कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिपलडाँडामा खसेको पहिरोले सिद्धार्थ राजमार्ग २४ घण्टादेखि अवरुद्ध 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–राम्दी सडकखण्ड शुक्रबार बिहानसम्म खुलेको छैन । २४ घण्टादेखि अवरुद्ध सडक नखुल्दा सयौं सवारी साधन सडकमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बिहीबार बेलुकी १२ बजेसम्म काम गरे पनि पहिरो पन्छाउन नसकेकाले शुक्रबार बिहानैदेखि पुन: काम भइरहेको बताए । उनका अनुसार पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने छ ।

काम गर्दागर्दै माथिबाट ठूला ढुंगा खस्न लागेपछि काम गर्न सकिएको छैन । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाभित्रका डोजर अन्य सडक खुलाउन व्यस्त भएपछि स्याङ्जाबाट एक्स्काभेटर मगाएर काम गरेको बताए । उनले राजमार्गका धेरै स्थानमा पहिरो खस्दा पहिरो पन्छाउन समस्या भएको बताए । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका साथै लामो तथा छोटो दूरीका दुई दर्जन बढी सडक अवरुद्ध भएको छ । उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्गको दर्जन बढी स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

राजमार्गको तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, चौबीसमाइल, कालीमाटीका साथै बगनासकाली गाउँपालिकाको ठाँटी, रम्भाको जामुनेमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । तानसेनदेखि आर्यभन्ज्याङ्–रामपुर सडकको चिदीपानी, हुमीन, ताँहु, बीरकोट, सिलुवा लगायतमा स्थानमा पहिरो खसेको र पहिरो पन्छाउन सडक डिभिजनलाई समन्वय गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । तानसेनदेखि छहरा जाने सडकका साथै बाँसटारीदेखि झडेवा जाने सडक पनि अविरल वर्षाले पहिरो खसेको छ ।

प्रहरीका अनुसार ग्रामीण भेगका अधिकांश कच्ची सडक अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको छ । पाल्पाको रम्भा, पूर्वखोला, निस्दी, माथागढी गाउँपालिका केन्द्र पुग्ने सडक समेत पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडादेखि रामपुर हुँदै बाँकामलाङ जोड्ने सडकका समेत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?