कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वटा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापना

घनश्याम गौतम

रूपन्देही — पहाडी जिल्ला गुल्मीमा कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालाको बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन् ।

१२ वटा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापना

जिल्लाका १२ वटै स्थानीय तह लगानी, रेसुंगा नगरपालिको समन्वय र मन्त्री ज्ञवालीको सहयोगमा जिल्लामै पीसीआर प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशाला उद्घाटन गर्दै मन्त्री ज्ञवालीले जिल्लाका नागरिकका लागि महत्वपूर्ण कामको सुरुवात भएको बताए । ‘लामो समयको लकडाउन खुला गरिएसँगै परीक्षणको महत्व थप बढेको छ,’ उनले भने, ‘अब हप्तौं रिर्पोट कुर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ उनले अबको अवस्थामा हरेक व्यक्ति आफैं सचेत भएर स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु पर्ने र हरेक नागरिक स्वास्थ्य सिपाही बनेर सहजीकरण गर्नु जरुरी रहेको बताए ।

स्थानीय तहको प्रयासलाई जिल्ला संकट व्यवस्थापन समितिले अनुमोदन गर्दै ल्याब राख्न भवन उपलब्ध गराएको थियो । त्यसमा मन्त्री ज्ञवालीले प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री हिमालयन एयरलाइन्स मार्फत जिल्लामा पुर्‍याएका हुन् ।

प्रयोगशालामा आवश्यक थप सामग्री रेसुंगा नगरपालिकाले उपलब्ध गराएको छ । साउनमै प्रयोगशला सञ्चालनको प्रयास गरेपनि पीसीआर मेसिनको सफ्टवयरमा देखिएको समस्याका कारण केही ढिलाइ भएको रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए । प्रयोगशाला रेसुंगा नगरपालिका–९ उपल्लो तम्घासमा रहेको महिला तथा बालबालिका कार्यालयमा स्थापना गरिएको छ ।

प्रयोगशालालाई नगरपालिकाले जिल्ला अस्पताललाई हस्तान्तरण गर्नेछ । शुक्रबार जिल्ला संकट व्यवस्थापन समितिले प्रयोगशाला सञ्चालन कार्यविधि र ११ सदस्यीय समितिको अनुमोदन गरेपछि जिल्ला अस्पतालले परीक्षणका लागि प्रकृया अघि बढाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले बताए ।

प्रयोगशाला सञ्चालन गर्न तत्कालका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले ल्याब टेक्निसियनसहित दुई प्राविधिक उपलब्ध गराएको छ । थप १५ जना आवश्यक प्राविधिक र कर्मचारी अस्पतालले माग गरेको छ । ‘असोज ७ गतेदेखि जिल्लामै स्वाब संकलन र नियमित परीक्षण सुरु गछौं,’ उनले भने, ‘त्यस अघि आवश्यक परीक्षणका काम हुनेछन् ।’ प्रयोगशालामा जडान भएका मेसिन ७२ घण्टासम्म नियमित परीक्षणमा राख्नु पर्ने भएकाले अहिले स्वाब संकलन नगरिएको उनले बताए ।

प्रयोगशाला अभावमा अहिले जिल्लाका स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरिएको छ । प्रयोगशालामा स्वाबको चाप बढी हुँदा कन्ट्रयाक्ट ट्रेसिङका स्वाबको परीक्षण रिर्पोट आउन १५ दिन लाग्ने गरेको छ ।

प्रकाशित : आश्विन १, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?