको बुटवल तीनकुनेका श्यामशंकर श्रेष्ठले बताए । ‘वर्षौंदेखि चोकमा दुर्गा मूर्ति स्थापना गरिन्थ्यो । धुमधामसहित पूजाआजा र भजन कीर्तन गरिन्थ्यो,’ उनले भने, ‘कोरोनाले यस वर्ष सबै छेकिदियो ।’

यहाँका धेरैजसो दुर्गा मन्दिर एवं शक्तिपीठ अहिले बन्द छन् । ‘जो जहाँ छौं, त्यहीँ छौं । घरमै पूजा गरेका छौं,’ बुटवल मिलन चोककी विमला भट्टराईले भनिन्, ‘दसै खल्लो भएको छ ।’ यसअघिका दसैंमा चोकचोकमा दुर्गा मन्दिर स्थापनाका लागि अधिकांश मूर्ति भारतबाट आयात गरिन्थ्यो । एउटा मूर्तिलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म तिर्नुपर्थ्यो । त्यसको भन्सार शुल्क लाग्दैनथ्यो । भैरहवादेखि लुम्बिनी सडक छेउमा केही भारतीय कालीगढ आएर पनि मूर्ति बनाउँथे । तर माटोबाहेकका सबै सामग्री भारतीय नै प्रयोग हुन्थे । घटस्थापनाबाट नवरात्रसम्म पूजा गरेर तिनको विसर्जन गरिन्थ्यो । यसपालि भारतबाट मूर्ति आयातमा रोक लगाएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । ‘एकातिर चोकमा मूर्ति स्थापना गरेर पूजा गर्दा भिडभाड हुने भयो । अर्कोतिर मूर्तिका नाममा धेरै रकम पनि बाहिरियो,’ उनले भने, ‘यसपालि दुवै अवस्था हेरेर दुर्गा मूर्ति स्थापना रोकेका हौं ।’ चोकचोकमा दुर्गा मूर्ति स्थापना गर्न पाउनुपर्ने मागसहित कपिलवस्तुमा विरोध प्रदर्शन नै भएको थियो । रूपन्देही र नवलपरासीका केही व्यवसायीले ठूलो रकम गुम्ने भन्दै मूर्ति स्थापना गर्न दिन माग गरेका थिए । कोरोना संक्रमण भयावह बन्ने भएकाले उनीहरूको माग सम्बोधन नगरिएको मन्त्री चौधरीले बताए ।

मन्दिर सुनसान, स्थानीय निराश

अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा तीर्थालु खचाखच भरिन्थे । भक्तजनले चढाएको भेटी दैनिक ५० हजारभन्दा माथि हुन्थ्यो । त्यही भेटीबाट दुई माध्यमिक विद्यालय सञ्चालनमा छन् । गत चैतदेखि मन्दिर बन्द छ । आम्दानी छैन । ‘कोभिड–१९ का कारण सुपादेउराली दर्शनका लागि आउने भक्तजनको संख्या न्यून छ, मन्दिर सुनसान छ,’ मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले भने ।

यहाँ भारत र स्वदेशका विभिन्न ठाउँबाट भक्तजन आउँथे । पछिल्लो समय परिवारसहित शक्तिपीठका मन्दिरमा जानेको संख्या बढ्दो थियो । मन्दिर दर्शनपछि नरपानी क्षेत्रका डाँडाकाँडामा घुम्ने, रमाउने र बस्ने गर्थे । उनीहरूले गाउँमा उत्पादन भएको ताजा तरकारी, तरुल, सख्खर, कागती, अमिलो, आलु, पिँडालु, करेला, गुन्द्रुक, मकै, भटमासलगायत खानेकुरा किनेर लान्थे । मन्दिरमा बोका चढाएर नरपानी पिकनिक स्पोर्ट्समा प्रसाद ग्रहण हुन्छ । किसानहरूले आफ्ना उत्पादन त्यहाँ बेच्ने गरेका थिए ।

‘उत्पादन गरेको करेला अहिले बिक्री भएन,’ नरपानीकी प्रतिमा केसीले भनिन् । विगतका वर्षमा घरबाट पिकनिक स्थल नजिकै ल्याएर बेचेको तरकारी र तरुलको आम्दानी ३ लाख रुपैयाँजति हुने गरेको उनले बताइन् । त्यही पैसाले घर खर्च चलाउने गरेकी उनी अहिले चिन्तित छिन् । ‘लकडाउन हटेर गाडी सुचारु भए पनि कोरोनाको डरले बाटोमा बेच्न राखेको तरकारी धेरैले किन्दैनन्,’ उनले भनिन् ।

धार्मिक पर्यटक आवागमन ठप्प भएपछि मन्दिर आसपास खोलिएका १२ भन्दा बढी होटल तथा रिसोर्ट अहिले बन्द छन् । मन्दिरमा आएका तीर्थालुको तस्बिर खिच्ने ३५ जना युवा व्यवसायी बेरोजगार भएका छन् । मन्दिरमा दुनाटपरी, फूलपाती बेचेर जीविकोपार्जन गर्ने गरेका ५० जना महिला घरमा बस्न बाध्य छन् । पूजा सामग्री बेच्ने डेढ सय खुद्रा पसल पनि अहिले बन्द छन् । मन्दिरले इलमी बनाएकाहरू खर्च जुट्न बन्द भएपछि के गर्ने भन्ने अन्योलमा छन् ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?